शनिबार, १५ बैशाख २०८१

खेलकुदको विकासका लागि सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

२४ आश्विन २०८०, बुधबार २२:०२ मा प्रकाशित

काठमाडौँ, २४ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हालै चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा अझ धेरै पदक र उत्कृष्ट खेल प्रदर्शन गर्नेगरी परिश्रम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले १९औँ एशियाली खेलकुदमा महिलाको प्रस्तुति रोचक भएको उल्लेख गर्दै आगामी दिनमा अझै ठूलो सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगिताअन्तर्गत महिला कराँतेमा नेपालले रजतपदक जितेको थियो । उहाँले आफू खेलाडीलाई हौसला दिन प्रतियोगितास्थलमा पुगेको स्मरण गर्दै पदक जितेका खेलाडीलाई उचित पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो । क्रिकेटमा कीर्तिमान कायम गरेका खेलाडीहरुको सराहना गर्दै प्रधानमन्त्रीले पुरस्कारको व्यवस्था हुने बताउनुभयो ।

खेलाडीलाई प्रोत्साहन गर्नेसम्बन्धी नियमावली यसअघिको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको उल्लेख गर्दै आजको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई पुरस्कृत गर्नका लागि अर्थमन्त्रालयले निकासा दिने निर्णय भएको जानकारी दिनुभयो ।

“खेलाडीको प्रोत्साहनका लागि मैले पुरस्कार दिने घोषणा गरेको थिएँ, सरकारले नियमावली स्वीकृत गरिसकेको छ, आजको मन्त्रिपरिषद् बैठकमा खेलाडीलाई पुरस्कार दिनका लागि निकासाको निर्णय भयो र एक साताभित्र अर्थमन्त्रालयबाट रकम आउनेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्षलगायतको उपस्थिति थियो । नेपाली खेलाडीले महिला करातेमा रजत र महिला कबड्डीमा कास्यपदक जितेका थिए । (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter