काठमाडौँ, २० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको सङ्कट दक्षिणपन्थी वा वामवन्थीका कारण उब्जेको हो भन्ने विषय गम्भीर छ, माक्र्सवादलाई धर्मशास्त्र र सूत्रका रूपमा होइन, वैज्ञानिक र वैचारिक सुधारको बाटोका रूपमा बुझ्नुपर्छ ।”
आफ्नो नेतृत्वमा भएको जनयुद्धलाई अझै पनि केहीले गल्ती र हिंसात्मक रहेको भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका वाहकलाई कतिपयले दोषारोपण र कमजोर पार्ने प्रयास भइरहेकोतर्फ पार्टीपङ्क्तिलाई सजग गराउनुभयो ।
दर्शन, राजनीतिक र सामाजिक क्रान्तिका विषयमा चर्चा गर्न सजिलो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्तिको परिणाम भनेको शक्तिशाली प्रतिक्रान्तिद्वारा ठीक बाटो पक्रेर अघि बढ्नुभएको बताउनुभयो । क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै उहाँले एकपटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको उल्लेख गर्नुभयो ।
पार्टी र सरकारले गरेका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले क्रान्तिकारीमाथि प्रहार गर्दा दक्षिणपन्थीको शिर उठ्ने अवस्थाले पार्टीको हित नगर्ने बताउनुभयो । पार्टीले अगाडि बढाएका आर्थिक विकासका मुद्दामा सहयोग र समर्थन गर्न आग्रह गर्दैै उहाँले माक्र्सवादको प्रयोगद्वारा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
लेखक कार्कीले भन्नुभयो, “माक्र्स–लेनिनले गरेको व्याख्या र विश्लेषण हो, शान्ति र अहिंसाको बाटो हिँडेपछि सादगी र सरल जीवन बिताउन सहज हुन्छ, त्यो पाटोलाई हामीले जोगाइरहनुपर्छ ।”
टिप्पणीकार झलक सुवेदीले मुलुकमा अहिले भइरहेका क्रियाकलाप, राज्य व्यवस्था र देशले अङ्गीकार गरेको बाटोको विकल्प के हुनसक्छ भनी पुस्तकमा प्रस्तुत गर्न खोजिएको बताउनुभयो । बुकहिल प्रकाशनले बजारमा ल्याएको ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकमा शान्ति प्रक्रियादेखि नेकपा विभाजनसम्मका अवधिमा भएका घटना समेटिएका छन् ।
पुस्तकका ३३ लेखका माध्यमबाट लेखक कार्कीले दुनियाँलाई बुझ्ने माक्र्सवाद, निष्ठा र प्रतिबद्धता विषयवस्तुको उठान गर्दै पुँजीवादको विकल्प समाजवाद नै हो भन्ने पुष्टि गर्ने प्रयास गर्नुभएको छ ।
उक्त कृति अध्यक्ष दाहालका साथै द्वन्द्व कालमा जीवन गुमाएका र बेपत्ता भएका व्यक्तिका सन्ततिले सामूहिकरूपमा विमोचन गर्नुभएको थियो । (रासस)
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू