मङ्गलबार, ०६ चैत २०८०

देशभर थप १३ नयाँ विमानस्थल बनाउने तयारी

२८ माघ २०७६, मंगलवार २०:५७ मा प्रकाशित

काठमाडौं । सरकारले देशभर थप एक दर्जन नयाँ विमानस्थल बनाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलसहित थप १३ विमानस्थल निर्माणको योजनामा छन् । ति विमानस्थलमध्ये कतिपयमा सम्भाब्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम समेत भइसकेको छ ।

आयोजनाको सूचिमा सरकारले पटक पटक अध्ययन गरेपनि सम्भाब्य नदेखिएको काभ्रेमा प्रस्तावित त्रिभुवन विमानस्थलको वैकल्पिक आन्तरिक विमानस्थलसमेत रहेको छ । सरकारले आगामी ५ वर्ष भित्र हवाई पूर्वाधारमा मात्र ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । यी विमानस्थल सोही लगानीभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । यो रकममध्ये १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलमा मात्र खर्च हुनेछ ।

प्रस्तावित विमानस्थल अहिलेमात्र अगाडि बढेका भने होइनन् । विगतदेखि सरकारले नीति तथा कार्यक्रममा राखेपनि कार्यानवयनमा जान नसकेका विमानस्थल आयोजनालाई प्राधिकरणले प्रस्तावित विमानस्थलको सूचिमा राखेको हो ।

नेपालमा अहिले निर्माण सम्पन्न भइसकेका विमानस्थलको संख्या ५४ पुगिसकेको छ । यसमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलसमेत हो । बनिसकेका विमानस्थलमध्ये ३२ विमानस्थलमात्र नियमित संचालनमा छन् ।

२२ विमानस्थल भने बन्द अवस्थामा छन् । कतिपय व्यापारिक दृष्टिले चल्न सकेनन् भने कतिपय सडक यातायातका कारण विमानस्थल नै विस्थापित हुने अवस्थामा पुगेका हुन् । दुई विमानस्थल (पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय र अर्घाखाँची विमानस्थल) निर्माणाधिन अवस्थामा छन् ।

दाङ (नारायणपुर), धनकुटा, धरान, गुडेल (सोलुखुम्बु) , हुम्ला (मदनखौला) , पाँचथर (रानीटार), प्यूठान (स्वर्गद्धारी), निजगढ विमानस्थल (बारा), तेह्रथुम (चुहानडाँडा), उदयपुर (जोगिदह), बागलुङ (अरङकोट), काभ्रे र चरङ (मुस्ताङ) मा विमानस्थल बनाउन प्स्ताव गरिएको हो ।

सम्भाव्यता नदेखिएको काभ्रेदेखि चुहानडाँसडासम्म

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल बनाउने योजना समेटेको छ ।

‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक आन्तरिक विमानस्थल निर्माण गरिने छ,’ बजेटमा उल्लेख छ ।

यो त्यही आयोजना हो, जसलाई प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले फिर्ता लिन निर्देशन दिएको थियो । समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई यो कार्यक्रम फिर्ता लिन निर्देशन दिएको थियो ।

तर, सरकारले भने यस विमानस्थलमा हरेक वर्ष बजेट छुट्याउने गरेको छ । काभ्रेमा विज्ञ टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विमानस्थल बनाउन उपयुक्त स्थान भेटिसकेका छैनन् । सोहीकारण आव २०७५/७६ मा यस विमानस्थलका लागि राखिएको २५ करोड रुपैयाँ खर्च नै हुन सकेन ।

स्व. तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी दूर्घटनामा परेकै दिन १५ फागुन २०७५ मा तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडा विमानस्थल आयोजनाको स्थलगत अनुगमनमा थिए ।

यो विमानस्थल आयोजनासमेत नयाँ प्रस्तावित विमानस्थलको सूचीमा राखिएको छ । यो विमानस्थल निर्माणमा ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

चालु आवमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत सम्भाब्यता अध्ययन (डीपीआर) को काम समेत सक्ने लक्ष्य प्राधिकरणले लिएको छ ।

saabhar: onlinekhabar

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter