आइतबार, १६ बैशाख २०८१

महोत्तरी जिल्लामा उन्नाइस हजार अपांगताको तथ्यांक

१७ चैत्र २०७४, शनिबार १५:५२ मा प्रकाशित

बर्दिवास, १७ चैत (रासस) ः महोत्तरी जिल्लामा १८ हजार ९२४ अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ ।

जिल्ला समन्वय समिति महोत्तरीसँगको समन्वयमा नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले सन् २०१७ को वार्षिक प्रतिवेदन जारी गर्दै आज बर्दिवासमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

सन् २०१६ देखि खासगरी दृष्टिविहीनको पुनःस्थापनका लागि एनएबिपी नर्वेको आर्थिक सहयोगमा शुरु गरिएको कार्यक्रममा पहिले अपांगता भएकाको लगत संकलन गरिएको नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले जनाएको छ ।

फेला परेका अपांगता भएकामध्ये आँखा अपांगता हुनेको संख्या छ हजार ४६९ रहेको पुनःस्थापना कार्यक्रम निर्देशक अमृत राईले जानकारी दिनुभयो ।

जिल्लामा फेला परेका दृष्टिविहीनमध्ये उपचार नहुने ५१० महिलासहित एक हजार १११ छन् । तर उपचारले ठीक हुनसक्ने दुई हजार ८१ महिलासहित पाँच हजार ३५८ जनाले उपचार नगराएर दृष्टिविहीन जीवन बिताइरहेका पाइएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

दृष्टिविहीनको कूल संख्यामा १५ वर्ष मुनिका बालबालिका १८७ छन् । जसमा बालिकाको संख्या ६५ छ । पछिल्लो वर्ष सन् २०१७ मा नेत्रहीनको पुनःस्थापन कार्यक्रमअन्तर्गत एक हजार ६९० लाई उपचारका लागि अस्पताल पुग्न अभिप्रेरित गरिएको र ७० महिलासहित १६३ जना उपचार नलाग्नेलाई हिँडडुल गर्न सजिलो बनाउने तालीम दिएर हिँड्न दक्ष बनाइएको पुनःस्थापना कार्यक्रमले जनाएको छ ।

सन् २०१६ देखि सन् २०१९ सम्मका लागि स्वीकृत कार्यक्रमअन्तर्गत १२ बालिकासहित ४६ जना दृष्टिविहीन बालबालिकालाई विद्यालय भर्ना गराइएको कार्यक्रम निर्देशक राईले जानकारी दिनुभयो । सरकारी छात्रवृत्तिमा जिल्लाका तीन माध्यमिक विद्यालयमा दृष्टिविहीनका लागि कक्षा सञ्चालनको व्यवस्था सरकारले मिलाएको छ । यस्ता बालबालिकालाई शैक्षिक सामग्री र ओढ्ने ओछ्याउने लुगाको प्रबन्ध गरिएको पुनःस्थापन कार्यक्रमले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter