आइतबार, २३ बैशाख २०८१

नेपाली हाजीहरुका केही समस्या र सुझावहरु

सेराज अहमद बरकतुल्लाह फलाही

८ श्रावण २०७५, मंगलवार २१:३३ मा प्रकाशित

हज इस्लामका पाँच आधारभूत स्तम्भहरुमध्ये एक हो जसलाई अस्वीकार गर्नु आफुलाई इस्लामबाट बाहिर गर्नु हो । इस्लाममा हजको ठूलो महत्व रहेको छ । यो इस्लामको आधार र मुसलमानको पहिचान हो । उपासनाहरुमध्ये यो धेरै महत्वपूर्ण उपासना हो र मुस्लिम समुदायमा एकताको महत्वपूर्ण आधार हो । इमान र मामिलाहरु, आचरण एवं बानीहरु, नैतिकता र उपासना तथा जीवनमा परिवर्तन गर्ने र क्रान्तिकारी गुण सिर्जना गर्ने अनिवार्य कार्य हो यो । यसका फाइदाहरु धेरै गहिरो र अन्तिम क्षणसम्म रहने हुन्छन् । यदि यसलाई यसका सबै शर्त र तरिकाहरुका साथ गर्ने हो भने परलोकको सन्दर्भमा मानिसहरुको पापहरुको जरिवाना हो र आममाफीको स्रोत पनि हो ।

सेराज अहमद

पछिल्ला केही वर्षदेखि इस्लामी देश तथा संसारभरीबाट हज गर्न जानेहरुको संख्यामा बृद्धि हुदै गएको छ । अल्लाहको कृपाले नेपालबाट हज गर्न जानेहरुको संख्यामा पनि वृद्धि भएको छ । पहिले–पहिले तोकिएको संख्या पनि पुग्दैनथ्यो तर अहिले निर्धारित हजको कोटा कम भएको महसुस हुन्छ । जसकारण हज गर्न चाहनेहरुले दुई–दुई वर्षसम्म पालो पर्खेर बस्नुपर्छ । धार्मिक जागरूकता, शिक्षामा वृद्धि, यात्रामा सुविधा, हरम र हज गर्ने ठाउँमा फराकिलोपना, सृजना गरिएको क्षमता र नेपाली मुस्लिमहरु पनि आर्थिकरुपमा सबल हुदै गएकोले अब नेपाली मुस्लिमहरु पनि पहिलेभन्दा बढी उत्सुक भएका छन् र हजको फारम भरेर आस्थाको केन्द्रमा पुगी हज जस्तो महत्वपूर्ण उपासना पूरा गर्न चाहन्छन् ।
हजको यात्रा एक महिना वा सोभन्दा बढी दिनको हुन्छ र लगभग दुई हजार नेपाली मुस्लिमहरु पनि हजयात्रामा हुन्छन् जसमध्ये बढीजसो वृद्ध, कम पढेलेखेका र गाउँतिरका मानिसहरु हुन्छन् । सामान्यतया नेपाली हाजीहरूको हज यात्रा एकदम दुःख लाग्दो र निराशाजनक हुने गरेको छ जबकि यात्रा शुद्ध हृदयले पूर्ण धार्मिक यात्रा हुनुपर्ने हो । अल्लाहको घरको दर्शन र नबी (स.) को मस्जिदको दर्शन अर्थात् तीर्थयात्रा हो यो । हाजीहरु वास्तवमा अल्लाहका पाहुनाहरु हुन् । यसकारण उनीहरुको समस्या तथा आवश्यकताहरु माथि विचार गर्नु र यस यात्रालाई सक्दो सजिलो भन्दा सजिलो बनाउने प्रयास गर्नुपर्छ ।
यहाँ आफैंले देखे र भोगेका नेपाली हाजीहरुका समस्याहरु वर्णन गर्ने प्रयास गरिएको छ । साथै
आवश्यक सुविधा तथा सुझावहरू पनि प्रस्तुत गरिएको छ । आशा छ कि यसबाट हज गर्न जानेहरुलाई पनि फाइदा हुनेछ र नेपाल हज कमिटी तथा हाजीहरूको समस्या रेखदेख गर्नेहरुले पनि दिशानिर्देश पाउनेछन् ।
१. हजको सूचना र हज फारम वितरणदेखि हजका सबै कार्यहरु गृह मन्त्रालय अन्तर्गत हुन्छ । छुट्टै हज मन्त्रालयको स्थापना र हज हाउसको निर्माण नभएसम्म यी समस्याहरुमाथि नियन्त्रण पाउन सकिदैन । यस सम्बन्धमा सबै सुचनाहरु नेपाली भाषा सँगसँगै उर्दुमा पनि प्रकाशन गर्न जरुरी छ । सूचना जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई देशका ठूल्ठूला इस्लामीक संस्था, धार्मिक संस्था र देशका ठूल्ठूला मस्जिदहरुबाट पनि जारी गर्नुपर्छ वा कम्तिमा ती स्थानहरुमा सूचना टाँस्ने व्यवस्था मिलाउनुपर्छ । हज शुद्ध धार्मिक कर्तव्य भएको हुनाले यी ठाउँहरुबाट सुचना प्रकाशित भए सजिलैसँग र थोरै समयमा सबै मुसलमानसमक्ष यो सूचना पुग्न सक्छ ।
२. जिल्ला प्रशासन कार्यालयमा फारम प्राप्त गर्ने, फारम भर्ने तथा रकम बुझाउने जस्ता कार्यलाई अझै सरल बनाउनु पर्छ । यस्ता कार्यालयहरुमा हजसम्बन्धी छुट्टै काउन्टर र दक्ष कम्प्युटर सञ्चालकलाई राख्नुपर्छ । अनलाइन फारम भर्ने सुविधा पनि सुचारु हुनुपर्छ ताकि सूचना प्रकाशन हुने बित्तिकै जहाँबाट पनि फारम भर्न सकियोस् र अनलाइन फारम भरेको प्रतिलिपि लिई सम्बन्धित कार्यालयमा पुगेर बाकी कार्य सजिलै गर्न सकियोस् ।
३. फारम भर्नेहरुको संख्या बढ्यो भने छनोट गर्ने जुन तरिका छ त्यसलाई राम्ररी र सही ढंगले कार्यान्वयन गर्नुपर्छ । हज जस्तो कार्यमा नातावाद, राजनीतिक व्यक्तिहरुको दबाव, हज कर्मचारी वा कार्यकर्तासँग मिलेमत्तो गरी छनोट कार्यमा फेरबदल वा कुनैपनि गलती हुनुहुदैन । यस्तो कार्यमा इमानदारीता हुनु जरुरी छ । यसको समाधान स्वरुप प्रत्येक जिल्लाको लागि कोटा छुट्याउनु पर्छ र नेपालभरीबाट संकलित फारम संख्यामा केही कमी भयो भने थप संकलित फारम स्वीकार गरिने शर्तमा केही अतिरिक्त फारमहरु भर्ने अनुमति दिनुपर्छ ।
४. नामावली प्रकाशनपछि सबभन्दा पहिले औंठा छाप fingerprint लिने काम हुन्छ । औंठा छाप लिने मेशिन
सम्भवतः एउटा मात्र छ जुन प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा पालैपालो पठाइने गरिन्छ । साथै औंठा छाप लिने कर्मचारी पनि एकदम सुस्ती गर्छन् यहाँसम्म कि एकजनाले दुई–दुई तीन–तीन पटक औंठा छाप दिनुपर्ने अवस्था हुन्छ । त्यसैले यस्ता कर्मचारीहरुलाई पहिलेदेखि नै प्रशिक्षण दिएर राख्नुपर्छ र औंठा छाप मेशिन पनि कम्तिमा प्रत्येक प्रदेशको लागि छुट्टाछुट्टै हुनुपर्छ ताकि एकैचोटीमा प्रादेशिक कार्यालय मा पुगेर औंठा छाप दिन सजिलो होस् ।
५. त्यसपछिको चरण घरदेखि काठमाण्डौसम्मको यात्रा हो । आसपासका गाउँ वा जिल्लाका मानिसहरु एकैसाथमा गाडी रिजर्ब गरेर अगाडि पूर्ण तयारीसाथ यात्रा गर्दा राम्रो हुन्थ्यो । घरबाट निस्कने बेला धार्मिक आचरणहरु लाई ध्यानमा राख्नुपर्छ र अनावश्यक कार्यहरु गर्नुहुदैन ।
६. उडानभन्दा पहिले हाजीहरूलाई आवश्यक अन्य कार्यका लागि काठमाण्डौको नेपाली जामे मस्जिद वा काश्मिरी तकिया मस्जिदमा राखिन्छ । यस अवधिमा सुई, पासपोर्ट चेकजाँच, आवश्यक पर्ने केही रकम, पहिचान पत्र (क्ष्म् ऋबचम) दिने गरिन्छ । यसको सूचना पनि मोटो अक्षरमा मिति, समय र दिन खुलाउने गरी नेपाली र उर्दू दुबै भाषामा हुनुपर्छ । साथै सोधपुछ काउन्टर पनि राख्नुपर्छ जुन बिहान फजरदेखि राति ९ बजेसम्म खुल्ला होस् । यसबीच प्रोजेक्टरको मद्दतले हज गर्न जानेहरुको लागि हजको तरिका सम्बन्धी केहि भिडियोहरु देखाउनु राम्रो हुन्छ । मस्जिदमा खाने–बस्ने व्यवस्था तथा सरसफाईको व्यवस्थालाई राम्रो ढंगले व्यवस्थित गर्नुपर्छ ।

७. यदि कोही साथमा हज गर्न चाहन्छ भने उनीहरूको राहदानी तथा फारम एकैसाथमा राख्नुपर्छ । उनीहरूको लागि कुनै पारिवारिक कोडको व्यवस्था गर्नुपर्छ जुन एउटा परिवारको प्रत्येक सदस्यको लागि एकै होस ताकि फारम स्वीकृत भयो भने सबैको एकै साथ होस् र फ्लाइट सबैको एकैसाथ होस् । साथै यदि समुह बनाउने समय आयो भने सबै सदस्यहरु एकै समुहमा आउन सकुन् । एउटै परिवारका मानिसहरु, नजिकका नातेदारहरु वा एउटै गाउँका मानिसहरु सहजताका लागि एकसाथमा यात्रा गर्न चाहन्छन् । यस्तो अवस्था पनि देखिएको छ कि फ्लाइटमा पति–पत्नी वा बुवा–आमा एक अर्कोबाट छुट्टिएर बस्नु परेको हुन्छ । यस्तोे अवस्था सिर्जना हुन नदिन सक्दो प्रयास गर्नुपर्छ ।
८. मस्जिदबाट एयरपोर्ट जाँदा प्रत्येक बसमा हजकमिटीको तर्फबाट एउटा स्वयंसेवक हुनुपर्छ । त्यस्तै एयरपोर्ट बाहिर र भित्र प्रत्येक काउन्टरमा पनि सहयोगको लागि एक–एक जना स्वयंसेवक हुनुपर्छ । स्वयंसेवकहरुको पहिरन एकै किसिमको हुनुपर्छ जसलाई देखेर हाजीहरु ढुक्क होऊन कि हाम्रो सहयोगको लागि व्यक्ति छ । अन्यथा काम त भईहाल्छ तर यात्राको अनुभव नभएका अशिक्षित र ग्रामीण बासीहरु यात्राको सुरुमा नै डराउँछन् ।
९. प्रत्येक जहाजमा कम्तिमा दुईजना आलिम स्वयंसेवकहरु हुनुपर्छ ताकि यात्राको अवधिभर निर्देशनहरू दिँदै रहुन् । जहाजमा खानपिनदेखि लिएर दिसापिसाबको लागि पनि निर्देशन दिन सकुन् ।
मिकात आउनु पुर्व यसको जानकारी दिऊन् र नियत एवं तकबीरका शब्दहरु पढ्न लगाऊन् । फ्लाइटका अधिकारीहरु पनि सोध्छन् कि तपाईहरूको प्रतिनिधि को हुन् । यसको लागि यो पनि गर्न सकिन्छ कि समुहमध्ये कुनैपनि आलीमलाई यहाँ काडमाण्डौ मै प्रतिनिधि तोकी उनीसंग जहाजमा रहेका सबै हाजीहरुको नामावली र अन्य काम लाग्ने कागजातहरु होस् ।
१०. जद्दा एयरपोर्टमा स्वागत तथा जद्दाबाट मक्का लैजान प्रशिक्षक र बस आउँछ । त्यहाँ पनि हज कमिटीका दुई–तीनजना स्वयंसेवकहरु होऊन् जसले सबैजनालाई फ्लाइटबाट निकालेर एक ठाउँमा जम्मा गरुन्, बसमा चढ्न सहयोग गरुन्, कोही छुटेको भए वा कसैको सामान आउन नसकेको वा अरु कुनै समस्या आएको भए उसको सम्बन्धित समस्या हल गर्न सहयोग गरुन् । प्रत्येक बसमा चढेर मक्कासम्म साथमा लैजान सके हाजीहरूको लागि राहतको कुरा हुने थियो ।
११. जब हाजीहरु मक्का होटलमा पुग्छन् त्यहाँ पनि स्वागतको लागि तथा स्वयंसेवकको रुपमा हज कमिटीको कार्यकर्ता हुनुपर्छ ताकि कुनै पनि
मामिलामा हाजीहरु तिनीहरूसँग सहायता माग्न सकुन् । सबैकुरा थाहा हुँदाहुँदै पनि त्यहाँ कहिलेकाहिँ मानिसहरु समस्यामा पर्छन् । त्यसकारण स्वयंसेवकको तर्फबाट यो प्रयास हुनुपर्छ कि सबभन्दा पहिले सबैजना आफ्नो कोठा निश्चित गरुन्, सामान मिलाएर राखुन् र साउदीको नयाँ सिमकार्ड लिएर एकअर्कासँग नम्बर आदानप्रदान गरुन् । होटलको कार्ड र हजको प्रमाणपत्र लिएपछि मात्र उमराको लागि काबा जानुपर्छ । मानिसहरु थाकेर
जान्छन् र हत्तारमा सामान राखेर हरमतिर लाग्छन् । जसको परिणामस्वरुप आपसमा छुट्टिएर विचलित हुन्छन् । न मोबाइल हुन्छ र न अरु कुनै जानकारी । बिचल्लित भएर राती अबेला मात्र होटल पुग्छन् ।
यस कुराको आवश्यकता पनि महसुस गरिएको छ कि दस–बीसजनाको समुह हरममा जाँदा साथमा नेपालको झन्डा साथमा राख्ने र एकजनाले झन्डालाई माथि राख्यो भने हराउने डर कम हुन्छ । जहिले पनि कहिले कतै निस्कदा झण्डा साथमा बोक्न सकिन्छ । यसले अरु मानिसहरुलाई पनि फाइदा हुन्छ । यदि काही हरायो वा छुट्यो भने झण्डा भएको ठाउँमा आउन सक्छ । यो भन्दा पनि सजिलो यो हुनसक्छ कि कुनै कपडामाथि नेपालको सानो झन्डा बनाइएको होस् र त्यो कपडा प्रत्येक हाजीले आफ्नो घाँटीमा बाँधेर राखे भने यस्तो अवस्थामा कोही छुट्यो वा हरायो भने कुनै पनि नेपाली हाजीसँग होटलसम्म पुग्न सक्छ ।
१२. होटलमा बसेको अवस्थामा खानपिन, कोठाको सफाई, ओछ्यान, कुलर तथा हिटर आदि होटलले प्रदान गर्छ । तर कुनै कमीकमजोरी वा खराब भयो भने उनीहरु ध्यान दिदैनन् । यस्तो अवस्थामा प्रतिनिधिले ती समस्याहरुबारे कुरा गर्न सकोस् । हाजीहरुले पैसा अग्रिम भुक्तानी गरिसकेका हुन्छन् । यस्तो अवस्थामा बारम्बार यस्ता लापरवाहीहरु अक्षम्य हुन्छन् । होटलमा कहिले पानी सक्ने, कुलरले काम नगर्ने, ओछ्यान बदल्नु पर्ने अवस्था, चर्पी सफा गर्नुपर्ने वा मरम्मत गर्नुपर्ने हुनसक्छ। यी सब कारणले सबै हाजीहरु पीडित हुन्छन् र यस्तै कुराहरुमा धेरै समय बितिरहेको हुन्छ ।
होटलबाट मीना जान र होटलबाट मदिना जानेबेलामा तोकिएको समयमा बस आउदैन र खबर पनि हुदैन कि बस कति ढिलो आउँछ । यस्तो पनि हुन्छ कि बसको समय ईशापछि थियो तर फजर नमाजपछि बस आयो । हाजीहरु रिसेप्सनमा वा सडकमा रात बिताउन बाध्य भएका हुन्छन् । हाजीहरुले पनि हत्तार गर्नुहुदैन ।
१३. मिनामा बस्ने ठाउँ अपर्याप्त हुन्छ र खाना नेपाली स्वाद अनुसार पाईदैन । जमरात आउन–जान, अरफात जान र यस्तै अरु जरुरी कार्यहरूको लागि कुनै सूचना दिने कोही हुदैन । यहाँ पनि महसुस भयो कि कुनै स्वयंसेवक हुनुपर्छ जसले यस्ता सूचनाहरु दिन सकुन् ।
१४. मक्का बसेको अवस्थामा मुत्हफ–ए–मक्का, माअर्जुल् हरमैन, मरकज् हैय्युन्नुज्हा, जामिया उम्मुलकुरा विश्व विद्यालय र यस्ता महत्वपूर्ण स्थल हरुको भ्रमण पनि गराउनु पर्छ । त्यस्तै मस्जिदे नबवी नजिक भ्रमणयोग्य धेरै ठाउँहरु छन् । जस्तै माअर्जुल् कुरआन करिम, माअर्जुल् अस्माउल् हुस्ना, मक्तब मस्जिदे नबवी आदिको सजिलै भ्रमण गर्न सकिन्छ ।
१५. अरफातबाट फर्कने बेलामा बसको प्रबन्ध छ वा छैन, बस समयमै आउँछ वा आउँदैन भन्ने बारेमा समय मै सूचित गरिदैन यसकारण जो व्यक्ति हिडेर मुज्दलिफा जान सक्छन् उनीहरुलाई समयमै निर्देशित गर्नुपर्छ । नत्र कतिपय हाजीहरु चिन्तामा हुन्छन र कतिपय मानिसहरु मुज्दलिफासम्म पुग्न पनि सकेका हुदैनन् ।
१६. मिनामा बसेको अवस्थामा जमरात जान–आउनमा, खानपान बदलिएर वा धेरै मेहनत हुनाले धेरै हाजीहरु बिरामी पर्छन् । मीनामा आफ्नो चिकित्सक आवश्यक छ ताकि उनीहरूको प्रारम्भिक सहयोग गर्न सकुन् ।
१७. साउदीबाट फर्कने बेलामा काठमाण्डौ एयरपोर्टमा कमिटीका कार्यकर्ताहरु हुनु जरुरी छ । जुन हाजीहरुको मस्जिद आउन चाहन्छन् उनीहरुलाई ल्याउनुपर्छ र उनीहरूको प्रतिक्रिया पनि लिनुपर्छ । सिधै घर जान चाहनेहरुलाई त्यहिबाट विदाई गर्नुपर्छ ।
१८. हज कमिटीले हाजीहरुको सहयोगका लागि कम्तीमा २० जना आलिमहरुलाई लिएर जानुपर्छ जसलाई धर्मको राम्रो जानकारी होस् र हजको बारेमा ठाउँ–ठाउँमा निर्देशन दिन सकुन् । कम्तीमा सात जना डाक्टर हुनुपर्छ र साथमा आवश्यक औषधी लिएर जाऊन् हाजीहरूको चेकजाँच गर्न सजिलो होस् । १० जना युवा स्वयंसेवक पनि साथमा हुनुपर्छ । खास गरी यस्ता युवकहरु जसलाई कतार वा साउदीमा काम गरेको अनुभव छ र अरबी बोल्न सक्छन् तथा हाजीलाई सहयोग गर्न सक्छन् । काठमाण्डौ मै तिनीहरूको बारेमा सबैलाई अवगत गराउनुपर्छ र उनीहरुको संपर्क नम्बर पनि सबैलाई उपलब्ध गराउनुपर्छ ।
पाँचजना हज कमिटिका सदस्यहरु जानुपर्छ जसलाई नेपाली र अङ्ग्रेजी बोल्न आउँछ । उनीहरुसँग नेपाल सरकारको तर्फबाट प्राप्त परिचयपत्र हुनुपर्छ । उनीहरु नेपाली हाजीहरुको देखभाल गर्ने अधिकार राख्दछन् र कुनै आपतविपत परेको बेलामा साउदीको सम्बन्धित कार्यालयमा उजुरी गर्न सक्नेछन् ।


१९. हजको फारम भर्ने समयमा एकलाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ जबकि फारमको पुष्टि एक वर्षपछि मात्र हुन्छ । तबसम्म नेपाल सरकारले त्यस पैसालाई प्रयोग गरेको हुन्छ । जुन न्यायसंगत देखिदैन । यसकारण फारम भर्ने समयमा ५०० वा हजार रुपैया दस्तुर लिएर फारम भर्ने र नाम निस्किएपछि एक महिनाभित्र पूरा रकम जम्मा गर्ने गरी सूचना दिनुपर्छ र रकम जम्मा गरे पछि मात्र औंठा छाप fingerprint लिनुपर्छ ।
२०. हजको फारम भर्ने बेलामा राहदानीको फोटोकपी नै लिने गर्नुपर्छ । अहिले सक्कल कपी नै लिइन्छ जबकि त्यसको कुनै जरुरी छैन । फारम भरेदेखि कन्फर्म हुनसम्म कयौँ महिना लाग्छ, बरु अहिले एकवर्षभन्दा बढी लाग्छ । यसबीचमा कसैलाई पासपोर्टको काम प¥यो भने उसलाई समस्या पर्छ र अरु कतै यात्रा पनि गर्न सक्दैन । रमजानमा, कुनै अन्तर्राष्ट्रिय सेमिनारमा, व्यापार वा अन्य कुनै कारणले विदेश जानुपर्ने भए त्यसबाट बञ्चित हुनुपर्छ ।
विदेशतिर कार्यरत व्यक्ति आफ्ना आमा–बुवा वा पत्नीसँग हज गर्न खोजिरहेका छन् भने यस्तो अवस्थामा असम्भव हुन्छ । यसकारण नामावली पुष्टि भएर आएपछि मात्र एक महिनाभित्र रकम र इदुलफित्र एवं शव्वालको अन्तमा भिसाको काम गर्ने बेलामा सक्कल राहदानी लिनुपर्छ ।
२१. हज कमिटीको चुनाव गर्दा त्यसमा इस्लामिक विद्वान, धार्मिक अगुवा, धार्मिक संस्थाका प्रतिनिधिहरूलाई बढी सामेल गर्नुपर्छ र यस्ता मानिसहरुको चयन गर्नुपर्छ जो हज गरिसकेका छन्, धार्मिक ज्ञान राख्दछन् र त्यस कार्यलाई राम्ररी निर्वाह गर्न सक्छन् । जम्मा सदस्य २५ जना हुन्छन् जसमध्ये कम्तीमा १५ जना आलिम लिनुपर्छ ।
२२. प्रत्येक हाजीहरुको हरेक मामिलाहरु निर्देशकमाथि हुन्छ तर यस्ता मानिसहरु त्यहाँ देखिदैनन् । न त हाजीहरुको लागि यहाँबाट गएका स्वयंसेवकहरु नै देखिन्छन् र न प्रशासन प्रबंन्धन सम्बन्धीका सूचनाहरु समयमा पुर्याउने कोही हुन्छ । हाजीहरूको लागि सबभन्दा बढी कष्टकारी कार्य यही हुन्छ । यसकारण हज कमिटीको तर्फबाट गएको आलिम प्रतिनिधिलाई निर्देशकको नम्बर र निर्देशकको सहयोगीको नम्बर अवश्य रुपमा उपलब्ध गराउनुपर्छ । अब त सजिलो यो पनि छ एउटा ध्जबतकब्उउ न्चयगउ बनाएर निर्देशक, उसको सहयोगी मोअल्लीम प्रतिनिधि, हज कमिटीका प्रतिनिधिहरु समावेश होऊन । हज कमिटीका निर्देशकहरूले हाजीहरुलाई जानकारी गराउनुपर्छ । यी केही समस्याहरु हुन् जसलाई प्रष्ट पार्ने प्रयास गरिएको छ । यदि यसलाई गम्भीरतापूर्वक लिएर विचार गरियो भने नेपालका हाजीहरूको समस्या केहि कम हुनसक्छन् र उनीहरूको लागि धेरै सुविधाहरु पनि हुनसक्छ । अल्लाहले हाजीहरूको समस्याहरुलाई समाधान गरी त्यसलाई आसान पारुन् र यससँग सम्बन्धित व्यक्तिहरुलाई इमान्दारी र एकताबद्ध भई काम गर्न तौफीक दिउन् । आमीन ।
(लेखक अलहेरा एजुकेशनल सोसाइटी नेपालका महासचिव हुन् ।)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter