आइतबार, २३ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

२ बैशाख २०७५, आईतवार १४:१३ मा प्रकाशित

टोकियो, २ वैशाख (रासस÷एएफपी) : उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुग्नुभएको छ ।

दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ । चिनियाँ विदेशमन्त्रीले उत्तर कोरियाको विषयमा वार्तागर्न भन्दै जापान भ्रमण सुरु गर्नुभएको टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यी अधिकारीहरुबीच कोरियामा केही समयअघि भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि छलफल भइरहेको बुझिएको छ ।

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार मात्र दिएको थियो । उक्त मन्त्रालयका अनुसार दुई कोरियाका कार्यकारी तहका व्यक्तिहरुबीच केही दिनयता दुई चरणमा वार्ता भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार जापान पुग्नुभएको हो । उहाँले शनिबारै जापानी विदेशमन्त्री एवम् वाङ्का समकक्षी तारो कोनोसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

गएको जनवरी महिनामा मात्र जापानी प्रधानमन्त्री कोनो चीन पुग्नुभएको थियो । उहाँ र चिनियाँ विदेशमन्त्री वाङबीच बेइजिङमा पनि कुराकानी भएको थियो ।

यस पटकको भ्रमण विशेषगरी उत्तर र दक्षिण कोरियाबीच बिकसित पछिल्लो घटनाक्रमबारेमा केन्द्रित हुने पनि बताइएको छ ।

गएको फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर कोरियाली प्रतिनिधिको सहभागिताबाट दुई कोरियाबीचको सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

हालैमात्र उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गर्नुभएको थियो । दुर्लभमध्येको एक मानिएको उहाँको सो भ्रमणको व्यापक मात्रामा विश्वमा नै चर्चा भएको थियो ।

उक्त भ्रमणपछि दुई कोरियाबीच अर्काे एक महत्वपूर्ण उच्चस्तरीय द्विपक्षीय भ्रमणको पनि आदानप्रदान भएको छ । सो भ्रमणपछि यसै महिनाको अन्तिमतिर उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय सम्मेलन हुने तय भएको बताइएको छ ।

त्यसैगरी अमेरिका र उत्तर कोरियाबीच पनि औपचारिक भेटवार्ता हुने समाचार यसअघि नै आएको थियो । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मे महिनामा यस्तो भेटवार्ता हुन लागेको कोरियाली अधिकारीहरुको भनाई छ ।

यीनै विषयहरुमा चिनियाँ विदेशमन्त्रीको जापान भ्रमण केन्द्रित हुने भएको अनुमान गरिएको समाचारहरुमा जनाइएको छ ।

इस्ट चाइना सि देखि लिएर अरु पनि केही सीमासम्बन्धी विवादमा रहेका चीन र जापानबीचको यो द्विपक्षीय वार्तालाई पनि महत्वका साथ हेरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter