आइतबार, १६ बैशाख २०८१

भाडा दर निर्धारणपछि रिक्सा चालक आन्दोलित

जनकपुरका ई–रिक्सा सञ्चालकहरू

१६ चैत्र २०७४, शुक्रबार २१:५८ मा प्रकाशित

जनकपुरधाम । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरू आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरूले जुलुस निकाल्न खोजेपछि बिहीबार पटकपटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रहरीले दुईपटक ई–रिक्सा सञ्चालकहरूमाथि सामान्य लाठी चार्जसमेत गरेको छ ।

विरोधमा नगरभित्र जुलुस निकाल्न जनकपुरको बाह्रबिघा मैदानमा सयौंको संख्यामा अटो ई–रिक्सा सञ्चालकहरू रिक्सासहित भेला भएका थिए । उनीहरूलाई जुलुस गर्न नदिन दर्जनौँको संख्यामा प्रहरी परिचान गरिएको थियो । महँगाइको समयमा यातायात व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाइले आपूmहरूको घरपरिवार खर्च धान्नसमेत मुस्किल हुने ई–रिक्सा सञ्चालकहरूको गुनासो छ । उनीहरूले भाडादर परिमार्जनको माग गरेका छन् ।

नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका पूर्वअध्यक्ष मनोज झाले जनकपुर उपमहानगरपालिका बाहेक देशका अन्य ७६ वटा जिल्लामा ई–रिक्साहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताउँदै यहाँ जनकपुर उपमहानगरपालिकाले व्यवस्थापन नै नगरी पटकपटक रिक्सा सञ्चालकहरूलाई झटका दिँदै आएको गुनासो गरेका छन् । उनले भने, ‘दररेट निर्धारण गर्ने अधिकार उपमहानगरपालिकाको रहे पनि

ट्राफिकले जबरजस्ती दररेट निर्धारण गरेको हो ।’ रोड नभई तोकिएको रेट आफुहरूलाई मान्य नरहेको उनले बताए । नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका अध्यक्ष शंकर ठाकुरमाथि आक्रोशित हुँदै पूर्वअध्यक्ष झाले जनकपुर उपमहानगरपालिकाभित्र सञ्चालित १ हजार ७ सय ई–रिक्सा सञ्चालक मध्ये ठाकुर मात्र ४० जनाका लागि अध्यक्ष रहेको आरोप लगाए । उनले वर्तमान अध्यक्ष ठाकुरले आपूmहरूसँग कुनै सल्लाह नै नगरी आपूmखुसी रेट निर्धारण गर्ने सम्झौतामा हस्ताक्षर गरेको गुनासो गरेका छन् ।

झाले भने, ‘आपूmहरूले जिल्ला प्रशासन, जनकपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालयमा निर्धारण गरिएको दररेट फिर्ता लिन माग गरेका छौँ । यदि तीन दिनभित्र आपूmहरूको माग सम्बोधन नगरिए चक्काजाम, उपमहानगरपालिकाको कार्यालय र ट्राफिक प्रहरी कार्यालयको अगाडि धर्ना दिने लगायतका संघर्षका कार्यक्रमहरू गर्ने चेतावनीसमेत दिएका छन् ।

यता, मनोमानी ढंगले ई–रिक्सा चालकहरूले यात्रुसँग भाडा असुल गरिरहेको गुनासो आउन थालेपछि ट्राफिक कार्यालय धनुषाले मूल्यदर निर्धारण गरेको हो । ई–रिक्साको भाडामा एकरूपता ल्याउनका लागि भाडादर कायम गरिएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरिनन्दन चौधरीले बताए ।

गत एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई–रिक्साहरूको भाडादर निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई–रिक्साहरूमा भाडादर स्टिकरसमेत टाँसेको थियो । नयाँ भाडादर अनुसार जनकपुरधाम नगरभित्र चलाउने ई–रिक्साहरूले ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्रै भाडा असुल्न पाउनेछन् ।

साभार : सौर्य डेली

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter