शुक्रबार, २१ बैशाख २०८१

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

२३ चैत्र २०७४, शुक्रबार १२:२५ मा प्रकाशित

क्वालालम्पुर, २३ चैत  मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ ।

उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।

उहाँले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गर्नुभएको छ ।

मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले अर्काे कार्यकालका लागि पनि आफू निर्वाचनमा उठ्ने योजना बनाउनुभएको बताएका छन् ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषदको एक विशेष बैठकपछि प्रधानमन्त्री रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद बिघटन गर्ने जानकारी दिनुभएको हो ।

उहाँले आफूले शनिबार संसद बिघटनको लागि मलेसियाका राजा सुल्तान मोहम्मद भिको अनुमति लिइसकेको जानकारी सो सम्बोधनका क्रममा दिनुभएको छ ।

निर्वाचनको मिति भने तोकिएको छैन । तर संसद बिघटन भएपछि मलेसियाको निर्वाचन अयोगले तोक्ने व्यवस्था छ ।

आजै मिति नतोकिएको भए पनि संसदको विघटन भएपछि बढीमा दुई महिनाभित्रमा निर्वाचन गराइसक्नुपर्ने प्रावधान संविधानमा रहेकोले सो निर्वाचन सुनिश्चित नै छ ।

मलेसियाली नागरिकहरुले २२२ सदस्यीय यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभा चयन गर्नेछन् ।

मलेसिया स्वतन्त्र भएपछिका प्राय सबै निर्वाचनहरुमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज् नेशनल अर्गनाइजेसन्ले नै संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ ।

उक्त दलले अर्काे एक सानो सत्ता गठबन्धन दल बरिसन नेशनलसँगको सहकार्यमा प्राय हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ ।

उक्त युएमएनओको वर्तमान अध्यक्ष पनि वर्तमान प्रधानमन्त्री रजाक नै हुनुहुन्छ । अहिले पनि यहाँका विश्लेषकहरुले सोही दलले नै सरकार निर्माण गर्न मिल्नेगरी सुविधाजनक बहुमत ल्याउने अनुमान गरेका विश्लेषणहरु गरिरहेका छन् ।

तर यस पटक भने प्रधानमन्त्री रजाकलाई सोही दलका संस्थापक तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्या परेको छ । यसले गर्दा उहाँको दललाई धक्का लाग्ने सम्भावना पनि ती विश्लेषकहरुले देखेका छन् ।

उहाँले पार्टीभित्रको विवादपछि सन् २०१६ मा सो युएमएनओ दल छोडेर विपक्षी दलमा जानुभएको छ ।

महाथिरका कारण प्रधानमन्त्री रजाक पनि विवादमा आउनुभएको थियो । उहाँ मलेसियाका एकजना लोकप्रिय ९२ वर्षीय राजनीतिज्ञ हुनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter