बिहिबार, १५ चैत २०८०

मस्जिद-मद्रसामा “लुकेका” भन्ने शब्द कत्ति पनि मैले पचाउँन सकिन

३ बैशाख २०७७, बुधबार ०८:२१ मा प्रकाशित

मोहम्मद शाहिद अलि।

कृपया ! सबै कुरा त पच्ला तर, मस्जिद-मद्रसामा “लुकेका” भन्ने शब्द कत्ति पनि मैले पचाउँन सकिन । कसैले आफु काेराेना भाइरसले संक्रमित बनाैं भन्छ ? या कसैलाई साराैं भन्ने साेच राख्न सक्छ ? जबकि आफू संक्रमित नभएसम्म अरूलाई सार्न सकिदैन । यसबाट कसलाई के फाइदा पुग्छ ? अचम्म लाग्ने ! कति तुच्छ मानसिकता ? आराेप पनि थाेरै पाच्य र, सुहाउने लगाउनुस् न ?

१०-२० जना एकै ठाउँमा बस्नुका धेरै कारण हुन सक्छन् । जस्तै सरकारले अकस्मात् जहाँ हुनुहुन्छ त्यहीं बस्नुस् भन्ने निर्देशन मात्र जारी गरेन घरबाट बाहिर निस्कन समेत दिएन, यातायातमा समेत पूर्ण राेक लगायाे । त्यसैले धेरै ठाउँमा चाहँदा नचाहदै मानिस फस्सिए । त्यसरी नै मानाैं कहिं १०-२० जना अचानक फस्सिए, फस्सिएकाे ठाउँमा कसैलाई विरामीकाे लक्षण नै देखिएकाे छैन भने काेही क्वारेन्टाइनमा जान्छ ? के हामी एकै घरमा १० जनाभन्दा माथी संख्यामा बसेका छैनाैं ? हाे ! सरकारले लकडाउन पूर्व ५ जना भन्दा धेरै भिंड नगर्नुस्, धार्मिक कार्यक्रम नगर्नुस्, भाेज भतेर नलगाउनुस् भन्याे । तर, के कुनै धर्मशाला खालि गर्नुस् भनेर निर्देशन जारी गरेकाे थियाे ? कदापी थिएन । कतिपय मद्रसा धर्मशाला जस्तै छन् । जहाँ सामान्य अवस्थामा सयाैं जना पनि बस्दछन् । त्यसरीनै बसेकाहरू फस्सिए । तर, ठूलाे संख्यामा कहिं कतै भेटिएनन् । त्यही १०-२० जनाकाे संख्यामा फस्सिएका भेटिए । १०-२० जना एक ठाउँमा हुनु यसलाई सामान्य मानिन्छ र, उनीहरूले पनि सामान्य माने । याे निर्देशन पालना थियाे, उल्लंघन थिएन । किनकि त्याे धार्मिक कार्यक्रम थिएन । थियाे भने पनि ठूलाे अपराध हैन । जाने अन्जानेमा भएका मानवीय गल्ती हुन् । गाउँ घरमा १० भन्दा माथी जम्मा भएका छैनन् ? नेपालमा ४००० भन्दा बढ़ी भेला भएर पर्व मनाएनन् ? भक्तपुरमा काेराेनाले पर्व मनाउँन राेक्याे ? याे त सरासर लकडाउन उल्लंघन थियाे । तर, उहाँहरूलाई अपराधीकाे रूपमा त चित्रण गरिएन ?

हामी ४ परिवारका लगभग १५ जना एकै ठाउँमा फस्सियाैं । म र, मेरा मित्र पूर्वराज्यमन्त्री ज़ाकिर हुसेन सिडियाे र, गृहमन्त्रालय जाँदा समेत घर जाने पास पाएनाैं । हामी त्यत्रा मान्छे एकै ठाउँमा बस्न चाहेका थिएनाैं । सरकारले ज़बर्दस्ती मलाई त्यहीं बस्न भन्याे । अहिले जुक्ति लगायर तीन परिवार अलग भयाैं । त्यसलाई के भन्नु हुन्छ ? कुनै धर्मशालामा वा मस्जिद, मद्रसामा महिनाैंदेखी बस्दै आएका मुसलमान मात्र किन अपराधी बन्दै छन् ? के काठमाण्डाैका सडकमा अलपत्र परेका हजाराैं जनालाई घर जाने अनुमति दिइयाे ? सयाैंकाे जत्था, सयाैं किलाेमिटर हिंडेर घर जान बाध्य भए । के उनीहरू अपराधी थिए ?

हाे ! कुनै संक्रमण फैलिएकाे देशबाट आएका चाहे मुसलमान हाेस् वा अन्य धर्मावलम्बी उनीहरूले स्वास्थ्य परिक्षण या क्वारेन्टाइनमा बस्नु पर्ने हुन्थ्याे र, हुन्छ । हामी व्यक्तिगत रूपमा, विभिन्न मुस्लिम संघ संस्था यहाँसम्म कि मुस्लिम आयाेगले समेत परिक्षण गर्न, क्वारेन्टाइमा बस्न अपील गरेकाछाैं । देशलाई बचाउने चिन्ता हामीलाई पनि छ । त्यसाे गर्दैनन्, लकडाउनकाे उल्लंघन गर्छन् भने नि:संदेह क़सूरवार हुन् । तर, यहाँ त महिनाैंदेखि कहिं १०-२० जना बसेका रहेछन् र, फस्सिएका काेही मुसलमान रहेछन् भने उनीहरूसँग अपराधीकाे व्यवहार गरिंदैछ । जाे घाेर निन्दनीय छ ।

काठमाण्डाैकाे अपार्टमेंटमा ३ जना संक्रमित भेंटिए, के ति अपराधी हुन् ? जमाती अर्थात् मुसलमानमा भेटिनु नै अपराध हाे ? मुसलमानले ४०-५० जना संक्रमित भारत पठायाे पठायाे भन्दै; मिथ्या आराेपका साथ अपराधि बनाउँदा हाम्राे राज्य माैन बस्छ । “अपराधकाे कस्ताे परिभाषा गरिंदैछ ? कृपया ! यस्ता विभाजित मानसिकताबाट देशलाई बचाउँने हामी सबैकाे दायित्व हाे । हेक्का रहाेस् काेराेवाले जात चिन्दैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter