शुक्रबार, १६ चैत २०८०

चैती छठपर्वको तयारी हुँदै

४ चैत्र २०७४, आईतवार २०:३८ मा प्रकाशित

वीरेन्द्र कर्ण  , वीरगन्ज ।  लोक आस्थाको पर्वका रुपमा रहेको चैती छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृंगार्ने काम भइरहेको छ ।

कतिपय पोखरी र घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा चैती छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवरहरु घडिअडवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाटसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । स्थानीयवासीका अनुसार प्रत्येक वर्ष चैती छठ मनाउनेको संख्यामा वृद्धि भइरहेको छ । छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै चहलपहल देखिन थालेको छ ।

स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष छठको आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ । यस वर्ष चैती छठ चतुर्थी (चैत ७) देखि शुरु हुने छ भने चैत १० गते सम्पन्न हुनेछ । छठको पहिलो दिन व्रती महिला नहाय खाय गरी छठ पर्व आरम्भ गर्ने गर्छन् ।

छठको दोस्रो दिन खरना विधि गरिएको छ, खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरको लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाई सकेपछि व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको छ ।

अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर व्रत समाप्त गर्छन् । पारिवारिक सुख शान्ति छ, कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले यो पर्व मनाउने हो । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter