शनिबार, १५ बैशाख २०८१

राष्ट्रपतिको चुनाव माघ २९ गते अघि नै हुनुपर्ने, बढ्यो मतभार

२६ मंसिर २०७९, सोमबार २२:१२ मा प्रकाशित

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन बाँकी छ। २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल पाँच वर्ष आउँदो फागुन २९ गते सकिँदैछ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै दुवै पदका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ। दलहरु कसलाई भावी राष्ट्रपति र उपराष्ट्रपति बनाउने भन्ने विषयमा घनिभूत छलफलमा छन्।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा ४ ले राष्ट्रपति र ५ ले उपराष्ट्रपतिको चुनाव एक महिनाअघि नै सम्पन्न गर्नुपर्ने भनेको छ।

ती दफामा भनिएको छ, ‘आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ।’

२०७४ फागुन २९ गते निर्वाचन आयोगले चुनाव गरेर मतपरिणाम सार्वजनिक गरेको थियो। संविधानको धारा ६३ ले निर्वाचित भएको मितिदेखि नै पाँच वर्षे कार्यकालको गणना हुने जनाएको छ।

‘राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ, धारा ६३ मा भनिएको छ। त्यस हिसाबले आउँदो माघ २९ गते भन्दा अघि नै राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने तयारी आयोग गर्नुपर्नेछ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि मतदाता (निर्वाचक मण्डल) भनेका संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्य ३३४ र प्रदेशसभाका सदस्य ५५० जना हुन्। दुवैतर्फका गरी ८८४ मतदाता हुन्छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन काठमाडौँमै गर्ने जनाकारी दिए। उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव काठमाडौँ मै हुन्छ। मतदाताहरु यहीँ आएर मतदान गर्नुहुन्छ। अब चुनाव कहिले भन्नेबारे हामी छलफल गर्छौँ।’

बढ्यो मतभार

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा मतदाताको मतभार यसपटक बढेको छ। पाँच वर्षअघि २०६८ सालमा भएको जनगणनाको जनसंख्याका आधारमा मतभार कायम गरिएको थियो।

यसपटक गत वर्ष २०७८ सालमा नयाँ जनगणना भएकाले त्यसकै आधारमा मतभार कायम हुने व्यवस्था कानुनले गरेको छ। अघिल्लोपटक संघीय संसदका एकजना सदस्यले हालेको मतको गणना ७९ (मतभार) गणना भएको थियो भने प्रदेशसभा सदस्यको मतभार ४८ कायम भएको थियो। यसपटक त्यो बढेर ८७ र ५३ हुने भएको छ।

यस्तो छ मतभार निकाल्ने सूत्र

 

 

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सम्बन्धी ऐनले संघीय संसदका सदस्यको मतभार गणना गर्दा पछिल्लो जनगणनाको कुल जनसंख्यालाई ३३४ ले भाग गर्दा आउने भाग फललाई १००० ले गुणन गरेर आउने संख्याको पहिलो दुई संख्या हुने व्यवस्था गरेको छ।

२०७८ सालमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ। जसले गर्दा यसपटक राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा संघीय संसद सदस्यको मतभार ५३ हुने भएको हो।

त्यस्तै प्रदेशसभातर्फ पनि पछिल्लो जनगणनाको कुल जनसंख्यालाई ५५० ले भाग गर्दा आउने भाग फललाई १००० ले गुणन गरेर आउने संख्याको पहिलो दुई संख्या हुने व्यवस्था गरेको छ। त्यसअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ हुनेछ।

यसपटक राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा मतभार जम्मा ५८ हजार २०८ हुनेछ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा तत्काल कायम रहेको मतको कम्तिमा ५० प्रतिशत भन्दा बढी ल्याउनुपर्छ। जसअनुसार निर्वाचित हुनलाई २९ हजार १०४ मतभार भन्दा बढी ल्याउनुपर्छ। यदि त्यति नल्याएमा बढी मत पाउने दुई उम्मेदवारबीच पुनःचुनाव हुनेछ।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायको हुनुपर्नेछ। मनोनयन दर्ता गर्दा पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter