शुक्रबार, २१ बैशाख २०८१

दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

१६ चैत्र २०७४, शुक्रबार १४:१३ मा प्रकाशित

वासिङ्टन, १६ चैत (रासस÷सिन्ह्वा) ः उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ ।

यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले यस विषयमा जानकारी दिनुभएको हो । उहाँले बिहीबार उक्त मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा भन्नुभयो– दुई कोरियाबीचको आसन्न सम्मेलनका कारण अमेरिकासँगको आगामी बैठक पनि थप सहज हुनेछ ।

उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस बैठकको कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्नुहुने भएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सो बैठकअघि अमेरिकी विदेश मन्त्रालयको यो भनाई आएको हो ।

प्रवक्ता हाइदरले भन्नुभयो– हामीले उत्तर कोरियासँग विश्वासका आधारमा वार्तागर्ने तयारी गरिरहेका छौँ र हाम्रो विश्वासअनुरुप उत्तर कोरियापनि आओस भन्ने हामी चाहन्छौँ ।

उहाँले यस वार्ताकै विषयमा उत्तर र दक्षिण कोरियासँग कैयौँ पटकसम्म फोनमा कुराकानी पनि भएका जानकारी सो अवसरमा दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

यस्तै गत बुधबार मात्र पनि ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुदै गएको जानकारी दिनुभएको थियो ।

किमका लागि यो ठूलो अवसर – राष्ट्रपति ट्रम्प

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमका लागि यो राम्रो अवसर भएको स्पष्ट गर्नुभयो । किमले कोरियाली प्रायद्वीमा अब मानवीयताका आधारमा सोच्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभएको छ– ‘उत्तर कोरियाका लागि यो राम्रो अवसर हो, अब यसलाई कसरी सदुपयोग गर्ने र कोरियाली प्रायद्वीपको विषयमा अब विश्व समुदायसँग कसरी अघिबढ्ने भन्ने बारेमा नेता किमले नै बुझ्नुपर्दछ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनुभएको हो ।

हालैमात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाई आएको छ ।

उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter