बिहिबार, १५ चैत २०८०

साउदी गएका राई जेल परेपछि परिवारको बिचल्ली

२४ चैत्र २०७४, शनिबार २०:१४ मा प्रकाशित

इलाम । पुरानो हुँदै गरेको घरमा सात दशक पूरा गरेका सासुससुरा, डेढ वर्षीय छोरा र पाँच वर्षीया छोरीसहितको परिवारको बोझ छ दक्षिणी इलामको माई नगरपालिका–४ दानाबारीकी ३० वर्षीया सरिता राईलाई । बिहान–बेलुकाको छाक टार्न त समस्या छ नै, परिवारका कोही सदस्य बिरामी पर्दा सबैभन्दा बढी समस्या हुने बताउँछिन् सरिता ।

जसोतसो विदेशमा कमाएर घरखर्च धान्दै आएका सरिताका पति प्रेमबहादुर राई विदेशमै जेल परेपछि उनको परिवार बिचल्लीमा परेको छ । सरिता आफ्नो पतिको बारेमा सम्झँदा निकै भावुक बन्छिन् । ‘परिवारका लागि कमाउने एक मात्र सदस्य विदेशमा नै जेल परेपछि अहिले घर चलाउन एमदमै समस्या परेको छ,’ सरिता भन्छिन्, ‘हजुरहरूले प्रयास गरिदिनुहोस् । मलाई सम्पत्ति चाँहिदैन । परिवार चलाउने पतिलाई उकासेर घरसम्म ल्याउने वातावरण बनाइदिनसुहोस् ।’

घरमा कोही नयाँ मान्छे आउँदा पनि पतिको केही सुखद् खबर आयो कि भन्ने लागेर होला, हतारहतार बाहिर निस्किन्छिन् र आफ्नो बिलौना पोख्न थाल्छिन् उनी । उनले घरमा आउने सबैलाई आफ्नो पतिलाई घर फर्काउन सहयोग गर्न आग्रह गर्ने गर्दछिन् । यसरी सरिताले बिलौना गर्न थालेको २ वर्ष बित्न लाग्यो । तर, उनको पति जेलमुक्त भएका छैनन् । सरिताका पति प्रेमबहादुर राई चोरीको आरोपमा विगत २३ महिनादेखि साउदी जेलमा कष्टकर जीवन बिताइरहेका छन् ।

कमाउन विदेश गएका छोरा उतै जेलमा परेको खबर पाएपछि प्रेमबहादुरका ७२ वर्षीय पिता लोकबहादुरसमेत चिन्तित छन् । ‘बूढेसकालमा छोराले सुखमा राख्ला कि भन्ने आसमा थिएँ,’ लोकबहादुर भन्छन्, ‘अहिले ऊ उतै जेलमा छ रे । तपाईंहरूले त्यसलाई घर फर्काउन सहयोग गरिदिनुहोला ।’ अढाइ वर्षीय नातिलाई काखमा खेलाउँदै गरेका लोकबहादुरले यी बच्चाको भविष्य के हुन्छ भन्ने चिन्ताले पिरोलेको बताए ।

यसरी पुगे प्रेमबहादुर साउदी

पहिलोपटक प्रेमबहादुर १२ जुन २०१२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको रूपमा साउदी गएका थिए । ४ सेप्टेम्बर २०१५ मा उनी घर आई पुनः १ जनवरी २०१६ मा त्यही कम्पनीमा कामका लागि गएका थिए । ३१ मार्च २०१६ का दिन लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङस्थलमा रोकेर साथी भेट्न गएका थिए ।

त्यत्तिकैमा गाडी हराएको र दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किलोमिटरको दुरीमा रोमा भन्ने स्थानमा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख रहेको प्रेमका दाजु चक्रबहादुरले बताए ।

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा ३ लाख १० हजार रियाल (नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको उनले बताए । विदेशमा कुद्ने गाडीमा जिपिएस प्रणाली हुने भएकाले कसले र किन चोरेर लग्यो भन्ने जानकारी पाइने भए पनि कम्पनीले निर्दोष भाइलाई फसाएको दाजु चक्रबहादुरको आरोप छ ।

भाइलाई र नेपाली दूतावासलाई कुवेतबाट फोन गर्दागर्दै महिनाको आधा तलब सकिने गरेको चक्रबहादुरले गुनासो गरे । उनले साउदीमा रहेको नेपाली राजदूतावासले समेत आफ्नो भाइको रिहाइको लागि खासै चासो नराखेको उनले बताए ।

रिहाइका लागि सरकारले चासो नराखेको परिवारको गुनासो
प्रेमबहादुरको रिहाइका लागि सरकार, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावास गम्भीर नभएको भन्दै अहिले देश तथा विदेशमा प्रेमबहादुर राई बचाउ अभियान सञ्चालन गरेर रकम संकलन गर्न थालिएको छ । तोकिएको रकम नबुझाएसम्म कारागार नै बस्नुपर्ने भएकाले उनको रिहाइका लागि अभियान सञ्चालन भइरहेको हो ।

पत्नी सरिता भन्छिन्, ‘सरकारले पहल गरेर उद्धार गर्छ भन्ने आसमा कतिपटक मन्त्रालय धाएँ, तर भएन, अनि अहिले पतिको रिहाइको लागि कम्पनीले दाबी गरेको रकम संकलन गर्न थालेका छौँ ।’ प्रेमबहादुरको पीडादायी अवस्थाको समाचार विभिन्न सञ्चारमाध्यममा बाहिर आएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन हुँदै आएको हो । हालसम्म विभिन्न समितिमार्फत करिब ४० लाख संकलन भइसकेको सरिताले बताइन् ।

sabhar: sourya daily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter