शुक्रबार, १४ बैशाख २०८१

मन्त्रिपरिषद् १२ औँ पटक पुनर्गठनका तीन विकल्प, नयाँलाई अवसर दिन शीर्ष नेता तयार

४ आश्विन २०७७, आईतवार २१:३६ मा प्रकाशित

काठमाडौँ– आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन हुने एजेण्डाले प्रवेश पाएसँगै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु हेरफेर हुने प्रक्रिया ठोस रुपमा अघि बढेको छ।

स्थायी समितिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावलाई कार्यान्वयनमा लैजानेबारे निर्णय गर्न आइतबारदेखि सुरु भएको सचिवालय बैठकमा एजेण्डा पेश भइ गम्भीर रुपमा छलफल भएको छ।

पेश भएका चारवटा एजेण्डामध्ये आइतबार मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल केन्द्रित रहेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए। मन्त्रिमण्डल १२ औँ पटक हेरफेर हुन लागेको हो।

अर्का एक सचिवालय सदस्यका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका तीनवटा मोडेलमा छलफल भएको छ। पहिलो सुरुमा मन्त्री भएका सबैलाई बिदाइ गर्ने, दोस्रो दुई वर्ष पूरा गरेकालाई बिदाइ गर्ने र तेस्रो विकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनका आधारमा हेरफेर गर्ने।

नौ सदस्यीय सचिवालयमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठले कार्यसम्पादनका आधारमा मन्त्रीहरु फेरफेर गर्नुपर्ने सुझाव दिएका छन्।

नेकपामा पटक–पटक सांसद भएर पनि मन्त्री बन्न नसकेकालाई अवसर दिनुपर्ने आवाज शसक्त रुपमा उठिरहेको छ।

स्थायी समितिले १५ दिनभित्र मन्त्रिपरिषद् हेरफेर गर्न सुझाव दिएको थियो। पार्टीमा बढी नेताहरुलाई अवसर दिन प्रधानमन्त्री केपी शर्मा ओलीले हाल भएका २२ वटा मन्त्रालयमध्ये दुईवटालाई विभाजन गरेर २४ वटा पुर्‍याउने तयारी पनि भित्रभित्रै अघि बढाइरहेका छन्।

अहिले तीनवटा मन्त्रालय खाली रहेको र दुईवटा थपेर पाँचवटा खाली बनाउने तथा केही मन्त्रीलाई बिदाइ गरेर नयाँलाई अवसर दिने तयारी प्रधानमन्त्री ओली रहेको बालुवाटार स्रोतको दाबी छ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद्‍‌को पुनर्गठनसँगै संवैधानिक निकाय तथा राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने र विविध एजेण्डा पेश भएका छन्। बैठकमा पार्टीका पूर्णकालीन केन्द्रीय सदस्यलाई जीविको पार्जनका लागि नियमति रकम उपलब्ध गराउने प्रस्ताव पनि पेश भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter