बिहिबार, १३ बैशाख २०८१

महामारीको बेला, फुट्ने होइन जुट्ने बेला: जीव प्रसाद पोखरेेल

१३ बैशाख २०७७, शनिबार १०:३१ मा प्रकाशित

🖋️जीव प्रसाद पोखरेेल

वर्तमान समयमा कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएको छ । चीनबाट शुरु भएको भाइरसको संक्रमणले अहिले महामारीको रुप लिई विश्वका २१० वटा मुलुकका झण्डै २७ लाख मानिसहरु सम्म फैलिसकेको छ । यसको संक्रमणले १ लाख ७० हजारभन्दा बढीको ज्यान लिएको छ भने करिब ७ लाख जति संक्रमण मुक्त हुन सफल भएका छन् । यस अघि मुलुकहरु महामारीबाट संक्रमित हुने नगरेका होइनन् । समय समयमा हुने गरेको औलो, बिफर, डेंगु, सार्स, इबोला जस्ता रोगहरुको महामारीबाट लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता हासिल गरेको दाबी गरेका मुलुकहरु र सुविधा सम्पन्न स्वास्थ्य सेवा उपलब्ध भएका युरोपीयन र अमेरिकी राष्ट्र नै यस कोरोना भाइरसको महामारीबाट बढी आक्रान्त भएका छन् । ती विकसित देशहरुमा संक्रमित र मृत्यू भएकाहरुको संख्या करिब ७० प्रतिशत जति रहेको छ ।
कुनै रोग वा महामारी कुनै जाति, धर्म, समुदाय, क्षेत्र वा राष्ट्रलाई लक्षित गरी फैलिने होइन न त त्यस्तो रोग वा महामारीका संबाहकका रुपमा विशेष जाति, वर्ग, समुदाय वा धर्मावलम्बी नै हुन सक्छ । यस्ता महामारी र प्रकोपले न त धनी, गरिब हेर्छ न त वर्ग, समुदाय नै । रोग विरुद्धको खोप र औषधीे पत्ता लगाउन नसकेको कोरोना भाइरस जस्ता रोगको महामारीबाट बच्ने एउटै मात्र उपाय सचेतना, सतर्कता, सफाई, आचरणशुुद्धी, आत्मबल बृद्धि, धैर्यता कायम गर्नु नै हो ।

वर्तमान समयमा विश्व नै विषम र कठिन परिस्थितीबाट गुज्रिरहेको छ । यसबाट विश्वका लगभग सबै राष्ट्रहरु पिडित छन् । त्यसैले सबै जातजाति, धार्मिक समुदाय र राष्ट्र एकजुट भएर यस महामारी विरुद्ध लड्ने समय हो । विश्वका धेरै राष्ट्रहरु बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । कतिपय राष्ट्रहरु एक महिनाभन्दा बढी अवधीदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय आवतजावत बन्द गरेर महामारी विरुद्ध लडिरहेका छन् । महामारी विरुद्धको यस लडाईमा जाति, धार्मिक समुदाय र भौगोलिक सीमा घेराबाट बाहिर निस्किएर सारा विश्व नै एकजुट हुन आवश्यक छ । जाति, धर्म, वर्ण, रंग र राष्ट्रले एक अर्कोलाई दोष दिएर महामारीमा घृणित राजनैतिक खेल खेल्न थालेमा यस महामारीले विश्वलाई नै थला पार्नेछ र मानव ठूलो संकटमा पर्नेछ ।
विश्वका अन्य मुलुक झै नेपाल पनि कोरोना भाइरसको महामारीबाट अछुतो रहन सकेन । विश्व नै एक गाउँको रुपमा रहेको वर्तमान समयमा एक राष्ट्रबाट अर्को राष्ट्र र एक स्थानबाट अर्को स्थानमा हुने मानिसको आवतजावतसँगै कोरोना भाइरसको संक्रमण पनि नेपाल भित्रिएको हो । यो संक्रमण जसमा पहिले देखियो उसलाई यसको दोषी ठान्नु वा कुनै विशेष जाति वा धार्मिक समुदायको ब्यक्तिमा देखिएको आधारमा त्यो पूरै जाति वा समुदायलाई दोषी ठहर गर्नु कदाचित बुद्धिमानी र विवेकशिलता हुदैन । संक्रमणको दोष कुनै जाति वा धार्मिक समुदायमाथि थुपार्नु अघि भोलि अर्को संक्रमण आफू वा आफ्नो जाति वा धार्मिक समुदायबाट शुरु भयो भने त्यो बेला अरुले कस्तो ब्यबहार देखाउलान् र आफ्नो मानसिक अवस्था के होला भन्ने कुरामा हेक्का राख्न जरुरी छ ।
सरकारले २०७६ चैत्र १० गते मन्त्री परिषदबाट निर्णय गरी चैत्र ११ गते मंगलबारदेखि देशभर एकैचोटी लकडाउन गर्यो र सम्पूर्ण नागरिकलाई जो जहाँ छ त्यही सुरक्षित रहन आह्वान गर्यो । करिब १२–१४ घण्टाको पूर्व जानकारीमा अकस्मात देश लकडाउन हुन पुग्यो । सम्पूर्ण यातायात सेवा, कलकारखाना, ब्यापार ब्यबसाय बन्द हुन पुगे । त्यसैले लाखौँ मानिसहरु जो आफ्नो थातथलो छोडेर विभिन्न पेशा व्यवसाय र अन्य कार्य लागि अन्यत्र गएका थिए उनीहरु त्यही बस्न बाध्य भए । महामारी फैलिन नदिनको लागि सरकारले गरेको लकडाउन एउटा बाध्यकारी कार्य थियो । यसले गर्दा लाखौँ मानिसहरु जहॉ थिए महामारीबाट सुरक्षित रहन त्यही बस्न बाध्य भए । बाहिरबाट यहॉ आएका विदेशी, विदेशमा रहेका नेपाली सबैलाई लकडाउनको असर पर्यो । लकडाउनको कारणले गर्दा विभिन्न उद्देश्यका साथ देश बिदेश र आफ्नो स्थानवाट अन्यत्र गएका सबै मानिसहरु जहाँको तहिं हुन पुगे । यसै क्रममा धार्मिक उद्देश्यले हिडेका हिन्दु, मुस्लिम, बुद्धिष्ट, सिख सबै आफू पुगेको स्थानमा नै रोकिन पुगे । स्मरण रहोस मुस्लिमहरुमा धार्मिक तथा नैतिक ज्ञान आदान प्रदान गर्ने उद्देश्यले स्वदेश तथा विदेशबाट आएका व्यक्तिहरु सहजताको लागि प्राय मस्जीदमा नै बस्ने गर्दछन् । यस्तै कार्यको सिलसिलामा हिडेका तब्लीगी जमातका मुस्लिमहरु नेपालका केहि मस्जिदमा फस्न पुगे । सरकारले गरेको आह्वान अनुसार उनीहरु जहाँ पुगेमा थिए त्यहाँबाट बाहिर निस्कन नपाई त्यहिं रहन बाध्य भए । त्यस्ता व्यक्तिहरुमध्ये विदेशमा भाइरसबाट संक्रमित भई आएका व्यक्तिको संसर्गमा रहेका मुस्लिम संक्रमित हुन पुगे जुन परिक्षणबाट पत्ता लाग्यो ।
यस घटनालाई लिएर भारतीय संचार माध्यम र सामाजिक संजालका प्रयोगकर्ताहरुले जस्तै पीत पत्रकारिताको अति तल्लो स्तरमा झरेर नेपालका केही विद्युतीय संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्ताहरुले कोरोना भाइरसलाई धार्मिक रंग दिन थालेका छन् । कोहि व्यक्ति कोरोना भाइरसवाट संक्रमित भइहालेको भए उसको व्यक्तिगत परिचय समेत गोप्य राख्नु पर्ने मान्यता रहेकोमा कोरोना भाइरसलाई मुस्लिमसंग जोडेर सारा मुस्लिम समुदाय कै बदनाम गर्दै धार्मिक सदभाव भड्काउने प्रयत्नमा ती ब्यक्तिहरु लागेको देखिएको छ । कोरोना संक्रमित मुस्लिमहरु मस्जिदमा लुकेर बसेको र कोरोना संंक्रमित मुस्लिम महिलाले पैसामा थुक लगाएर छर्दै देशमा कोरोनाको संक्रमण फैलाउन खोजेको जस्ता नितान्त भ्रामक, कपोलकल्पीत समाचार संप्रेषण गर्दै सामाजिक र धार्मिक सद्भावका साथ बसेका नेपालीहरुको ध्यान मोड्न खोजेको र महामारी बिरुद्धको लडाईमा रोकावट उत्पन्न गर्न खोजेको आभास भएको छ । तर मुस्लिम विरुद्ध भारतीय संचार माध्यम र तिनका नेपाली भक्त साना तिना अनलाइन संचार माध्यम तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले जतिसुकै प्रपोगण्डा मच्चाए पनि नेपालका ठूला र प्रतिष्ठित संचार माध्यमले भने निस्पक्ष र विवेकपूर्ण ढंगवाट समाचार संप्रेषण गरिरहेका छन् । यसको लागि ती संपूर्ण संचार माध्यमहरुलाई धन्यवाद ज्ञापन गर्नै पर्छ । नेपाल बहुधार्मिक र बहुजातीय राष्ट्र हो । सदियौँदेखि हिन्दु, मुस्लिम र बौद्धमार्गीहरुबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहिआएको छ । विश्वमा नदेखिने अनुपम धार्मिक सहिष्णुता र सद्भाव नेपालमा छ । यहाँ अन्य राष्ट्रमा झै जातीय र धार्मिक द्वन्द कदाचित भएको छैन । मस्जिदसँगै मन्दिर बनाएको, बौद्ध चैत्यसँगै मस्जिद बनाएको, मस्जिदसँगै राजदरबार बनाएको, हिन्दु धार्मिक कार्यको लागि आवश्यक सामाग्री मुस्लिम ब्यापारीहरुले उपलब्ध गराउने गरेको उदाहरणबाटै नेपालमा धार्मिक सहिष्णुताको स्तर कति उच्च छ भन्ने कुरा प्रष्ट हुन्छ । अल्पसंख्यक भएर पनि विपत्तिको समयमा मुस्लिम समुदायले पिडितोद्धार र राहतमा कति ठूलो योगदान पूर्याउने गर्छन् भन्ने कुरा पछिल्ला घटनाहरुबाट प्रष्ट हुन्छ । २०७२ सालको भूकम्पमा मुस्लिम समुदाय नै सबभन्दा पहिले पिडितसम्म राहत र उद्धारको लागि पुगेको थियो । उक्त समयमा सरकारपछि सबभन्दा बढी पिडितहरुलाई राहत सामाग्री र औषधी उपचार सेवा मुस्लिम समुदायले नै पुर्याएको कुरा सबैलाई जगजाहेर नै छ ।
अहिलेको विषम परिस्थितिमा महामारी फैलने भयले गर्दा रोजगार गुमेका र अन्य पिडितहरुलाई राहत पूर्याउन कठिनाइको बावजुद पनि आ–आफ्नो क्षेत्रमा मुस्लिम समुदायले राहत बाँडिरहेका छन् जुन अत्यन्तै प्रशंसनीय कार्य हो । विपत परेको बेला यति ठूलो योगदान दिने शान्ति प्रेमी मुस्लिम समुदायलाई बदनाम गर्ने प्रयत्न जुन पनि व्यक्ति वा समुहबाट भइरहेको छ, त्यो अत्यन्तै भत्र्सना लायक र घृणित कार्य हो

हामी सबैलाई थाहै छ, कोरोना भाइरसको उद्गम स्थल चीन हो जहाँ बौद्धमार्गीहरु छन् । यसपछि सबैभन्दा प्रभावित मुलुक अमेरीका, इटाली, स्पेन, फ्रान्स, जर्मनी, बेलायत हुन् जहाँ अधिकतम क्रिश्चियनहरुको बसोबास रहेको छ । नेपाल, भारत लगायतका देशमा तिनै चीन, अमेरिका र युरोपियन मुलुकवाट आएका मानिसमा कोरोना भाइरस देखिएको हो र तिनैवाट अरुमा संक्रमण फैलिएको हो । तर न मुस्लिमले न क्रिश्चियन र न बौद्धमार्गीले कोरोना भाइरसको दोष एक अर्कोलाई लगाए । मुस्लिमले त कहिल्यै भनेको छैन बौद्धमार्गी वा क्रिश्चियन वा हिन्दुले कोरोना भाइरस फैलायो भनेर । बिडम्वनाको कुरा भारतीय र केहि नेपाली दाजुभाईहरुले मुस्लिमलाई कोरोनाको संबाहक भएको अफवाह फैलाउने दुस्साहस गरिरहेका छन् । हाम्रा केहि दाजुभाईहरु मात्र यस्तो समूहको रुपमा देखिए जसले मुस्लिम माथि मानवताहिन ब्यबहार देखाइरहेको छ । यो कार्य गर्ने त्यस्ता व्यक्तिहरु हुन् जो देशमा धार्मिक सदभाव खल्बल्याउन चाहन्छन्, धार्मिक समुदायहरु बीचको भाइचारा तोड्न चाहन्छन्, शान्तिमा खलल पूर्याउन चाहन्छन्, महामारी विरुद्ध एकजुट भएर लागेको अवस्थाको अन्त्य गर्न चाहन्छन् । त्यसैले यस्ता विकृत मानसिकता भएका कोरोनाभन्दा पनि घातक भाइरसका रुपमा रहेका ब्यक्ति वा समुहलाई बहिष्कृत गर्दै कोरोना भाइरस विरुद्धको लडाइमा एकजुट होऔँ, लकडाउनकोे कारणले गर्दा रोजगारी गुमाई दैनिक गुजारा गर्ने कठिनाईमा परेका ब्यक्ती-परिवारलाई आबश्यकीय सामाग्रीले सहयोग गरौं, संक्रमित व्यक्तिहरुको मनोबल उठाउन उनीहरुलाई हौसला प्रदान गरौं । यस्तो फुट र बैमनश्यता ल्याउने , धार्मिक द्वन्द निम्त्याउन खोज्ने कुतत्वहरुको पहिचान गरी सरकारले सख्त कारबाही गरोस । कोरोना भाइरस फैलनवाट देशका नागरिकहरुलाई बचाउन सरकारले हालसम्म निभाएको भूमिका सहृानीय छ । आगामी दिनमा कोरोना भाइरस र समाजलाई बिखण्डन गर्न खोज्ने मानवरुपी घातक भाइरसलाई समेत निस्तेज पार्न अझ सशक्त कदम चालोस । बन्दाबन्दीको कारणले अलपत्र परेका नागरिकहरुलाई तुरुन्त राहतको यथोचित बन्दोबस्त मिलाओस, राहतमा राजनीतिकरण नगरोस, मानव संवेगले काम लिओस ।
सरकारले गरेको लकडाउनको पालना गरौँ ।
घरैमा बसौँ, महामारीबाट सुरक्षित रहौँ ।
आफूमा संक्रमणको आशंका भएमा चिकित्सकसंग सम्पर्क रार्खौ ।
आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।
संयमता र धैर्यता अपनाऔं ।
अफवाहको पछि नलागौ, विवेक प्रयोग गरौं ।
देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा म यही अपिल गर्दछु ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter