शुक्रबार, १४ बैशाख २०८१

भारतीय सेनाप्रमुखको भ्रमणअघि किन रअ प्रमुख नेपाल आए?

६ कार्तिक २०७७, बिहीबार ११:२३ मा प्रकाशित

काठमाडौँ- दुई देशबीच सम्बन्ध बिग्रिरहेका बेला भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयल बुधबार ‍औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन्।

भारतीय बायु सेनाको विषेस विमानमा गोयलसहित रअका अधिकारी दिउँसो पौने १ बजे नेपाल आइपुगेका हुन्। रअको नेपाल समकक्षी संस्था राष्ट्रिय अुनसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको अवस्थामा सरकार प्रमुखकै ‘इन्ट्रेस्ट’मा गोयलको नेपाल भ्रमण तय भएको अधिकारीहरुले बताएका छन्। यसअघि रअका अधिकारीहरु गोप्यरुपमा आउने गर्थे।

बिहीबार बिहान साढे ९ बजे स्वदेश फर्कनुअघि गोयलले विशिष्ट सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ। यद्यपी उनले ककसलाई भेट्दैछन् भन्नेबारे केही खुलाइएको छैन। भारतीय सेनाप्रमुख मनोज मुकुन्द रणवानेको नोभेम्बरमा तय भएको नेपाल भ्रमणअघि गोयलको यस ‘यात्रा’ले अर्थपूर्णरुपमा हेरिएको छ। रणवानेको औपचारिक नेपाल भ्रमणले पनि दुई देशको सम्बन्ध सुधार हुने विश्लेषण भइरहेको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ अधिकारीलाई भेट्ने कार्यक्रम छ।

भारतले आफ्नो भूमि दावी गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नेपालले केही महिनाअघि राजनीतिक नक्सा जारी गरेपछि यी दुई देशको सम्बन्ध बिग्रिएको छ। नेपालको आन्तरिक राजनीति उथलपुथल भएको बेला र दुई देशबीचको सम्बन्ध चिसिएका समयमा रअका अधिकारीहरुको आउजाउ बढ्ने गर्छ। तर यसपटक भ्रमण औपचारिक नै रहनुले भारतले सम्बन्ध सुधारका लागि दूत पठाएको हुन सक्ने अनुमान गरिएको छ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारी रअ प्रमुख गोयलको नेपाल भ्रमणलाई सिमा विवाद, नेपालको आन्तरिक राजनीति र चीन-भारतबीच सिमामा बढ्दो तनावसँग जोडेर हेर्छन्।

‘भारत-चीनबीच सिमामा तनाब बढ्दो छ। चीन, नेपालसँग जोडिएकाले यहाँसँगको सम्बन्ध सुधार गर्नुको विकल्प उसलाई छैन। अर्को कुरा, नेपालको आन्तरिक राजनीति आफु अनुकुल बनाउने खेल भारतको सँधै भइरहन्छ। पछिल्लो समय सत्तारुढ नेकपाभित्र जुन खालको अवस्था देखिएको छ त्यसलाई भारतले नजिकबाट हेरिरहेको छ’, ती अधिकारी भन्छन्, ‘त्योभन्दा महत्वपूर्ण चाहिँ सीमा विवाद नै हो। यसको समाधानको विकल्प भारतले देखेको छैन। नेपाल-चीन सम्बन्ध र गठबन्धनको चिन्ता पनि भारतलाई छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter