शनिबार, १५ बैशाख २०८१

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ‍- आफूसँग हुँदा इमान, अर्कोसँग जाने बित्तिकै बेइमान हुँदैन

२४ फाल्गुन २०८०, बिहीबार २२:३४ मा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राजनीतिक बेइमानी नगरेको बताए । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

उनले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताए । उनले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताए ।

आफूसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने उनले बताए । उनले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्ने बताए ।

‘कसैलाई मेरो कदम अस्थिर लाग्नसक्छ । भर्खरै मैले समाचारमा पढेँ, नेपाली काँग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पनि मैले पढेँ । मेरो राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले मैले यो कदम सोचि, विचारेर नै चालेको छु । मैले भनिसकेको छु । यसलाई इमान र बेइमानको भन्दा राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित होला । म संसदमा भएका कुनैपनि दलसँग अविश्वास, आशंका र घृणा होइन हामी फेरीपनि सँगै राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नु छ ।’उनले भने,’आफूसँग हुँदा इमान, अर्कोसँग हुँदा जानेबित्तिकै बेइमान भन्ने हुँदैन । यो राजनीतिक परिस्थिति, राजनीतिक मुद्दामा निर्भर रहने कुरा हो । त्यसकारण म सोझो भाषामा भन्न चाहन्छु राजनीतिमा केही आशंका पैदा भएपछाडी यो अवस्था आएकै हो । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको अहिले मलाई साथ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व रहेको छ । सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरुसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतिपूर्ण बाटो उहाँहरुले रोज्नुभएको छ । मेरो नेतृत्वप्रति उहाँहरुको भरोसालाई एउटा ठूलो जिम्मेवारी ठानेको छु ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफूप्रतिको जिम्मेवारी ठानेको बताइन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter