शुक्रबार, १४ बैशाख २०८१

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णयः अहिलेकै अवस्थामा बस चलाउन सकिन्न

२६ असार २०७७, शुक्रबार २०:२७ मा प्रकाशित

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने जनाएको छ।

सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो।

महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ।

लकडाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजार देखि ५ लाखसम्म खर्च हुने अवस्था भएकाले पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने उनले बताए।

भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उनले बताए।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो। यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter