शनिबार, २२ बैशाख २०८१

रोजाको वास्तविकता र सामाजिक सद्भाव: मिकाइल आलम

५ जेष्ठ २०७५, शनिबार १२:२५ मा प्रकाशित

मिकाइल आलम, सुनसरी

रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा(निराहार) अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।संसारका सबै मुस्लिम समुदायको लागि यो एक महिनाको निकै विशेष महत्त्व रहेको छ ।यसै रमजान महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुराआन अवतरण भएको थियो । । रमजान महिनामा दैनिक  मिर्मिरे उज्यालोको समय देखि सूर्यास्त सम्म पानी पनि नखाई रोजेदारले आफूलाई कडा नियममा बाध्ने गर्छन् । यही यस पवित्र महिनामा बसिने रोजाको नियम पनि हो ।हरेक वालिग, समझदार महिला तथा पुरुषमाथि रोजा अनिवार्य गरिएको छ ।
तर, बृद्धबृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवति, रजश्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन । अल्लाहको प्रशन्नताको लागि बैध मनोकांक्षालाई समेत रोक्नु वा आफ्नो बशमा नियन्त्रित गर्नु,हृदयमा अल्लाहको भय लिएर नराम्रा किर्याकलाप र बोलि बचन बाट आफुलाई रोक्नु,हमेशा हृदयमा  अल्लाहप्रतिको आशा प्रेम जगाई राख्नु, उसलाई याद गर्नु नै रोजा हो । यो उपासना सृष्टि को उत्पत्ति देखि नै मानिसहरूलाई अनिवार्य गरेको मुस्लिम समुदायको मान्यता रहेको छ ।

रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँदछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यवहारिक प्रशीक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रोजा मनुष्यमा ईशपरायणता जन्माउने अत्यन्तै महत्त्वपूर्ण माध्यम हो । रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुने मुस्लिमहरू विश्वास गर्दछन् । रमजान दान, प्रतिदान र क्षमादानको महिना हो । यसमा गरिने प्रत्येक सुकर्म अन्य दिनको तुलनामा सात सय गुना प्रतिदान मिल्ने विश्वास गरिन्छ ।रोजा राख्ने व्यक्तिलाई अल्लाह ताला (ईश्वर) आफैंले उक्त कार्यको मुअब्जा दिन वाचा गर्नुभएको छ ।

 रोजालाई जम्मा तीन भागमा विभाजन गरिएको छ । पहिलो दश दिनसम्म अल्लाहले हामीलाई रहमत प्रदान गर्नुभएको हुन्छ । त्यसैगरी दश रमजानदेखि २० रमजानसम्म अर्थात् यो १० दिन आफनो जीवनमा गरेका पापहरुका लागि माफी माग्ने सुवर्ण अवसर हो । यस्तै, अन्तिम दश दिनमा जहन्नम (नर्क) बाट कसरी मुक्ति पाउने भन्नेमा विशेष ध्यान दिएर अल्लाहमा आफनो जीवनलाई परिवर्तन गरी आफूले गरेका पापहरुका लागि माफी मागेर आफनो जीवनलाई एउटा सानो बच्चाको समान बनाउनु आवश्यक हुन्छ । अन्तिम १० दिनका बिजोर रातहरु अर्थात् २१, २३, २५, २७ र २९ औँ रातलाई अरबी भाषामा ‘शब्वेकदरको रात’ भनिन्छ । अर्थात् यी रातहरु हजारौँ रातभन्दा महत्त्वपूर्ण हुन्छन् । माथि उल्लेखित रातहरुमा नसुती कुरान पढ्ने, नमाजहरु पढ्ने र आफ्नो जीवनमा गरेका पापहरुको विश्लेषण गरी अल्लाहसँग सही नियतले माफी मागेमा अल्लाहले वादा गरेका छन् कि म गफुरुररहीम हुँ अर्थात् म रहम गर्नेवाला छु । अवश्य तिम्रा पापहरु समाप्त गर्नेछु ।

सेहरी:

रातको आखिर प्रहरमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानामा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । सेहरी खान नपाए पनि रोजा भने आवश्य राख्नुपर्छ ।

इफ्तार :

सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । भनिन्छ– व्रतालुहरूको पुकार इफ्तारको समयमा स्वीकार हुन्छ । अर्काेतर्फ व्रतालुहरूलाई इफ्तार गराउनु अत्यधिक प्रतिदानको कार्य हो भन्ने मुस्लिमहरूको विश्वास छ ।

तराविह:
रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । यो रातमा पढिने नमाज हो । प्रायः तराविहमा सम्पूर्ण कुरआनको पाठ गरिन्छ ।

शबे कद्र:
रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनको लागि सर्वशक्तिमान अल्लाहको तर्फबाट हजरत मुहम्मदमाथि कुरान अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई “लैलतुल कद्र” पनि भनिन्छ । यस दिव्य रातलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरानले वर्णन गरेको छ । यस रातमा ईशदूतहरू पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास छ ।

ऐअतिकाफ :
एतिकाफ को शाब्दिक अर्थ कुनै कुरालाई आफू माथि अनिवार्य गर्नु र स्वयंलाई त्यसकोलागि रोकिराख्नु हो । रमज़ानको अन्तिम १० दिनको लागि मस्जिदको घेरा भित्र निश्चित रही अल्लाहको बढ़ी भन्दा बढ़ी भक्ति गर्नु नै एतिकाफमा बस्नु हो ।यो सबै लाई अनिवार्य हुदैन ।बस्ती बाट केहि मान्छे बस्दा हुन्छ ।

कुरानको अवतरण:

रोजा र कुरानबीच घनिष्ठ सम्बन्ध रहेको छ । रमजान कुरआन अवतरित भएको महिना हो । यो महिनामा धेरैभन्दा धेरै कुरआनको पाठ गर्नु पर्छ । मनवजातिको मार्गदर्शन तथा सत्य र असत्यको फरक गर्नका लागि अल्लाहले कुरआन हजरत मोहम्मदमाथि १७ अगस्त, सन् ६१० बाट अवतरण हुन सुरु भयोे । परिस्थिति र जुन अन्तर्वस्तुमा मार्गदर्शक वा आदेशको आवश्यकता पर्‍यो त्यसैअनुसार कुरानको अवतरणको प्रारम्भ भएको हो । यो सिलसिला मार्च, सन् ६३२ सम्म रह्यो । कुरानमा कुल ११४ सूरह (अध्याय) र ६६६६ आयात (श्लोकहरू) रहेका छन ।

जकात:
जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो । कुनै व्यक्तिसँग भएको सुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिको सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई नै जकात भनिन्छ । जकात दिनको लागि प्रचलित चाँदीको मूल्यको हद साढे ५२.५ तोला वा साढे ७.५ तोला वा यसको मूल्य बराबरको नगद रूपियाँ, एक वर्षसम्म सञ्चित रहिरह्यो भने त्यसको मालिकले १०० को २ दशमलव ५ प्रतिशतका दरले जकात निकाल्नु पर्छ ।जनावर र उब्जनीमा माटोको क्षमता तथा सिँचाई आधारमा जकात निकाल्नु पर्ने हुन्छ  । जकातका हकदार हरुमा निर्धन, अभावग्रस्त व्यक्ति, जकात असूल्न खटाईएका ब्यक्ति , आश्रय बिहीन ब्यक्ति, ऋण तिर्न अमसर्थ भएका ब्यक्ति , जरिवानाको कारण दास भएको बयक्ति, परनिर्भर यात्रु ,निस्वार्थ भावनाले धर्मको सेवा गर्ने ब्यक्ति हरु पर्दछन ।

जीवनमा सफल हुनका लागि कर्म गर्न जरुरी छ । रोजा यस्तो कर्म हो, जो मनुष्यलाई लोक एवं परलोक दुवैमा सफलता दिन्छ । रोजाले मनुष्यका सबै ज्ञानेन्द्रीयहरूलाई कुकर्म गर्नबाट रोकेर सत्यतर्फ प्रवृत्त गराउँछ । यो कुकर्मबाट टाढा रहने र पुण्य फैलाउने उपमा हो । यसैगरी रोजा उपासना, जनसेवा एवं मानवकल्याण हो । यसमा हामी सफल भए जताततै शान्ति फैलनेछ ।अरबी पात्रोको १० औं महिना सव्वालको खुर्पे चन्द्रमा देखिसकेपछि यो खुर्पे चन्द्रमाले रमजानको समाप्ती र ईदुल फित्रको खुशीयालीको संकेत दिन्छ । यसैले सौवाल महिनाको पहिलो तारिखमा “ईदुल फित्र” पर्व धुमधामसँग मनाउछन् । बिभिन्न जातजाति,समूदायको बिचमा अल्पसंख्यक मुस्लिम समूदाय बस्दै आए पनि कुनै मतभेद भएको पाईदैन् । मुस्लिमहरुको पर्व होस चाहे अन्य धर्मको पर्व सबै समूदाय उत्तीकै उत्साहपूर्ण तरिकाले एक अर्काको पर्वलाई सम्मान गर्ने गरेको पाइन्छ ।

रमजान महिनापछिको अर्को महिना सव्वाल हो । सववालको पहिलो दिन इदुल फित्रका रूपमा मनाइन्छ । यो दिन बिहान चाडैं उठेर नुहाइधुवाइ नयाँ नयाँ लुगालगाइ मुस्लिम समुदाय एक विशेष नमाज पढ्नका लागि  बस्ति भन्दा टाढा
इदगाहमा तोकिएको निर्धारित समयमा भेलाभइ इदको नमाज पढ्ने गर्छन् । नमाज पूरा हुन साथ एकआपसमा अंगालो मारेर इद मुबारक भनी खुशी साटासाट गर्छन् । मिठामिठा परिकार बनाएर आफन्त,इष्टमित्र,छरछिमेकी,गरिब,अनाथ,लगायत सबैलाई बोलाएर खान दिने र आफूपनि खाने गर्छन् । यसरी पुरानो कुनै रिसिइबी भए यस दिनबाट सबै रिसिइबीबिर्सेर प्रेम र उत्साहका साथ इदुल फित्रः मनाउने गरिन्छ । विगतको जस्तै यो वर्षको रमजान महिनाले पनि नेपाली समाजमा मानवता,आपसी सदभाव,भाइचारा कायम गरुन् मुलुकमा  समृद्धिको युग सुरु होस्, रमजानको हार्दिक शुभकामना !

 मानवकीय अध्ययनरत रहेका मिकाइल आलम पत्रकारिता गर्दै छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter