शुक्रबार, १४ बैशाख २०८१

एमाले न जुट न फुट, एकता प्रयास पनि आलोचित

दिपा दाहाल

१९ जेष्ठ २०७८, बुधबार १६:२९ मा प्रकाशित

 पछिल्लो पटक उग्र झगडापछि अलग बाटो लागेका एमालेका दुई धार आफ्नो लयमा फर्कने अझै कुनै संकेत मिलेको छैन। अर्थात यी पृथक धार न जुट्न सकेका छन्, नत फुटको औपचारिक घोषणा गर्न सकेका छन्।

द्विविधा र अस्पष्टताबीच नै फेरि सुरु भएको पार्टी एकताको प्रयास पनि अब आलोचित बन्न थालेको छ। पार्टी एकताका लागि गठित कार्यदलका एक सदस्य नेपाल पक्षका नेता भीम रावललाई नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी साधारण सदस्यबाटसमेत निस्काशित गरिसकेको र कार्यदलका नेपाल पक्षका अर्का सदस्य रघुजी पन्त अनुपस्थित एकता प्रयासको वार्ताको औचित्यबारे प्रश्नहरु उठ्न थालेका हुन्।

ओलीले रावलसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बाँकी ९ जना समानुपातिक सांसदहरुलाई १० दिन अघि नै पार्टी साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेका थिए। त्यसपछि पार्टी एकताको प्रयासका लागि गठित कार्यदल निष्कृय बनेको थियो।
तर कार्यदलमा नेपाल पक्षका सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र कार्यदल भन्दा बाहिरका योगेश भट्टराईले ओली पक्षसँग सोमबार राती राजधानीको याक एण्ड यती होटलमा ४ घण्टा लामो वार्ता गरेका थिए।

नेता विष्ट र भट्टराईले पहिला विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरे पनि पछि सर्वोच्च जान हच्किएका थिए।

तर संसद विघटनको विरुद्धमा उनीहरुसहित नेपाल पक्षका १५ जनाले संयुक्त वक्तव्य जारी गरी ओलीको निरंकुश शैलीविरुद्ध एक हुन नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका थिए।

कार्यदलका महत्वपूर्ण सदस्यलाई कारवाही गरेर बाँकी सदस्यसँग मात्रै गरेको एकता प्रयासको वार्ता नै अनाधिकृत, रणनीतिक र धुर्ततापूर्ण भएको दाबी नेपाल पक्षकै नेताहरुबाट आउन थालेको हो।

नेपाल पक्षका नेता एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले बुधबार सामाजिक सञ्जालमा भनेका छन्,‘यथा अवस्थाको वार्ता अनाधिकृत वा व्यक्तिगत मात्र हो र यो वार्ता निर्लज्ज प्रकृतिको हो।’

नेता राईले वार्ता चाहिएको हो भने सहमतिको खाका निर्माणका क्रममा एकपछि अर्को कारबाहीको डन्डा किन चलाएको हो? भन्ने प्रश्न गरेका छन्।

उनका प्रश्नहरु छन्,‘ खुदै वार्ता टोलीका शीर्ष सदस्यलाई समेत कारवाही किन गर्नु? एकता चाहने हो भने बरु गरिएका कारवाहीहरुको फुकुवा गर्दै पो जानु पर्छ त?’ उनले वार्ता टोलीका एक शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेन नहरने गरी कारबाही गरिएको, कारबाही गर्ने नियतले वार्ता टोलीका अन्य सदस्यलाई स्पष्टीकरण सोधिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ? भन्ने प्रश्न गरेका छन्।

ओलीले पछिल्लो पटक अघि सारेको शर्त मान्ने अवस्थामा नेपाल पक्ष छैन। नेता युवराज ज्ञवालीले भने, ‘हामी किन आत्मालोचना गर्ने? हाम्रो पक्षलाई पार्टीबाट निस्काशन गर्ने ओलीले पो आत्मलोचना गर्ने हो? संसद विघटन गर्ने जस्ता गैरसंवैधानिक कार्यप्रति उहाँका आत्मलोचना हुनुपर्दैन?’

यता नेपाल पक्षका अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि पछिल्लो पटक भइरहेकाे पार्टी एकताको प्रयासको कुनै औचित्य देखेका छैनन्।

उनले आफूहरुलाई भुलाउने काममा मात्रै ओली पक्ष लागेको बताए। उनले भने,‘ ओलीले हामीलाई झुक्काउने काम गर्छन् भन्ने आशंका सुरुमै उब्जिएको थियो। तर पार्टी एकताको आशमा हामीले उनलाई विश्वास गर्याैँ। अब विश्वास गर्नुपर्ने कुनै कारण छैन। वार्ताका लागि प्रयास भइरहेको छ भन्नु पुनः हामी गुमराहमा पर्नु हो।’

ओली पक्षका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने कार्यदल पुनर्गठित नहुने बेलासम्म अन्य संयन्त्रहरुबाट पार्टी एकताको प्रयास जारी राखेको बताए।

तर एकता प्रयासको प्रगतिबारे उनीसँग स्पष्ट जवाफ छैन। पछिल्लो पटकको वार्तामा ओलीले यो बीचमा नेपाल पक्षले गरेका सबै गतिविधिलाई लिएर सार्वजनिकरुपमा आत्मलोचना गरेमा गत वैशाख ३० गते नेता नेपालसँग जनाएको प्रतिवद्धता अनुसार २ जेठ २०७५ मा फर्कन तयार भएको अडान वार्तामा आफ्ना दूतहरुमार्फत सुनाएका छन्।

तर ओलीले पछिल्लो पटक अघि सारेको शर्त मान्ने अवस्थामा नेपाल पक्ष छैन। नेता युवराज ज्ञवालीले भने, ‘हामी किन आत्मालोचना गर्ने? हाम्रो पक्षलाई पार्टीबाट निस्काशन गर्ने ओलीले पो आत्मलोचना गर्ने हो? संसद विघटन गर्ने जस्ता गैरसंवैधानिक कार्यप्रति उहाँका आत्मलोचना हुनुपर्दैन?’

केही दिन अघि एक सार्वजनिक कार्यक्रममा आफूहरु युवाहरुको नेतृत्व गर्न तयार भएको नेता नेपालले बताएका थिए। उनी निकट एक युवाले निर्वाचन आयोगमा नयाँ दलसमेत दर्ता गरिसकेको अवस्थामा अब ओली–नेपाल मिलन टाढिनुका साथै नयाँ दल अस्तित्वमा आउने देखिन्छ।

यद्दपि पार्टी एकताको प्रयास अन्तिमसम्म जारी राख्ने आफूहरुको योजना रहेको वार्तामा सामेल भइरहेका नेता भुसालले बताएका छन्। उनले भने,‘ पार्टीमा जे भइरहेको छ त्यसमा हामी दुःखी छौँ। संविधान र लोकतन्त्रलाई धरापमा पार्ने गतिविधिको हामीले खुलेर विरोध पनि गरेका छौँ। तर पार्टी एक राख्न हामीले प्रयास गर्नै पर्छ। त्यो अन्तिम अवस्थासम्म जारी रहने छ।’

नेता भुसालसँगै पछिल्लो पटक वार्तामा सक्रिय नेताहरुले चाँडै नै ओलीलाई भेटेर मनाउने कोशिस समेत गर्ने बुझिएको छ।

तर ओलीले बुधबार बोलाएको स्थायी कमिटी बैठकले थप १२ जनालाई पनि पार्टीबाट निकाल्ने निर्णय भएको खण्डमा एकताप्रयासको अध्याय समाप्त गर्नुपर्नेमा नेपाल पक्ष दृढ छ।

सम्भवत त्यही संकेत पाएर होला वार्तामा सामेल भइरहेका नेताहरुलाई कारबाही गर्न ओली पछि हटिरहेको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए।

उनले भने,‘ गल्ती सबैको भएको छ। तर वार्तामा सहभागी भइरहेका नेताहरुलाई तत्काल कारबाही गर्दा पार्टी एकताको प्रयासको माध्यम धरासायी हुनेबारे प्रधानमन्त्री चिन्तित हुनुहुन्छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter