सोमबार, १७ बैशाख २०८१

क्वालिफायरमा काठमाडौं र धनगढी खेल्दै

२७ चैत्र २०७४, मंगलवार १४:३० मा प्रकाशित

धनगढी

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ का प्ले अफका खेलहरू मंगलबारबाट सुरु हुँदै छन् । संघीय प्रहरी इकाइ कार्यालय धनगढीको क्रिकेट मैदानमा मंगलबार हुने प्ले अफअन्तर्गतको पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टिम चौराहा धनगढीबीच पहिलो खेल हुँदा इलिमेटरमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच खेल हुनेछ ।

काठमाडौं र धनगढीबीचको खेलको विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ  भने पराजित हुने टोलीले अर्काे इलिमेटर खेल्ने मौका पाउनेछ । क्वालिफायरमा पराजित हुने टोलीले इलिमेटरको विजेतासँग फाइनल प्रवेशका लागि अर्काे मौका पाउनेछ । लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौंको कप्तानी गरिरहेको राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल आफ्नो फर्ममा फर्किएको संकेत दिएका छन् । यस्तै, काठमाडौंका भारतीय खेलाडी सुबोध भाटी र सन्नी पटेलले जारी लिगमा उच्च प्रदर्शन गरिरहेका छन् ।

टिमका कप्तान ज्ञानेन्द्र मल्लले मंगलबार आत्मविश्वासी भएर खेल्दै फाइनल प्रवेशका लागि खेल्ने बताए । ‘हामीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका छौं । त्यही प्रदर्शनलाई मंगलबार पनि निरन्तरता दिने लक्ष्यमा हुनेछौं,’ कप्तान मल्लले भने, ‘विपक्षी टोली पनि राम्रो छ । उनीहरूका दुई विदेशीसहितको अन्य खेलाडी पनि राम्रा छन् । उनीहरूलाई छिट्टै रोक्ने हाम्रो योजना हुनेछ । त्यसका लागि हामी उत्कृष्ट खेल्दै फाइनल प्रवेश गर्नेछौं ।’

काठमाडौं गोल्डेन्सले आफ्नो पहिलो खेलमा टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा रूपन्देही च्यालेन्जर्समाथि ६३ रनको तथा तेस्रो खेलमा सीवाईसी अत्तरियामाथि ११ रनको जित निकालेको थियो । चौथो खेलमा विराटनगर किंसमाथि ५ विकेटको जित निकाल्दा महेन्द्रनगर युनाइटेडविरुद्धको समूह चरणको अन्तिम खेल वर्षाका कारण हुन सकेको थिएन ।यता, टिम चौराहा धनगढीका प्रशिक्षक शेरबहादुर लामाले मंगलबारको क्वालिफायर खेल प्रतिस्पर्धात्मक हुने बताए ।

‘हामी लिगको पहिलो खेलमै काठमाडौंसँग पराजित भएका छौं । उनीहरूले हामीलाई सहज लिइरहेको हुन सक्छ,’ प्रशिक्षक लामाले भने, ‘लिग चरणमा नराम्रोसँग हराएकाले उनीहरूले सोही आत्माविश्वास खेल्न सक्छ । तर, हामी त्यसको फाइदा उठाउनेछौं ।’ यस्तै, प्रशिक्षक लामाले दुई विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको बताए । ‘दुई विदेशी खेलाडी रोहन मुस्ताफा र अस्फाक एहमेदको आगमनले टिम बलियो बनेको छ । हामीलाई घरेलु दर्शकको पनि राम्रो साथ छ,’ प्रशिक्षक लामाले भने, ‘दुई विदेशी खेलाडीसहित घरेलु दर्शकको समर्थनले हामीलाई हौसला मिल्नेछ । यो पनि जितको आधार बन्न सक्छ ।’

यस्तै, मंगलबारै इलिमेटरमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच खेल हुँदै छ । यो खेलमा जित हात पार्ने टिम क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । अत्तरियाले आइतबार पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंसलाई पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । महेन्द्रनगरले लिग चरणमा २ खेलमा जित हात पार्दा १ खेलमा हार बेहो¥यो । अत्तरियाले ४ खेलमा समान २ जित र २ हार बेहोरेको थियो ।

१७ चैतबाट सुरु भएको राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् । पहिलो र दोस्रो हुने टिमको विजेता क्वालिफायरमा पुग्नेछन् । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

लिगको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले १० लाख प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले क्रमशः ३ लाख र २ लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दि सिरिज’ले एक थान टीभिएस अपाचे मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलले गोल्डस्टारको सुनको जुत्ता पाउनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter