केही दिनअघि मेरा एक जना सहकर्मीले सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीलाई टेलिफोन गरेर सोध्नुभयो, ‘बर्खाले बिग्रिएका सडक मर्मत कहिले गर्नुहुन्छ ?’, अधिकारीले जवाफ दिनुभयो, ‘हामीले मर्मत थालिसकेका छौँ, दशैँसम्म सबै सडकलाई ठिकठाक अवस्थामा ल्याउँछौँ, अहिले पनि धेरै ठाउँमा समस्या छैन ।’
सडक विभागकै उपमहानिर्देशकले यति भनेपछि मलाई लाग्यो सडक ठिकठाक नै होला, कहीँ कतै बिग्रिए पनि थोरै ठाउँमा मात्रै बिग्रिएको होला । त्यसैले मैले भदौको अन्तिम हप्ता काठमाण्डौबाट जन्मघर प्युठानसम्म जाने निधो गरेँ ।
सरकारले जे भन्छ त्यो गर्दैन र विकास निर्माणका कुरामा सरकारी जवाफ पत्याइहाल्नु हुँदैन भन्ने पहिल्यैदेखि लाग्थ्यो तर सडक यति धेरै बिजोग अवस्थामा छ भन्ने चाहिँ मैले कल्पनासमेत गरेका थिइनँ ।
मेरो यात्रामा सडकको बिजोग सुरु हुन्छ नागढुङ्गाबाट । कुनै पनि देशको राजधानी आउजाउ गर्ने मुख्य राजमार्ग त्यस्तो सााँघुरो र मर्मत नगरिएको देख्दा सायद धेरै नागरिकलाई पनि लाज लाग्छ तर सरकारलाई भने आजसम्म लाज लागेको जस्तो देखिँदैन । नागढुङ्गाबाट केही तलसम्म ठ्याक्कै दुई वटा गाडी मात्रै ‘क्रस’ गर्न सक्छन्, बाटो उकालो पनि छ । एउटा गाडी बिग्रियो भने नागढुङ्गा–नौबीसे खण्ड ठप्प हुन्छ ।
नागढुङ्गा ओरालो झर्दै गर्दा एक्कासी गाडी रोकिए । नजिकै रहेका ट्राफिक प्रहरीलाई गाडी बन्द हुनुको कारण सोधेँ । एउटा गाडीको टायर पन्चर भएर बाटो एकतर्फी चल्दा त्यसको असर देखिएको ट्राफिकले बताए । सडकमा खटिएका नागढुङ्गामा कार्यरत गुल्मी घर भएका ट्राफिक जवान विष्णु अर्यालले भन्दै हुनुहुन्थ्यो, ‘यहाँ बाटो बन्द हुनका लागि ठूला गाडी होइन, एउटा कार बिग्रिए पनि पुग्छ, घण्टौँसम्म जाम हुन्छ ।’
राजधानी जोड्ने ‘लाइफ–लाइन’ सडकको यो अवस्थाले दैनिक हजारौँ नागरिकले त सास्ती पाएकै छन्, नेपाल घुम्न आएर सडक मार्ग हुँदै यात्रा गर्ने विदेशीले के भन्दा हुन् !
एक जना यात्रुले भन्दै थिए, ‘देश त पशुपतिनाथकै भरमा चलेको छ, सरकारले केही गर्दैन’ ।
पृथ्वी राजमार्गको मुग्लिनसम्मै जम्मा दुई लेनको सडक, बडेमानका सयौँ गाडी, सडक छेउभरि सहर विस्तार हुँदैछ । यात्रा कष्टकर । मुग्लिनबाट नारायणगढसम्म सरकारले बाटो विस्तार त गरेको छ तर पुल विस्तार भएका छैनन् । ठाउँ–ठाउँमा पहिरो झरेर सडक साँघुरो । कहाँ कति बेला सडक बन्द हुने हो पत्तो छैन ।
बल्ल–तल्ल नारायणगढ पुगेको मान्छे त्यहाँबाट पश्चिम लाग्यो भने अब सुरु हुन्छ उसको झनै कष्टपूर्ण यात्रा । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल एक सय १४ किलोमिटर सडक यति खराब कि तपाईँले कल्पनै गर्न सक्नुहुन्न । नारायणगढको नारायणी पुल तरेर पश्चिमतर्फ लाग्नेबित्तिकै कष्टकर यात्रा सुरु हुन्छ । सरकारले विस्तार गर्न भनेर २०७५ सालदेखि भत्काउन थालेको यो सडक अहिलेसम्म भत्काएको मात्रै छ, बनाएको छैन । राष्ट्रिय राजमार्गमा कतै कतै त सानातिना गाडी नै हराउने भ्वाङ छन् । मिटरैपिच्छेका खाल्डाले साना/ठूला सबै गाडीलाई गुड्न मुस्किल पर्छ ।
पानी पर्दा होस् या घाम लाग्दा सडकमा उस्तै गाह्रो । पानी पर्दा राजमार्गभर हजारौँ सानातिना पोखरी देखिन्छन् । कतै कतै साना देखिने खाल्डामा गुरुजीले गाडी गुडाउने रहेछन् तर देख्दा साना देखिने खाल्डामा त आधा गाडी नै फस्ने । तपाईँले नारायणगढ–बुटवल सडकको यात्रा गर्नुभएको छ भने पक्कै पनि सडकभरि बिग्रिएका गाडी देख्नुभएको होला । हरेक किलोमिटरको यात्रा गर्दा सडक किनारमा बिग्रिएका गाडी देखिन्छ । यात्राको क्रममा सरकारलाई नसराप्ने त कमै हुन्छन् होला !
दाउन्नेको उकालोमा र बुटवल पुग्ने बेलामा थोरै ठाउँमा सडकमा कालोपत्र देखिन्छ नत्र एक सय १४ किलोमिटर लामो बाटोमा कालोपत्र देख्नै मुस्किल । कालोपत्र भत्किएको बाटोमा पनि ग्राबेल राखेर खाल्डाखुल्डी पुर्न त सकिन्थ्यो होला तर सरकारले त्यता ध्यानै दिएको छैन ।
दशैँ लागिसक्यो । अब त त्यति लामो सडक खण्डमा सरकारले चाहेर पनि राम्राेसँग मर्मत गर्ने समय छैन । यसको अर्थ दशैँमा आउजाउ गर्ने यात्रुले नारायणगढ–बुटवल सडकमा अहिलेकै जस्तो कष्टकर यात्रा गर्नैपर्छ । मैले दुःख पाउँदैछु है भनेर जानीजानी यात्रा सुरु गर्नुको विकल्प छैन । व्यवसायीले सुविधाजनक र अत्याधुनिक बस किनेका छन् तर सडकको अवस्था भने कुरा गरिनसक्नुको छ ।
मन्त्री र सडक विभागका हाकिमले एक पटक नारायणगढ–बुटवल सडकको यात्रा गर्ने हो भने पक्कै पनि मर्मत र विस्तारको काम चाँडो सक्न ताकेता लगाउँथे होला । तर मन्त्री र हाकिमहरू सकभर हेलिकप्टरमै, नत्र हवाईजहाजको यात्रा गर्छन् । उनीहरूलाई सडकको बिजोगले किन पोल्थ्यो र !
चार लेनको बनाउने भनेर २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो सडकको काम सकेर सरकारलाई हस्तान्तरण गर्ने बेलामा बल्ल १८ प्रतिशतमात्रै सकिएको छ । चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले दुवै खण्डको निर्माणको ठेक्का हात पारेको थियो । निर्माण कम्पनीले ठेक्का पाएदेखि नै सडक विस्तारको काममा ढिलासुस्ती गर्दै आयो, सरकारले काम चाँडो गराउन कुनै पहल गरेन ।
२०७६ सालदेखि अहिलेसम्म नागरिकले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । ठेकेदारको लापर्बाहीले गाडी र सर्वसाधारणले यात्रा गर्दा असहज, प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्ने अवस्था आएको छ । सडकको अवस्था बिग्रिएका कारण सडक वरिपरिका बासिन्दालाई असुविधा, स्थानीयवासीको स्वास्थ्य समस्या, सडक प्रयोगकर्ताको दुर्घटना र सार्वजनिक सुरक्षामा समेत चुनौती थपिएको छ ।
सरकारले ठेकेदारलाई चाँडो कम सक्न दबाब दिनुको साटो एक वर्षका लागि म्याद थप गरेको छ । अहिले आएर बल्ल सरकारले काममा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । सडक विभागको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो ।
नारायणगढ–बुटवल सडकको पूर्व खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ । दुवै खण्ड भत्काएर छाडिएको छ । १७ अर्ब रुपैयाँ लागतमा विस्तार हुँदै गरेको सडक यसरी अलपत्र परेको छ कि मानौँ देशमा सरकार नै छैन अनि सरकारका अङ्ग र निकाय मृत छन् ।
काठमाण्डौबाट मुग्लिन, नारायणगढ हुँदै बुटवलसम्मको मात्रै होइन देशका अरू सडकको हालत पनि उस्तै खराब छ । पाइला पाइलामा नागरिकले सरकारलाई सराप्छन् । मेरै यात्राको कुरा गर्ने हो भने भालुवाङ–प्युठान, गुल्मीको तम्घासबाट पाल्पा, पाल्पाबाट पोखरा आउने क्रममा स्याङ्जा खण्डको सडक उस्तै । ग्रामीण सडकमा त भगवान् भरोसामै यात्रा गर्नुपर्छ ।
पोखरा–मुग्लिन सडक पनि विस्तार हुँदैछ । ठाउँ–ठाउँमा सडक भत्काएर छाडिएको छ । नेपालीलाई त आफ्नो देशको अवस्था यस्तै हो भन्ने थाहा छ । तर सडक यात्रा गरिरहेका विदेशी पर्यटकको दुःख र उनीहरूका अनुहारमा देखिने निराशाले जुनसुककैको मन कटक्क खान्छ । यस्ता खत्तम सडकमा यात्रा गराएर हामीले देशको कस्तो चिनारी दिइरहेका छौँ सरकार ?
समाचारमा सुनेअनुसार पूर्व–पश्चिम राजमार्गको ढल्केबरबाट पूर्वको सडक पनि बिग्रेकै अवस्थामा छ । पाँच दशकअघि बनेको सडक विस्तार भएको छैन । यस्तै त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डको अवस्था पनि भनिसाध्ये छैन । बेसीसहर–चामे, साँफेबगर–मार्तडी, बेनी–जोमसोम, गल्छी–त्रिशूली–स्याफ्रुबेसी सडकका विभिन्न भागमा पहिरो खसिरहेकाले बढी समस्या छ ।
तपाईँले पनि एक पटक यी सडकको यात्रा गर्नुभयो भने पक्कै सोच्नुहुनेछ र सोध्नुहुनेछ, ‘यो देशमा सरकार छ ?’
तस्बिर : सामाजिक सञ्जाल
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू