शुक्रबार, ०७ बैशाख २०८१

आन्तरिक पर्यटकको गन्तव्यस्थल बेलढुङ्गा

धु्रबसागर शर्मा

७ कार्तिक २०७६, बिहीबार १४:४० मा प्रकाशित

गलेश्वर, ७ कात्तिक  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ । बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका–३ धम्जाबीच बेलढुङ्गामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको छ । समुद्री सतहदेखि दुई हजार ६१८ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि शृङखलाका १२ ओटा हिमश्रृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँहरु, वनजङ्गल, जङ्गली जनावर र पक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । त्यसका साथै यहाँबाट धौलागिरि क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु, बाघ, भालु, चितुवा लगायतका वन्यजन्तु, डाँफे, मुनाल, वनकुखुरो लगायतका पक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्छ । पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका भकिम्लीस्थित स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो । चारैतिर घना जङ्गल, जङ्गलको बीचभागमा चेप्टो बेल आकृतिको विशाल ढुङ्गा रहेकोले यस स्थानलाई बेलढुङ्गा नामाकरण गरिएको छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष यामबहादुर श्रीषले बताउनुभयो । उहाँका अनुसार बेलढुङ्गामा पूर्वाधार निर्माण र विकासका लागि दुई जिल्लाका दुईवटै वडाको समान योगदान रहेको छ । “हामीले बेलढुङ्गाको तल्लोपट्टि करीब २०० मिटरको दूरीमा रहेको बेसी चौतारीसम्म मोटरबाटो पु¥यायौँ भने भकिम्लीका वडाध्यक्ष पदम पुनज्यूले स्वर्गाश्रमसम्म मोटरबाटो र त्यहाँदेखि माथि पदमार्ग निर्माण गर्नुभयो”, उहाँले भन्नुभयो । धम्जाका वडाध्यक्ष श्रीषले भन्नुभयो, “बाँकी रहेका भौतिक पूर्वाधारको निर्माणमा पनि दुई जिल्लाका दुवै वडाको समान सहभागिता र समान स्वामित्व रहने छ ।” बेलढुङ्गा प्राकृतिक सौन्दर्य अवलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुङ्गा नजिकै रहेको १२ वर्षसम्म स्वर्गाश्रममा ध्यान र आध्यात्मिक चिन्तन गरेर बस्नुभएकी तपस्वीनि ईश्वरानन्द सरस्वतीले बताउनुभयो । “नाम सुनेको थिए तर यति आनन्द आउने ठाउँ होला भनेर कल्पना पनि गरेको थिइन”, पहिलो पटक बागलुङको लामेलाबाट बेलढुङ्गामा आएका दीपक घर्तीले भन्नुभयो, “यहाँबाट हिमाल, पहाड, गाउँबस्ती, वनजङ्गल, नदी झरना, बजार, वनस्पति, वन्यजन्तु र सूर्योदय तथा सूर्यास्तको दृश्य एकैठाउँबाट देख्न सकिने रहेछ ।” बँेसी चौतारीदेखि बेलढुङ्गाको शिरसम्म पदमार्ग एक वर्ष अघिसम्म बेलढुङ्गाको फेदमा रहेको बेँसी चौतारीदेखि बेलढुङ्गाको शिरमा पुग्न निकै जोखिम थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिँदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो । तर अहिले सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि निकै सहज भएको छ । म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेँसी चौतारीसम्म वेनी नगरपालिका–३ को करीब चार लाख र त्यहाँदेखि बेलढुङ्गासम्म दुवै वडाको रु दुई÷दुई लाखको गरी करीब आठ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करीब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्न सकिन्छ । हुन त अग्ला अग्ला पहाड आफँैमा प्राकृतिक भ्यूटावर हुन् । त्यहाँसम्म पुग्न सक्ने हो भने दृश्यावलोककनका लागि कुनै अन्य माध्यमको आवश्यकता पर्दैन । तैपनि आनन्दले बसेर प्राकृतिक सौन्दर्यको रसस्वादन गर्नका लागि दुवै वडाले संयुक्त लगानीमा बेलढुङ्गाको शिखरमा भ्यूटावर निर्माण गर्ने योजना बनाएका छन् । “बेलढुङ्गामा आउने पर्यटकहरुले सुविस्ताले बसेर दृश्यावलोकन गर्नका लागि भ्यूटावरको चाहना राखेका छन्, काठेखोला तीन धम्जाका वडाध्यक्ष श्रीषले भन्नुभयो, “ ‘पर्यटकहरुको चाहनालाई मध्यनजर गर्दै भ्यूटावर निर्माण गर्ने योजना बनाएका हौँ ।” श्रीषको भनाइसँग बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुन पनि सहमत हुनुहुन्छ । नगरपालिकाले वडालाई सीमित बजेट दिने हुँदा हामीले पर्यटन विकासमा धेरै लगानी गर्न सकेका छैनौँ, उहाँले भन्नुभयो, “ तै पनि आगामी आर्थिक वर्षमा अरु क्षेत्रमा कटौती गरेर भए पनि पर्यटन विकासको क्षेत्रमा केही बढी काम गर्ने छौँ ।” म्याग्दी र बागलुङ जिल्लाको साँधमा रहेको महत्वपूर्ण पर्यटकीयस्थल बेलढुङ्गाको विषयमा दुवै जिल्लाका दुईवटै वडावासीका बीचमा सौहार्दपूर्ण सम्बन्ध रहेको छ । दुवै वडाले समान योगदान दिने र त्यसको प्रतिफल पनि समानरुपमा लिने दुवै जिल्लाका दुईवटै वडाका बासिन्दा र जनप्रतिनिधिबीच सम्झौता भएको छ । वडाध्यक्ष पुन भन्नुहुन्छ , “सीमाको विषयलाई लिएर हामीहरु (दुई वडाका प्रतिनिधि) बीच कहिल्यै पनि कुनै किसिमको विवाद भएन । प्रकृतिको अनुपम उपहार यस्ता सम्पदाबाट सबैले लाभ लिनुपर्छ भन्ने हाम्रो मान्यता रहेकाले दुवै वडा मिलेर यसको विकासमा लागेका हौँ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter