शनिबार, १५ बैशाख २०८१

११४औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै, यस्तो छ यसको इतिहास

२५ फाल्गुन २०८०, शुक्रबार १०:३३ मा प्रकाशित

काठमाडौँ- ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसर शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । सोही अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

यसवर्ष ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

यस दिवसको अवसरमा महिला अधिकारका लागि स्थापित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, राजनीतिक दल, महिला समूहलगायतले संगठित रुपमा विभिन्न खालका सचेतनामूलक एवम् सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।

यस्तो छ अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास
महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्राष्ट्रिय महिला दिवसको हो । हरेक वर्ष यही उद्देश्यसहित यो दिवस मनाइन्छ ।

महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द गर्ने पवित्र दिनको रुपमा मार्च ८ लाई लिने गरिएको छ ।

विश्वमा महिलाका लागि अनन्त सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सबलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन् ।

यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो । पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाखभन्दा बढी महिला तथा पुरुषले र्‍याली गरेका थिए ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो । अर्को वर्ष अर्थात् सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे । त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्तर्राष्ट्रिय दिवस भनिन्थ्यो । पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा र्‍याली भएका थिए ।

पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्युयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो । त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए । यो घटनाले उद्योगमा काम गर्ने अवस्था र परिवेशबारे मुख्य परिवर्तनको कारण बन्यो । त्यहि आगलागीमा मारिएका कामकाजी महिलाको सम्झनाको रुपमा पनि अन्तर्राष्ट्रिय महिला दिवस रहने गरेको छ । सुरुका वर्षहरुमा अन्तर्राष्ट्रिय महिला दिवस कामकाजी महिलाको अधिकार र उनीहरुको सबलीकरणका सवालमा केन्द्रित थियो ।

रुसमा पहिलो पटक सन् १९१३ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । मार्च ८ मा महिलाहरुले युद्ध विरुद्ध  र्याली गरे । महिलाहरुले युद्धको समयमा विश्वभरबाट एकताको प्रदर्शन गरे ।

सन् १९१७ को फेब्रुअरी २३ (रुस), पश्चिमी क्यालेन्डरमा भने मार्च ८ का दिन रुसका महिलाले महत्वपूर्ण बन्द आह्वान गरे । यसलाई जार शासन पतनको आधार विन्दु मानिन्छ । त्यसपछिका केही वर्ष पूर्वी युरोप र सोभियत युनियनमा मार्च ८ को दिन सार्वजनिक बिदा हुने ग¥यो । बिस्तारै यो दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार्य हुँदै गयो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला वर्ष मनाइयो । त्यसपछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रुपमा महिला अधिकारको उत्सवको रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दियो । यो दिनलाई संयुक्त राष्ट्रसंघले ‘महिला अधिकारका क्षेत्रमा भएका प्रगतिको परिदृश्य दर्शाउन, परिवर्तनका लागि आह्वान गर्न र उत्प्रेरणा प्रदान गर्ने खालका कानुनको सम्मान गर्न तथा सामान्य महिलाले देखाएको लगनको जसले महिला अधिकारको इतिहासमा अतुलनीय योदान गरेका छन्, त्यो देखाउन’ मनाइने दिनको रुपमा उल्लेख गरेको छ ।

सन् २०११ मा अन्तर्राष्ट्रिय महिला दिवसको १०० वर्ष पूरा भएको अवसरमा विश्वभर विविध कार्यक्रम भए । त्यसपछिका वर्ष अन्तर्राष्ट्रिय महिला दिवसले थप सघन रुप लिइएको छ ।

संयुक्त राष्ट्रसंघले तय गरेको दीगोविकास लक्ष्य २०३० मा महिलामाथि महिला भएकै कारण हुने सबैप्रकारका हिंसा वा विभेद अन्त्य गर्ने लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलावादी आन्दोलनको जन्मदाताको रुपमा पनि लिने गरिएको छ । विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेदविरुद्ध बोल्ने दिनको रुपमा लिने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter