मङ्गलबार, ०६ चैत २०८०

यी हुन् नेपाल र चीनबीच भएका ९ वटा सहमति

१२ चैत्र २०७८, शनिबार २१:०७ मा प्रकाशित

काठमाडौँ- नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा भएको द्वविपक्षीय भेटघाटका क्रममा दुई देशबीच नौ वटा सहमतिमा हस्ताक्षर भएको छ।

समारोहमा नेपाल र चीनबीच आर्थिक र प्राविधिक सहयोगको सहमति भएको छ। त्यस्तै, चीन र नेपालबीच चिनियाँ सहयोगमा रेलमार्गको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा पनि हस्ताक्षर भएको छ। अर्थसचिव मधु मरासिनी र चिनियाँ राजदूत होउ याङ्छीले यी दुई सहमतिमा हस्ताक्षर गरेका थिए। चीनले नेपाललाई वार्षिक दिँदै आएको अनुदान राशि बढाएर १५ अर्ब रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, चीन र नेपालबीच ऊर्जा आदानप्रदान गर्न ४०० केबीको प्रसारण लाइन बनाउनेबारे सम्भाव्यता अध्ययन गर्ने अर्को सहमति भएको छ। उक्त सहमतिमा ऊर्जा सचिव देवेन्द्र कार्की र चिनियाँ राजदूत याङ्छीले हस्ताक्षर गरेका थिए। उक्त सहमतिअनुसार नेपाल र चीनबीच १४९ किलोमिटर लामो प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन हुनेछ।

त्यस्तैं नेपाल र चीनबीच घाँस निर्यातको सुरक्षा र स्वास्थ्य मापदण्डबारे अर्को सहमति भएको छ। उक्त सहमतिमा कृषि सचिव निरु दाहाल पाण्डे र चिनियाँ राजदूत याङ्छीले हस्ताक्षर गरेका थिए।

नेपालमा उत्पादन भएका वस्तुहरुमा भन्सार छुटको अर्को सहमति भएको छ। वाणिज्य सचिव गणेशप्रसाद पाण्डे र चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए।

त्यस्तै अरनिको राजमार्गको दीर्घकालीन मर्मत परियोजनाको तेस्रो चरणबारे अर्को सहमति भएको छ। सहमतिमा भौतिक पूर्वाधार तथा यातायात सचिव रवीन्द्रनाथ श्रेष्ठ र चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालय र चिनियाँ राष्ट्रिय रेल विभागबीच द्विदेशीय रेलसम्बन्धी सहयोगबारे भएको सातौँ बैठकको माइन्युट पनि हस्ताक्षर भएको छ।

त्यस्तै स्वास्थ्य सचिव रोशन पोखरेल र चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङबीच हस्ताक्षर भएको अर्को सहमतिमा चीनले नेपाललाई दिएका ४० लाख कोरोना भ्याक्सिनबारे उल्लेख छ।

त्यस्तै, बीपी कोइराला क्यान्सर प्रतिष्ठानमा चिनियाँ विशेषज्ञ मेडिकल टिम पठाउने सहमतिमा पनि हस्ताक्षर भएको छ।

हस्ताक्षर कार्यक्रममा चीनका सहायक विदेशमन्त्री वु जिआङ्‌घावो, परराष्ट्रसचिव भरतराज पौड्याल, चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङ, चिनियाँ राजदूत होउ याङ्छीलगायत उपस्थित थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको द्विपक्षीय भेटपछि चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका छन्।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter