शनिबार, ०५ जेठ २०८१

फोहर सङ्कलनमा शिक्षित युवा

५ असार २०७६, बिहीबार १३:२८ मा प्रकाशित

ललितपुर, ५ असार   ,,  शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् । पुनः प्रशोधन हुने पत्रिका, कागज, अण्डाको क्रेट, कागजका झोला, ट्वाइलेट पेपरभित्रको गोलो कागज, मञ्जनको खोल, निमन्त्रणा कार्ड, पानीको जार, फेसवास क्रिम र स्याम्पुका डब्बा, पोलिथिन झोला, बाल्टिन, दूधका प्याकेट, रेगुलेटर, स्टिलका भाँडा, तेल, बियर र अन्य मदिराको बोतल, प्रिन्टर, मोबाइल आदिलाई पाँच भागमा वर्गीकरण गरी सङ्कलन गरिएको डोको रिसाइक्लर्सका प्रमुख अर्पण आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा बढ्दै गएको शहरीकरण, फोहर व्यवस्थापन गर्ने स्थानको अभाव र कुहिने तथा नकुहिने फोहर एकै स्थानमा व्यवस्थापन गर्ने बाध्यता हटाई वैज्ञानिक तरिकाले नयाँ स्वरुप दिन हामी दिन लागिपरेका हौँ ।” कुहिने फोहरलाई कम्पोस्ट मल बनाउने र पुनः प्रशोधन हुने फोहर व्यक्ति, सङ्घसंस्था, कार्यालय र होटलमार्फत सङ्कलन गरी कवाडी कारखानालाई दिने मूल्य बराबरको रकम सो कम्पनीले नै दिने गरेको उहाँले जानकारी दिनुभयो । मुख्य कार्यालय भक्तपुरको सानोठिमीमा रहेको उक्त संस्थाले सङ्कलन गरेको पुनः प्रशोधन हुने फोहर त्यहाँ लगी नयाँ रुप दिनाका साथै उचित मूल्यमा बिक्री–वितरण गर्दै आएका छन् । डोकाले शहरी क्षेत्रका जनतालाई घरघरबाटै फोहर सङ्कलन र व्यवस्थापनको समस्या समाधानमा सहयोग गरिरहेको छ । चक्रपथ बाहिरको दुई किलोमिटर पर सम्मका घरबाट पनि यस संस्थाले पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्ने गरेको छ । प्रमुख आचार्यले थप्नुभयो, “डोकोको वेबसाइट वा टेलिफोनमार्फत हामीलाई पुनः प्रशोधन हुने फोहर सङ्कलनका लागि तपाईंहरुले सम्झनु सक्नुहुनेछ ।” रुट वर्गीकरणका आधारमा डोकोले उपत्यकाका तीनै शहरबाट फोहर सङ्कलन गर्दै आएको छ । पुनः प्रशोधन हुने सामग्रीलाई डोकोले दुई तरिकाबाट प्रयोग गर्छ । पहिलो सामान जस्ताको तस्तै अर्काे कामका लागि प्रयोगमा ल्याउनु र दोस्रो ती सामानलाई नयाँ स्वरुपमा बदल्नु हो । पुराना सामानलाई काँटछाँट गरी सिङ्गारेर नौलो रुप दिनु डोकोको विशेषता बनिसकेको छ । यस कार्यबाट उपत्यकाका फोहर मोहरका रुपमा परिवर्तन भइरहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter