शुक्रबार, १४ बैशाख २०८१

वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छः नेता पुन

६ माघ २०७७, मंगलवार १८:३५ मा प्रकाशित

प्यूठान – नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन् ।

२०६२/०६३ को आन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण पनले गरे । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख गरे । ‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्यूठानमा सम्बोधन गर्दै पुनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास गर्‍यौं, तर उहाँ बयलगाडनकै मनोविज्ञानमा हुनुहुँदोरहेछ ।’ गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप पुनले लगाए । ओलीलाई दक्षिणपन्थको आरोप लगाउँदै पुनले दक्षिणपन्थहरु क्रान्तिकारी आन्दोलन हाबी हुँदा पछि लाग्ने र अलिकति मात्र कमजोर हुँदा टाउको उठाउने गरेको इतिहास संसारभर रहेको चर्चा गरे ।

‘केपी ओलीको निरंकुश शैली, व्यक्तिवाद र सन्काहा प्रवृत्तिका कारण एकता जोगाउन नसकिएकामा अप्ठेरो र लज्जित महसुस भएको छ’, पुनले भने, ‘ तर, एमाले निर्माण गर्ने, विचार, विधि, पद्धतिमा आधारित पार्टी निर्माण गर्ने माधवकुमार नेपाल हो, झलनाथ खनाल हो, त्यो प्रवृत्ति हामीसँगै छौँ ।’

पुनले भने, ‘ओलीमा फासीवादी चरित्र छ । फासिष्टको कोही मित्र हुँदैन, कमरेड हुँदैन । फाँसीवादीसँग दास, पिछलग्गु मात्र हुन्छन् । जे पनि पनि हवस महाराज भन्ने प्रवृत्तिका मान्छेहरु हुन्छन् । आलोचना गरे सत्रु मात्र हुन्छ । समर्थन गर्दा दास मात्र हुन्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा पटकपटक बहुमत प्राप्त दलको नेताले सरकार चलाउन सकेन र जनतामा जान्छु, चुनावमा जान्छु भन्दा पाउने कि नपाउने ? भन्ने प्रश्न गरेको प्रसंग कोट्याए । पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिए । ‘वकिलहरुको र हाम्रो तर्क के हो भने पाउँदैन । एक नेताले सकेन भने अरु पनि विकल्प हुन्छ, राजीनामा दिएर हिंड्ने हो । काम गर्न सकेन भने राजीनामा दिन्छ,अर्को आउँछ कुरा स्पष्ट छ ।’

निर्वाचन घोषणा गरेका कारण वैशाख अन्तिमसम्म वैधानिकता रहे पनि त्यसपछि वर्तमान कामचलाउ सरकारको वैधता सकिने पनि उनले बताए । ओलीलाई उक्साएर प्रतिनिधिसभा विघटन गराउने शक्तिले नै अर्को खिलराज रेग्मीको खोजी गरिसकेको दाबी उनको छ ।

‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढ–दुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले भने, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter