बहुसंख्यक नेपालीका घर–घरमा दूर्गामाताको पूजा–आराधना भइरहेको छ । नारीलाई देवी मानेर अनुष्ठान चलिरहेकै बेला एउटी अवला नारी रोशनी शाही घोर अन्यायमा परेकी छिन् । नाम रोशनी भए पनि उनको चमक हराएको छ । हाँस्न सकेकी छैनन् । रुन पनि सकेकी छैनन् । बाँचौं, बाँच्ने आधार भत्किएको छ । मरौं, नेपालको कानूनले मर्न दिँदैन ।
एउटी अवलालाई यसरी घर न घाटको बनाउने लघुपुरुष हुन्– कम्युनिष्टको बर्को ओढेका सांसद कृष्णबहादुर महरा ।
अहिलेसम्म महरालाई नेकपाले न त सांसदबाट हटाएको छ, न पार्टीबाट कारवाही नै गरेको छ । कार्यकर्ता र आम जनतामा प्रश्न छ – अब हामीले कहिलेसम्म महरालाई ‘माननीय’ मानिरहनुपर्ला ?
न्याय नपाएकी बचरी
हाम्रो सामाजको नजर महिलामैत्री छैन, महिलापीडक छ । राज्यसत्ता र प्रहरी महिलामैत्री छैनन्, भीआइपीमैत्री छन् । यसैको कलाहीलाग्दो शिकार बनेकी छिन्– स्वास्थ्य सेवाकी कर्मचारी रोशनी शाही ।
हिंसामा परेकी श्रीमतीलाई स्वार्थी लोग्नेहरुले कसरी साथ छाड्छन् भन्ने ‘खराब पति’को उदाहरण बनेका छन् रोशनीका पति । दुःखमा साथ दिने कसम खाएका माओवादी श्रीमान महोदयले पनि महराकै पक्षपोषण गर्दै रोशनीलाई छाडेको घोषणा गरेका छन् ।
रोशनीका श्रीमानले उनलाई बानेश्वर प्रहरीमा लगेर महराको पक्षपोषण हुने गरी निवदेन दिन लगाएर आफ्नो प्रयोजन पूरा गरे । अनि, छोडपत्र गर्ने कागजको खोस्टोमा सही गराएर फेसबुकमा त्यो खोस्टो फालिदिए ।
एउटी नारीले आफ्ना पतिको मृगौला ड्यामेज भयो भने आफ्नो किड्नी झिकेर दिन्छिन् । एउटी छोरीले आफ्नो कलेजोको टुक्रो दिएर पितालाई बचाउँछिन् । तर, एउटा स्वार्थी पुरुष आफ्नी पत्नीलाई विपदको पहाडले थिच्दा पत्नीलाई नै दोषी करार गर्छ र छोडपत्रको कागजमा सही गर्न लगाउँछ । कठै माओवादी स्कुलको विधिशास्त्र !
कृष्णबहादुर महराको सत्ता र शक्तिको लीलामा परेर थिल्थिलो बनेकी रोशनी शाही नवरात्रीमा कहीँबाट न्याय नपाएकी निरीह बचरी जस्तै बनेकी छिन् । गत आइतबार नै अनलाइनखबरसँगको फोन सम्वादमा उनले आशंका व्यक्त गर्दै भनेकी थिइन्, ‘यहाँ निर्मला पन्तको केस ढाकछोप गरियो, अब यो केस पनि ढाकछोप गर्न सक्छन् । बुबा समानको मान्छे, बाबुजस्तो मान्छे, अभिभावकजस्तो मान्छेले नै यस्तो गर्छन् भने आम मान्छेलाई के भन्ने ?’
हो, हामीले देशमा लोकतन्त्र/गणतन्त्र त ल्यायौं । तर, यो राजनीतिक परिवर्तन महिलाका लागि आएन । अहिले रोशनी शाहीको पक्षमा न राज्य छ, न उनका पति । न समाज, न त सामाजिक सञ्जालले नै रोशनीलाई साथ दिइरहेको छ । न त महिला नेतृ र अधिकारकर्मीहरुले नै सुनिने गरी बोलेको अवस्था छ । बरु, यस्तो तर्क गर्न खोजिँदैछ कि अपराधी कृष्णबहादुर महरा हैनन्, रोशनी शाही हुन् ।
देशमा न्याय नमरेको भए, हाम्रो समाज महिलामैत्री भइदिएको भए रोशनीको हालत यस्तो हुनु नपर्ने हो । एउटी पीडित महिलाले आफूलाई यति साह्रो बेसाहारा, एक्लो र कमजोर महसुस गर्नु नपर्ने हो । समाजले महिलालाई नै अर्घेलो देख्नुको साटो महरालाई सांसद पदबाट हटाउन माग गर्नुपर्ने हो । सत्तारुढ नेकपाले महिलापीडक महरालाई तत्काल सांसद पदबाट बर्खास्त गरेको घोषणा गरेर रोशनीलाई संरक्षण दिनुपर्ने हो । तर, हाम्रो पितृसत्तावादी समाज एउटी अवलामाथि ढुंगा हानेर दशैं मनाइरहेको छ । यस्तो मत्स्य–न्याय समुद्रमा पनि शायदै होला ।
भीआइपीले सत्ता, शक्ति र पैसाको आडमा आफूमाथि गरेको अन्याय रोशनीले धेरै वर्षसम्म सहेर बसिन् । त्यो उनको गल्ती थियो । कुनै प्रलोभनमा परेको वा परिवन्दमा परेको भए पनि त्यो उनको गल्ती नै थियो । तर, आइतबार उनले जसरी त्यसको पर्दाफास गरिन्, यो चाहिँ उनको अपराध थिएन । तर, राज्यले उनलाई संरक्षण गर्न सकेन र महरा मण्डलीले भोलिपल्टै नियन्त्रणमा लिएर जबरजस्ती बोली फेर्न लगायो । यो उनीमाथि भएको थप अपराध हो र यसमा प्रहरी पनि दोषी छ ।
आफूमाथि महराले वर्षौंदेखि गर्दै आएको शोषणको पोल खोल्ने आँट जुटाएको सजायँस्वरुप रोशनीलाई अहिले राज्य र समाजले दयनीय हालतमा पुर्याएको छ । आफूमाथि अन्याय भएको खुलस्त बताएकी उनले भोलिपल्टै बोली फेरिन् भन्दै उनैलाई सराप्ने पुरुषवादी मानसिकता छताछुल्ल भएको छ । यसवीचमा महरा मण्डलीले रोशनीलाई कब्जामा लिएर थप अपराध गरेको छ । तर, प्रहरी प्रशासनले शुरुदेखि नै पीडितको संरक्षण गर्न नसकेर लाचारी प्रदर्शन गरेको छ ।
माओवादीको क्रान्तिकारी बर्को ओढेका नेताबाट वर्षौंदेखि शोषणमा पर्दै आएकी शाहीले आइतबार राति नशाकै सुरमा सही, आफू निकटस्थहरुलाई आफ्नो पीडा सुनाइन् । म बलात्कृत भएँ भनेर आधा रातमा महिलाले रुँदै फोन गरेपछि महिला सांसदले तत्कालै प्रहरी, मिडिया आदिमा फोन गरेर जानकारी गराउनु जायज र सह्रानीय कार्य थियो । यसमा सांसद उमा रेग्मी धन्यवादकी पात्र हुन् । उनकै सूचनाका आधारमा प्रहरी घटनास्थलसम्म पुग्यो, पत्रकार पुगे । र, महराको वर्षौंदेखिको पापको घडा एकै रातमा पट्ट फुट्यो ।
यो प्रकरणमा रोशनी शाहीलाई कसरी हेर्ने ? उनका श्रीमानसमेत महराकै मतियार र हतियार बनेको अवस्थामा रोशनीले के–कस्तो मनोदशाबाट गुज्रिनुपरिरहेको होला ? महरा र रोशनीवीचको सम्बन्ध कस्तो थियो ? महराको आर्थिक लेनदेनमा पनि दुई परिवारवीच साइनो सम्बन्ध थियो कि ? यी विविध प्रश्नमाथि पीडितमैत्री दृष्टिकोणबाट विश्लेषण गरिन आवश्यक छ । महिलामैत्री भएर यो घटनालाई हेर्न जरुरी छ । र, रोशनीका श्रीमानलाई समेत महरासँगै अनुसन्धानको दायरामा ल्याउन जरुरी छ ।
यसवीचमा नेकपाको सचिवालयले समामुख र सांसद पदबाट समेत राजीनामा दिन गरेको आग्रहलाई अटेर गर्दै महरा मण्डलीले यसवीचमा रोशनी शाहीलाई कब्जामा लिएर बोली फेर्न लगाएको छ । बानेश्वर प्रहरीमा सँगै गएर महराको बचाउमा निवेदन दिन लगाउने प्रयोजन सिद्ध्याएपछि श्रीमानले रोशनीसँग छोडपत्र गरेको घोषणा फेसबुकमार्फत गरेका छन् ।
महरा मण्डली यतिमै रोकिएको छैन, समाचार लेख्ने पत्रकारमाथि पनि हात हाल्ने मनसुवामा देखिन्छ ।
महरा मण्डलीको कुतर्क
रोशनीको बोलीको ठेगान नभएको, औषधि र रक्सी आएर जथाभावी बोल्ने गरेको, विगतमा महरासँग लामो समयसम्म अनुचित सम्बन्ध रहेको, इत्यादि प्रचारबाजीहरु पनि महरा मण्डलीबाट स्थापित गर्ने प्रयासहरु भइरहेका छन् । रोशनीलाई गलत देखाएर महरालाई निर्दोष देखाउने प्रयासमा महरा मण्डली सक्रिय छ । महरालाई सही देखाउन रोशनीलाई खराब देखाउने सामन्ती पितृसत्तावादी हर्कत भइरहेको छ ।
महरा मण्डलीले आफ्नो बचाउमा विभिन्नखाले तर्क गरेको सुनिन्छ, जस्तै–
आइतबार महरा रोशनीको कोठामा गएकै थिएनन् । तर, अरुबेला चाहिँ जाने गरेका थिए । महराले रोशनीलाई जनयुद्धकालदेखि नै छोरीजस्तै मानेर आर्थिक लगायत सहयोग गर्दै आएका हुन् । पढाइ खर्च पनि उनले व्यहोरेका थिए । छोराछोरी अमेरिका पठाउँदा पनि सहयोग गरेकै हुन् । महरा र रोशनीवीच भेटघाट भइरहन्थ्यो । तर, कर्मचारी समायोजनमा चित्त नबुझेपछि रोशनी रिसाइन् र महरालाई आरोप लगाइन् । मातेर, बेसुरमा केके बोलिन् थाहा भएन, मिडियाले प्रोभोक गरे । अमेरिकी साम्राज्यवादले महरामाथि षडयन्त्र गर्याे । चीनलाई प्रहार गर्न यो घटना गराइएको हो । इत्यादि इत्यादि ।
महरा मण्डलीका यी सबै तर्क हास्यास्पद छन् । सुरक्षाकर्मीले प्रधानमन्त्री दिएको रिपोर्ट अनि सबुद प्रमाणहरुले आइतबार महरा रोशनी शाहीको कोठामा पसेको प्रमाणित गरिसकेको अवस्था छ । र, यही सबुदका आधारमा नेकपा सचिवालयले महरालाई सभामुख र सांसद पद छाड्न भनेको हो । यो प्रस्ताव प्रधानमन्त्री ओलीको मात्र नभएर स्वयं प्रचण्डले नै अघि सारेका हुन् । यसमा सबै नेताहरु एकमत छन् ।
कर्मचारी रोशनीको कोठामा जाने गरेको महराले स्वीकार गरिसकेपछि स्वतः प्रश्न उठ्छ– सभामुखजस्तो मान्छे राति राति श्रीमान बाहिर भएको मौकामा एक्ली महिलाको कोठामा रक्सी बोकेर सुटुक्क छिर्न सुहाउँछ ? आफ्नै कनिष्ट कर्मचारीको डेरामा सभामुखजस्तो सम्माननीय पदको मर्यादामा रहेको व्यक्ति राति–राति घस्न मिल्छ ? अनि त्यसरी एक्ली महिला भएको कोठामा पसेर रक्सी खाइसकेपछि ‘सेक्स’ नै नगरे पनि सभामुखको इज्यतचाहिँ कहाँ बाँकी रहन्छ ? माननीय सांसदको इज्जत कहाँनेर बच्छ ?
महराले विगतमा खर्चपर्च दिएर रोशनीलाई छोरीजस्तै राखेको मान्ने हो भने पनि जनयुद्धमा लागेका हजारौंलाई दुःख– सुखमा नहर्ने र लडाकूको पैसा हिनामिना भएको आरोप खेपेका महरालाई के भाउँतो आइलाग्यो र रोशनीलाई चाहिँ यसरी अभिभावकत्व गर्नुपर्ने भयो ? अनि बाबुछोरीको जस्तो सम्बन्ध भएको भए रोशनीले रुँदै आफू दुव्र्यवहारको शिकार भएको बताउनुपर्ने स्थिति किन र कसरी आइलाग्यो ? ल, रोशनीले त औषधि खाएर जथाभावी बोलिन् रे, महराले चाहिँ के आधारमा ‘छोरी’ लाई पिटे ? छोरी भनिसकेपछि अर्र्काकी श्रीमतीलाई पिट्न पाइन्छ ?
आफू सभामुखको पदीय मर्यादा भुलेर काम बिगार्ने, अनि मिडिया, रोशनी, अमेरिका वा चीनतिर देखाएर क्रान्तिकारीमाथि षड्यन्त्र भयो भन्ने ? यो पनि महरा मण्डलीले अघि सारेको हास्यास्पद तर्क हो । नेताको ‘स्क्याण्डल’ लाई विदेशी चलखेल देख्न नेपाली समाज त्यति मूर्ख छैन ।
महराले यौन दुव्यवहार नै गरेका थिए कि थिएनन् भन्ने अनुसन्धानबाट खुल्ने कुरा हो । तर, उनको रोशनीसँगको सम्बन्ध र उठबस आफैंमा एउटा गम्भीर नैतिक प्रश्न हो, जसको एक किस्ता मूल्य उनले चुकाइसकेका छन् । अब रोशनीको मुख थुनेर जति नै ‘बाबु समान’ भन्न लगाए पनि महराको राजनीति जोगिँदैन । उनी स्खलित भइसकेका छन् । अब यो घटना बाहिर आइसकेपछि पनि महरा मण्डलीले जसरी रोशनीमाथि जबर्जस्ती वयान फेर्न लगाएको छ, यसबारे तत्काल अनुसन्धान हुनुपर्छ र यसमा संलग्नमाथि कारवाही हुनुपर्छ ।
अब के गर्ने त ?
महरा प्रकरणमा तत्काल गर्नुपर्ने कामहरु यी हुन सक्छन्–
– नेकपाले अब ‘ड्यामेज कन्ट्रोल’ गर्ने हो भने स्खलित महरालाई बोकेर हिँड्न जरुरी छैन । उनलाई तत्काल सांसदबाट बर्खास्त गरेर उनको चुनाव क्षेत्र (दाङ–२) मा आगामी मंसिर १४ मै उपचुनाव गर्नुपर्छ र स्वच्छ छविको व्यक्तित्वलाई संसदमा ल्याउनुपर्छ । दाङको उपचुनावमा नेकपाले सकेसम्म पूर्वमाओवादी पुरुषलाई टिकट नदिएकै बेस ।
– रोशनी शाहीलाई राज्यले न्याय दिन्छ भन्ने महसुस गराउनुपर्छ ताकि देशभरिका महिलाले समाजमा न्याय मरेको छैन भन्ने महसुस गर्न सकुन् । यसका लागि गृहमन्त्री वा सरकारका प्रवक्ता वा प्रहरी प्रधान कार्यालयले तत्काल पत्रकार सम्मेलन गरेर घटनाका दोषीमाथि कारवाही हुने र पीडितले न्याय पाउने सार्जजनिक प्रतिवद्धता जनाउनुपर्छ ।
– रोशनीलाई तत्काल पुनस्र्थापना केन्द्र वा प्रहरीको संरक्षणमा राख्नुपर्छ । महिला अधिकारकर्मी र महिला नेतृले उनलाई तत्काल भेटेर ‘हामी छौं’ भन्ने ढाडस दिनुपर्छ ।
– आइतबारपछि पनि घटनालाई ठाकछोप गर्न महिलालाई बलजफ्ती वयान दिन लगाएको देखिएकाले महरा मण्डलीलाई तत्काल गिरफ्तार गरेर हिरासतमा लिई अनुसन्धान र कारवाही अगाडि बढाउनुपर्छ । महिला हिंसामा संलग्नलाई जेल हाल्नुपर्छ ।
– नागरिक समाज, मिडिया र सामाजिक सञ्जालमा पनि पीडितलाई नै थप पीडित बनाउनेतिर नभई न्याय र अन्यायलाई पर्गेल्नुपर्छ । नारीलाई इज्यत र सम्मान मर्यादा गर्ने सभ्य समाज बनाउनेतिर लाग्नुपर्छ । तब मात्र दशैंमा देवीको पूजा गरेको अर्थ रहन्छ ।
महराका ‘क्रान्तिकारी’ छोराहरुबारे
फौजदारी न्याय सिद्धान्तले भन्छ, फौजदारी अपराध व्यक्तिपरक हुन्छ । फौजदारी अपराधमा जसले अपराध गर्छ, त्यसको सजायँ परिवारका अन्य सदस्य वा अंशियारहरुले हुनुपर्दैन । कृष्णबहादुर महराले गरेको फौजदारी अपराध पनि उनका छोराहरुले भोग्नुपर्दैन ।
महरा प्रकरण बाहिर आएपछि उनका दुबै भाइ छोराले जनयुद्धकालमा बन्दूक बोकेका तस्वीर फेसबुकमा हाल्दै आफ्ना बाबुलाई ‘इमान्दार क्रान्तिकारी’ भनेका छन् । यो घटनाले आफूहरुलाई ‘अझ क्रान्तिकारी बन्न प्रेरणा मिलेको’ छोराहरुले बताएका छन् ।
तर, अहिलेसम्म पिताका सबैखाले कामलाई साथ दिँदै आएका महराका छोराहरुले के बुझ्नुपर्छ भने बाबुले गरेको गल्तीलाई साथ दिनेहरु क्रान्तिकारी छोरा होइनन् । क्रान्तिकारी छोराछोरी त ती हुन्, जसले आफ्ना बाबु वा कोही पनि नातेदार नभनी दोषीलाई कारवाही गर्नुपर्ने अडान लिन्छन् । जीवनभर उत्पीडितको पक्षमा बोल्छन् ।
यदि कृष्णबहादुर महराका छोराहरु साँच्चै क्रान्तिकारी हुन् भने उनीहरुले आफ्ना बाबुको आलोचना गर्नुपर्छ र रोशनीको पक्षमा उभिनुपर्छ । छोराहरुलाई यो प्रकरणबाट ‘अझै क्रान्तिकारी’ नै हुन प्रेरणा जागेको हो भने आफ्ना पितालाई गिरफ्तार गरेर छानविनका लागि प्रहरीसमक्ष बुझाइदिए हुन्छ । यति गरे भने उनीहरुलाई क्रान्तिकारी छोराहरु मान्न सकिन्छ ।
विगतको क्रान्तिकारी आन्दोलनको इतिहास हेर्ने हो भने मोहनविक्रम सिंह आफ्नै जमिन्दार बाबु खिमविक्रम विरुद्ध किसान संघर्षमा उत्रिएका थिए । सीपी मैनाली, राधाकृष्ण मैनालीहरुले आफ्नै बाबुले लेखेका तमसुकहरु च्यातेका थिए । पञ्चायतकालमा त्यस्ता धेरै क्रान्तिकारी छोराछोरीहरु जन्मेका थिए, जसले आफ्नै मण्डले बाबुहरुविरुद्ध संघर्ष गरेका थिए ।
अब महराका छोराहरु न्यायको पक्षमा उभिन्छन् या आफ्नै स्खलित बाबुसँगै सति जान्छन् ? यसैले उनीहरुको ‘क्रान्तिकारिता’ र राजनीतिक भविश्यको परीक्षा हुनेछ । अन्यथा, कृष्णबहादुर महरा अझै पनि इमान्दार, क्रान्तिकारी नै हुन् भन्ने कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हो । भर्खर उनको एउटा स्क्याण्डल बाहिर आयो, कैयौं आर्थिक चलखेल र भ्रष्टाचारका हर्कतहरु बाहिर आउन बाँकी छन् ।
अहिलेसम्मको ट्रयाक रेकर्ड हेर्दा पूर्वमाओवादी नेताका छोराहरु ‘क्रान्तिकारी’ हुने छाँटकाँट खासै देखिँदैन । बन्दूक बोकेको तस्वीर देखाएर मात्रै क्रान्तिकारी भइन्न । माओवादी नेताहरुले आफ्ना भाइ, छोरा र कुटुम्बहरु प्रयोग गरेर सिंहदरबार वरिपरि के–कस्ता कामहरु गरिरहेका छन् भन्ने त यसअघि गृहमन्त्रीका भाइको गिरफ्तारीले पनि संकेत गरिसकेकै छ । कतिपय नेताका ज्वाइँ र छोराहरुका काण्ड बिस्फोट हुन मात्र बाँकी छ ।
पूर्वमाओवादी नेताहरुले बुझे हुन्छ – बाबु वा ससुराको धाक लगाएर जनयुद्धको ब्याज खाँदै बंश परम्परा अनुसार सत्ताको वरिपरि बसेर दलाली गर्ने जमाना सकिइसकेको छ । एउटा छानो छेस्कोले कामरेडहरुको भ्रमको बेलुन फुटाइदिन सक्छ । महरा प्रकरणमा त्यही भयो ।
अन्त्यमा,
अब कृष्णबहादुर महराको राजनीतिक भविश्य के होला ? यसमा साहित्यकार खगेन्द्र संग्रौलाको एउटा ट्विट स्मरणीय एवं संदेशात्मक छ । संग्रौलाले भनेका छन्–
‘मानिस जब अरूका आँखाले आफूलाई हेर्न छाड्छ, ऊ नीतिकथाको मैमत्त खस्रे भ्यागुत्तो बन्छ । अहंकारले जब खस्रेको भुँडी फुट्छ, तब ऊ महरा सर बन्छ । अहंकारले मैमत्त भई आफैँ आफ्नो हत्या गर्ने महरा सरसँग अब एउटा लास बाँकी छ, जसको नियति केवल सड्नु हो । कठै स्वनिर्मित दुर्भाग्य !’
Saabhar: Onlinekhabar
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू