मङ्गलबार, ११ कार्तिक २०७७

कोरोनाको दोहोरो मारमा मुस्लिम

सीमा खान

२३ बैशाख २०७७, मंगलवार २३:३८ मा प्रकाशित

मानव–सभ्यतामै चुनौती दिने परमाणु बम, मिसाइल, शस्त्रअस्त्र बनाउने मानवलाई यतिवेला अत्यन्त सानो आकारको विषाणु कोरोना भाइरसले गम्भीर चुनौती पैदा गरिदिएको छ । एक से एक वैज्ञानिक आविष्कार गर्ने मुलुक यतिवेला कोरोना भाइरससँग संघर्षरत छन् । भाइरसलाई ठेगान लगाउने आविष्कार भइसकेको छैन । विश्व कोरोनाविरुद्ध संघर्षरत रहेका वेला भारतमा र केही हदसम्म नेपालमा पनि महामारीसँग मुस्लिम धर्मावलम्बी (खासगरी तब्लिगी जमात) को नाम जोडेर दुष्प्रचार हुँदै आएको छ । दुष्प्रचारका कारण मुस्लिमद्वारा नै महामारी फैलिएको र अझै फैलिने सम्भावना रहेको भन्ने मानसिकता जनमानसमा सिर्जना हुँदै गइरहेको अवस्था छ ।

मुस्लिमसँग कोरोना जोड्ने क्रममा सुनियोजित रूपमा बदनाम गरिएको तब्लिगी जमातको अर्थ धेरैलाई थाहा नभएका कारण यो समूहलाई आतंकवादी र हिन्दूविरोधी भनेर कतिपयले बुझिरहेका छन् । तब्लिगको अर्थ फैलाउनु, सिकाउनु हो र जमातको अर्थ समूह हो । तब्लिगी इस्लामको प्रसार अर्थात् इस्लामको ज्ञान दिने गर्छन् । यसका लागि गाउँघरका कुनाकाप्चासम्म पनि पुग्ने गर्छन् । कोरोना संक्रमणसँग नेपाली मुस्लिमको नाम जोडिने सुरुवात दिल्लीस्थित निजामुद्दिन मर्कजद्वारा आयोजित तब्लिगीको सम्मेलनबाट भयो । लकडाउन सुरु हुनुअघि आयोजित समारोहमा नेपाली तब्लिगी पनि सहभागी थिए ।

मुस्लिम समुदायका लागि महामारी आफ्नै देशमा घोर अपमानको कहर सिद्ध भइरहेको छ । तिनको सम्मान, पहिचान, प्रतिष्ठा तथा राष्ट्रियतामै प्रश्न उठाइएको छ । आफ्नै देशमा विनाकुनै कसुर एउटा निश्चित समुदायलाई दोषी ठहर गर्नु कति जायज हो ?

नेपाल र भारतमा एक्कासि लकडाउन घोषणा हुँदा सहभागी समारोह स्थलमै रोकिन बाध्य भए । तीमध्ये केही संक्रमित भए । संक्रमितहरूको पहिचान भएको खबर आउँनासाथ भारतका ‘इस्लामोफोबिक’ मिडियाले सुनियोजित तवरले तब्लिगी जमातसँग जोडेर झुटो प्रचार थाले । यसको प्रभावबाट नेपाल पनि अछुतो रहेन । सामाजिक सञ्जालका साथै केही डिजिटल मिडियाले भारतीय शैलीमै तब्लिगी जमातलाई कोरोना प्रसारकको रूपमा प्रचार गरे ।

‘टिआरटी वल्र्ड’का अनुसार भारतमा संक्रमण फैलिएका २० वटा ‘हटस्पट’मा दिल्लीको निजामुद्दिन पनि एक हो । तर, सञ्चार–माध्यममा निजामुद्दिनलाई मात्र बहसको विषय बनाइयो । मन्दिर र गुरुद्वारामा भेटिएकालाई ‘रोकिन बाध्य भएका’ भन्ने भारतका सञ्चार–माध्यमले मस्जिदमा भेटिएकालाई ‘लुकेर बसेको’ भन्ने भाष्य निर्माण ग-यो । ठीक त्यही भाषा हाम्रा केही सञ्चार–माध्यमले पनि प्रयोग गरेको देखियो । रौतहटको एक मिडियाले भारतको मस्जिदको समाचारलाई त्यही चित्र राखी नेपालको मस्जिदको समाचार भनी प्रकाशित ग¥यो । सेतो टोपी लगाएको मान्छेले फलफूलमा थुकेको पोस्ट सामाजिक सञ्जालमा भाइरल भयो र सबै नेपालीलाई सचेत रहन भनियो । यो भारतमा भाइरल भई गलत पुष्टि भइसकेको भिडियो थियो ।

दिल्लीको निजामुद्दिनमा नेपाली पुग्नु सायद सही समय थिएन । बाह्रै महिना, २४ घन्टा व्यस्त हुने संसारकै सबभन्दा ठूलो मस्जिद ‘काबा’ बन्द भइसकेको थियो । अरू ठुल्ठूला मस्जिदमा भेला हुन रोक लगाइएको थियो । शुक्रबारको अनिवार्य नमाजसमेत घरमा पढ्न आह्वान गरिँदै थियो । काठमाडौं जामे मस्जिदका मुफ्तीले पनि घरैमा नमाज पढ्ने फत्वा दिइसकेका थिए ।

इस्लामी संघ नेपाल, जमिअत अहले हदिस, जमित ओलमा नेपाल, मुस्लिम महिला कल्याण समाजलगायत अन्य सामाजिक संस्थाले सबै कार्यक्रम रोकिसकेका थिए । तर, दुई महिनाअघि सप्तरीमा आयोजित ‘इजतेमा’लाई पनि यसमा जोडियो । हिन्दूको पनि सहयोग प्राप्त सप्तरीको भेला निकै सफल धार्मिक आयोजन थियो । सो समारोहका लागि पटक–पटक मुस्लिम आयोगलाई दोषी ठहर गरियो ।

सरकारले निजामुद्दिनको सम्मेलनमा सहभागीको स्वास्थ्य परीक्षण गराएर सराहनीय काम ग¥यो । तर, यसका लागि मुस्लिम समुदाय जवाफदेही हुनु न्यायोचित भएन । धार्मिक उत्सवमा भेला हुने क्रम चलिरहन्छ । शिवरात्रिको समयमा भएको भए जोगीको समूह भित्रिने थियो । इज्तेमाको समयमा जमातीको आवतजावत त्यत्तिकै स्वाभाविक थियो । मस्जिदमा नै किन बसे भन्ने प्रश्न पनि उठेको छ । धार्मिक कामका लागि आएकाहरू प्रायः मन्दिर, मस्जिद, गुम्बा तथा चर्चमा वा आश्रममै बस्छन् । किनभने ती स्थलमा बसोवास निःशुल्क हुन्छ ।

मुस्लिम समुदायका लागि महामारी आफ्नै देशमा घोर अपमानको कहर सिद्ध भइरहेको छ । तिनको सम्मान, पहिचान, प्रतिष्ठा तथा राष्ट्रियतामै प्रश्न उठाइएको छ । आफ्नै देशमा विनाकुनै कसुर एउटा निश्चित समुदायलाई दोषी ठहर गर्नु कति जायज हो ? सेतो टोपी देखेर तर्सिने वातावरण बनाइयो । भारततिर सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्री सेयर गरेर साथीभाइले मैसँग प्रश्न गर्न थाले । भारतमा मुस्लिमको अवस्था सुन्दा सोच्ने गर्थें, कठै ! कसरी बस्दा हुन् त्यहाँका मुस्लिम भनेर । मेरो देशमा त्यस्तो छैन र हुँदैन पनि भनेर गौरव हुन्थ्यो । तर, मेरै देशले मलाई म नेपाली हुनुअघि मुस्लिम हुँ भन्ने आभास गराउला भन्ने अपेक्षा थिएन ।

जनकपुरमा थुक लगाएको पैसाको नोट फालेर मुस्लिम महिला भागेको खबर भाइरल हुन्छ र महिलाद्वय समातिन्छन् । कोभिड–१९ पोजेटिभ देखिएको अर्को खबर भाइरल हुन्छ । देशकै सबभन्दा दयनीय अवस्थाका महिलाको रूपमा चिनिने मुस्लिम महिला अब संक्रमण फैलाउने ‘देशद्रोही’ हुन पुग्छन् । सम्पूर्ण मुस्लिम समुदाय कोरोनाको मुहानको रूपमा चिनिन थाल्छन् । भोलिपल्ट पुष्टि हुन्छ, ‘महिलाद्वयले बैंकबाट पैसा झिकेर फर्कने क्रममा पैसा खसेको रहेछ ।

उनीहरू संक्रमित पनि रहेनछन् ।’ तर, त्यो असत्य र सत्य खबरबीचको समय मुस्लिम समुदायका लागि कति कठिन थियो ? अनावश्यक स्पष्टीकरण दिनुपर्दा ती कति तनावबाट गुज्रिए ? उदयपुरमा जमातीको प्रसंगमा त्यही कथा दोहोरियो । त्यसअघि पर्साको जालिम मियाँलाई भारतीय मिडियाले कोरोना निर्यातकको पगरी गुथाइदिए । लहैलहैमा केही नेपाली मिडिया र सामाजिक सञ्जाल पनि लहसियो । मुस्लिम समुदायसँग कोरोना बम र कोरोना जिहादजस्ता शब्द जोडिन थालियो । जबकि यी सबै भ्रामक थिए । त्यसैले कुनै पनि समुदायलाई आरोपित गर्नुअघि त्यसको सत्यताको पुष्टि हुन्जेलसम्म गर्ने धैर्यता नै सबैभन्दा ठूलो हतियार हो, फेक न्युजविरुद्ध ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter