बुधबार, २६ बैशाख २०८१

जाकिर हुसैनदेखि जाकिर हुसेनसम्म प्रदेश कमिटीको नेताको सूचिमा परेनन्

२० मंसिर २०७५, बिहीबार ११:०६ मा प्रकाशित

 

शमशाद आदिल
२० मङ्सीर, काठमाडौं ।

वास्तवमा मुस्लिम समुदाय ठूला पार्टीहरुको भोट बैंक साबित भएको छ । अब पनि यी ठूला पार्टीमा रहेका मुस्लिम नेताहरुले सोच्ने कि न सोच्ने ? ईद, बक्र ईद र मुहम्मद दिवसको विदा कटौति गर्ने कम्युनिष्ट पार्टीमा रहेका मोहम्मद जाकिर हुसैनदेखि जाकिर हुसेनसम्मको चेत अब पनि फर्कन्छ कि नाई ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो प्रदेश कमिटीको नामावली टुंग्याएर सार्वजनिक गर्दा मुस्लिम समुदायको सूचि निकै लज्जाष्पद देखिएको छ । प्रकाशित सूचिमा नेपाली मुस्लिम समुदायमा सर्वाधिक लोकप्रिय तथा स्थापित नेता मोहम्मद जाकिर हुसैन (सुनसरी) देखि युद्धकालीन निकै पुराना नेता जाकिर हुसैन (अर्घाखाँची) समेतलाई प्रदेश कमिटीमा स्थान दिइएको छैन ।
गए मङ्शिर १२ गते नेकपाको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका सदस्यहरुको नामावली टुंग्याएर महासचिव विष्णु पौडेलको दस्तखतसहित सार्वजनिक गरेको छ ।

 

सार्वजनिक गरिएको सूचिमा सातै प्रदेश गरी कुल १३८७ जना प्रदेश समिति सदस्य रहेका छन् । यसमध्ये साबिक नेकपा एमालेबाट ७३६, साबिक नेकपा माओवादी केन्द्रबाट ६४५ र अन्य साबिक पार्टीबाट तीनजना प्रदेश सदस्यमा परेका छन् ।
कुल १३८७ प्रदेश समिति सदस्यमध्ये जम्माजम्मी १५ जना मुस्लिम नेता परेका छन् । यो कुल सदस्य संख्याको १.०८ प्रतिसत हो । मुस्लिम समुदायको जनसंख्या ४.४१ प्रतिसत रहेको छ ।

समावेशिको नारामा मुस्लिम समुदाय भोट बैंक मात्र

कुल १५ सदस्यमध्ये सर्वाधिक प्रदेश नं. २ बाट ७ जना परेका छन् । प्रदेश नं. ५ बाट ६ जना मुस्लिम नेता प्रदेश समिति सदस्यमा परेका छन् । प्रदेश नं. ४ (गण्डकी प्रदेश) बाट केवल एकजना मुस्लिम नेता प्रदेश कमिटीमा परेका छन् । तर, प्रदेश नं. १, ३, ६ र ७ बाट एक जना पनि मुस्लिम नेता प्रदेश समिति सदस्यमा परेका छैनन्। जबकि प्रदेश नं. १ मा मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको छ ।
मुस्लिम मुद्दा उठाउने हिजोको माओवादी पार्टी एमालेसँग एकीकृत भई नेकपा बनेपछिका दिनहरुमा मुस्लिम मुद्दा ओझेलमा पर्दै गएको एकातिर छ भने नेकपामा मुस्लिम प्रतिनिधित्व हास्याष्पद बनेको छ । नेपाली मुस्लिम आन्दोलनका सुत्रधार तथा वैचारिक ब्याख्याताको रुपमा प्रसिद्ध सुनसरीका मोहम्मद जाकिर हुसैनजस्तो स्थापित नेतालाई नेकपाले केन्द्रीय समितिमा नलिंदा आम मुस्लिम समुदायमा चर्चाको विषय बनेको थियो भने प्रकाशित सूचिमा उनको नाम १ नं. प्रदेश समिति सदस्यमा समेत परेको छैन । उनी साबिक नेकपा माओवादी केन्द्रबाट सभासद र राज्यमन्त्रीसमेत भइसकेका लोकप्रिय नेता हुन् । २०७० सालमा एमाओवादीमा प्रवेश हुँदा उनी पार्टीको केन्द्रीय सल्लाहकार भएका थए । पछि माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्यसमेत रहेका थिए । उनी माओवादी पार्टीको भातृसंगठन मुस्लिम मुक्ति मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको समेत महासचिव रहेका छन् ।

 

नेकपाले अर्का चर्चित तथा स्थापित कम्युनिष्ट मुस्लिम नेता अतहर हुसेन फारुकीलाई भने ५ नं. प्रदेश समिति सदस्यमा दर्ज गरेको छ । गण्डकी प्रदेश समितिको सदस्यमा साबिक नेकपा एमालेका नेता ताज मोहम्मद मियाँको नामसमेत परेको छैन । निकै पुराना तथा स्थापित कम्युिनष्ट नेता ताज मोहम्मद मियाँ ४४१ सदस्यीय नेकपाको केन्द्रीय समिति सदस्यमा पर्नुपर्ने नाम हो । उनी इत्तेहाद संगठनका उपाध्यक्षसमेत छन् । उनको नाम प्रदेश समितिमा नपर्नु निकै दुखद भन्न सकिन्छ ।

सप्तरीका पूर्व मन्त्री अनिस अन्सारी निकै सिनियर नेता हुन् । उनी गत वर्ष माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनलाई पनि नेकपाको २ नं. प्रदेश समितिमा राखिएको छैन । त्यस्तै राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षसमेत रहिसकेका निकै पुराना माओवादी नेता निर्दाेष अलीलाई पनि प्रदेश समितिमा समेटिएको छैन ।

१ नं. प्रदेशका युद्धकालीन माओवादी नेता रमजान अलीलाई पनि १ नं. प्रदेश समितिमा समेटिएको छैन । १ नं. प्रदेश समिति सदस्यमा हैदर अली, दिल मोहम्मद मियाँ र मन्सुर अलीलाई न समेटेर उनीहरुमाथि पनि पार्टीले अन्याय गरेको छ ।

त्यस्तै २ नं. प्रदेश समितिमा पर्नैपर्ने नाम हो जालिम मुखिया, कलामुद्दीन राइन, सभासद तथा मुस्लिम इत्तेहाद संगठनका महासचिव जुनैद अन्सारी, कलाम खान, इलियास अन्सारी, डा. उषाकिरण अन्सारी, बसरुद्दीन अन्सारी । यी महत्वपूर्ण नेताहरुलाई नेकपाले न्याय गरेन । पछिल्लो समयमा नेकाबाट माओवादी केन्द्र प्रवेश गरेका रजी हैदर र फोरम लोकतान्त्रिकबाट माओवादी केन्द्र प्रवेश गरेका शेख चान्द तारालाई भने प्रदेश समितिमा समावेश गरिएको छ ।

त्यस्तै पछिल्लो समय माओवादी प्रवेश गरेर बीरगञ्ज महानगरपालिकाको मेयरमा प्रत्यासी भएका लोकप्रिय तथा चर्चित युवा नेता रहबर अन्सारीलाई पनि २ नं. प्रदेश समितिमा समावेश गरिएन ।

३ नं. प्रदेशका पुराना, लगनशील, जुझारु तथा ईमानदार नेताको रुपमा लोकप्रिय रहेका नजिबुल्लाह अन्सारीलाई पनि ३ नं. प्रदेश समितिमा नसमेटेर उनीमाथि नेकपाले अन्याय गरेको छ । त्यस्तै साबिक एमालेका निकै पुराना नेता राज मोहम्मद अन्सारीलाई प्रदेश समिति सदस्यमा राखिएको छैन ।

४ नं. गण्डकी प्रदेशमा गैंडा शेर खान, साबिक माओबादि केन्द्रका केेेन्द्रीय सदस्य रहेका युवा नेता जलालदिन मियाँ र कमालुद्दीन मियाँलाई प्रदेश समितिमा समावेश नगरेर उनीहरुको नेतृत्व विकासमाथि लगाम लगाएको छ नेकपाले ।

५ नं. प्रदेशमा बाँकेका मौलाना मन्सुर हलुवाई, मौलाना जब्बार मञ्जरी, अर्घाखाँचीका युद्धकालीन समर्पित माओवादी नेता जाकिर हुसेन, मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्षसमेत रहेका पुराना मुस्लिम नेता मुहम्मद्दीन अली, युद्धकालीन माओवादी नेता तथा राष्ट्रिय मुस्लिम आयोगका सचिवसमेत रहेका शम्शेर अली, बाँकेकी पूर्व सभासद तथा मुस्लिम इत्तेहाद संगठनकी सचिवसमेत रहेकी सबिया प्रवीण र कपिलवस्तुका शेख अजिजुर रहमानलाई पनि प्रदेश समितिमा समावेश गरिएको छैन ।
समानुपातिक समावेशीको नारा चर्काे स्वरमा घन्काउँदै आएको साबिक नेकपा माओवादीले कुल ५ जनालाई मात्र प्रदेश समिति सदस्यमा पठाएको छ जबकि उसले कुल ६४५ जना प्रदेश सदस्य बनाएको छ । त्यस्तै २४१ केन्द्रीय सदस्यमध्ये ६ जना मुस्लिमलाई समावेश गरेको साबिक नेकपा एमालेले ७३६ प्रदेश सदस्यमध्ये केवल १० जना मुसलमानलाई पठाएको छ । साबिक माओवादीले २०० जना केन्द्रीय सदस्य बनाउँदा रुपन्देहीका हकीकुल्लाह खानलाई मात्र केन्द्रीय सदस्यमा पठाएको थियो । त्यति बेला अतहर हुसेन फारुकी, मोहम्मद जाकिर हुसैन र शेख चान्द तारालाई पनि केन्द्रीय सदस्य बनाउँछ भन्ने आम मुस्लिम समुदायले बुझेको थियो ।

त्यस्तै त्यस बेला साबिक नेकपा एमालेले नजीर मियाँ, सेराज फारुकी, महफुज अन्सारी, शमीम अन्सारी, तैयब हुसेन, हारुन हलुवाईलाई केन्द्र सदस्य बनाएको थियो । त्यस बखत ताज मोहम्मद मियाँ, जुनैद अन्सारी लगायतलाई केन्द्रीय सदस्य बनाउन सक्ने चर्चा चलेको थियो ।

कम्युनिष्ट पार्टीका नेताहरुको चेत अब पनि फर्कन्छ कि नाई ?

समग्रमा नेपाली काँग्रेसले फकत एकजना फर्मुल्लाह मन्सुरलाई केन्द्रीय सदस्यमा राखेर मुस्लिम नेतृत्व विकासमा पूर्ण बिराम लगाएको छ भने नेकपाले १३८७ जनाको जम्बो प्रदेश समितिहरुमा मात्र १५ जनालाई स्थान दिएर मुस्लिम नेतृत्व विकासलाई तहसनहस पार्ने देखिएको छ । यसले वास्तवमा मुस्लिम समुदाय ठूला पार्टीहरुको भोट बैंक साबित भएको छ । अब पनि यी ठूला पार्टीमा रहेका मुस्लिम नेताहरुले सोच्ने कि न सोच्ने ? ईद, बक्र ईद र मुहम्मद दिवसको विदा कटौति गर्नुको साथै विभिन्न शैक्षिक क्षेत्रमा मुस्लिम विद्यार्थीहरुको आरक्षण जपत गरिरहेको र राष्ट्रीय सभा मुस्लिम विहीन पारी रहेको संघीय तथा प्रदेशीय मन्त्री मण्डलमा मुस्लिमहरुलाई समावेश नगरेको कम्युनिष्ट पार्टीमा रहेका मोहम्मद जाकिर हुसैनदेखि जाकिर हुसेनसम्मको चेत अब पनि फर्कन्छ कि नाई ?

नेकपाका मुस्लिम प्रदेश सदस्यहरु
प्रदेश नं. १ – शून्य
प्रदेश नं. २ – ७ जना
मोहम्मद कैस (धनुषा) – साबिक नेकपा एमाले
गुलाम सरवर शेख (रौतहट) – साबिक नेकपा एमाले
मोहम्मद कलीम (सप्तरी) – साबिक राजपा के.स.
मोहम्मद इस्लाम (सप्तरी) – साबिक देशभक्त पार्टी, के. अध्यक्ष
वहीद अन्सारी (रौतहट) – साबिक नेकपा माओवादी केन्द्र
शेख चान्द तारा (पर्सा) – साबिक नेकपा माओवादी केन्द्र
रजी हैदर (महोत्तरी) – साबिक नेकपा माओवादी केन्द्र
प्रदेश नं. ३ ः – शून्य
प्रदेश नं. (गण्डकी प्रदेश) – ४ ः १ जना
इस्लाम मियाँ – स्याङ्जा

प्रदेश नं. – ५
इन्साफ मुसलमान (रुपन्देही) – साबिक नेकपा एमाले
कुटमुद्दीन मियाँ (अर्घाखाँची) – साबिक नेकपा एमाले
अब्दुल रऊफ (कपिलवस्तु) – साबिक नेकपा एमाले
मिर्जा अर्सद बेग (कपिलवस्तु) – साबिक राजपा के.स.
अतहर हुसेन फारुकी (–बाँके) – साबिक नेकपा माओवादी केन्द्र
मकसुद अली (रुपन्देही) – साबिक नेकपा माओवादी केन्द्र
प्रदेश नं. ६ ः कर्णाली प्रदेश – शून्य
प्रदेश नं. ७ ः सुदूर पश्चिम प्रदेश – शून्य

नेकपा केन्द्रीय समितिका मुस्लिम सदस्यहरु ः
हकीकुल्लाह खान (रुपन्देही) – साबिक नेकपा माओवादी केन्द्र
नजीर मियाँ (अर्घाखाँची) – साबिक नेकपा एमाले
सेराज अहमद फारुकी (कपिलवस्तु) – साबिक नेकपा एमाले
महफुज अन्सारी (सुनसरी) – साबिक नेकपा एमाले
शमीम मियाँ अन्सारी (पर्सा) – साबिक नेकपा एमाले
तैयब हुसेन (सुनसरी) – साबिक नेकपा एमाले
हारुन हलुवाई (बाँके) – साबिक नेकपा एमाले

(शमशाद आदिल पत्रकारितामा स्नातक अध्यनरत विद्यार्थी हुन।)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter