शुक्रबार, ०४ जेठ २०८१

म त यहाँ म जस्ता सायौं दिदी बहिनीहरूसंग छु

१७ मंसिर २०७५, सोमबार २१:११ मा प्रकाशित

“निर्मला पन्त”

बा!
ए बा
उठ न बा।
होसमा आउ अब त
छि: अत्ती भयो के
देख्नेले कुरी कुरी भन्ने बेला भैसक्यो
भएको खासै केही होईन बा
म त यहाँ म जस्ता सायौं दिदी बहिनीहरूसंग छु
जो म जस्तै बलात्कृत भएका रहेछन
जो म जस्तै मारीएका रहेछन
जो म जस्तै विभिन्न झाडि र नालीमा फालिएका रहेछन
जे भयो भयो बा
म यहाँ एक्लो छैन
सायौं दिदी बहिनीहरू छन
अलिकती नियास्रो लागेको मात्र हो
अनि तिमी?
कैयौं मान्छेको भीडमा तिमी चैं किन एक्लो?

यी सब दिदी बहिनीका बा आमा तेतै छन
मन दरो गर बा
हेर त, आमा त बहुलाएकी छैनन
त्यो पापीले ममाथी आफ्नो पुरुषत्व देखायो
राक्षशी पाराले
तिमी पनि आफ्नो क्षमता देखाउ बा
कसैले न्याय दिएनछन
अब आफुले आफैलाई न्याय दिलाउन पर्छ।
कमसेकम त्यो होस गुमाउन हुन्नथ्यो
तिमीलाई अब जसले जे भन्दा पनि हुन्छ
तिमी खासै बुझ्दैनौ रे हो?
अनि त्यो खुट्टालाई किन महा अन्याय गरेका?

मैंले मेरो शरीर त त्यहिं छोडें
म आत्मा बोलीरहेछु बा
ए बा!
बा! सुन्दै छौ होईन?
शरीर संग छुट्ने बेला अली पिडा भएको हो
पछि त ठिकै हुँदोरैछ बा।

अँ साँची!
सरकार रैछ नि हैन बा हाम्रो देशमा
तिमीले ऐलेसम्म देखेका थिएनौ है!
प्रचार प्रसार त यहाँसम्म आएको थियो बा
मैंले त देखें।
त्यहिं नदेख्नेलाई देखाउन
श्वर्ण अक्षरमा नयाँ युग लेखाउन
ताम झम संग आएको रे नि बा।

मलाई यहिं त दुःख लाग्छ नि बा
तिमी निरिह छौ क्या
बच्चा जस्तो मन
कस्तो कच्चा मुट्टू
यहाँ देशले कोल्टो फेर्ने भैसक्यो
बल गर बा
तिमी पनि हास्पिटलको बेडमा कोल्टो फेर

आँखा खोल बा
अनुहार पनि हेर्दा हेर्दै अर्को भैसक्यो
म मेरा बालाई राम्ररी चिन्छु
अरु कसैले चिन्दैन
मेरा बा बहादुर छन
केही दिन विश्राम मात्र लिएका हुन
उठ बा!
अब त उठ
त्यो छाती र पाखुरामा खोपिएका
सलायन पानीका सुई निकालेर फालिदेउ बा
कुनै सिनेमाको हीरो भन्दा कम छैनौ तिमी
एक पटक बाहिर त निस्क
यहाँ टोल टोलमा बलात्कार छ
अनि पोल पोलमा सरकार छ
आहा! क्या चमत्कार भा’छ
तिम्रो होस गुमेपछि।

बा,
आहा क्या बात!
नयाँ युगको सुरुवात
पुरा गर्दै छरे सरकार आफ्नो बाचा
आउँदै छ रे नि सामाजिक सुरक्षा

उठ बा
तिमिलाई केही भएकै छैन
भएको मलाई हो
म त ठीक भैसकें
उठ बा सम्हाल आफुलाई
आराम गर्न पुग्यो अब
उठ।
-निर्मला पन्त

फेसबुक बाट साभार

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter