शुक्रबार, १४ बैशाख २०८१

मादलको व्यापार घट्दो

७ कार्तिक २०७६, बिहीबार १४:३० मा प्रकाशित

खाँदबारी, ७ कात्तिक    सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ । गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री गर्न थालिएको छ । तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री शुरु भए पनि व्यापार भने घट्दो छ । एउटा मादलको मूल्य दुई हजारदेखि १२ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरक फरक पर्दछ । मादल व्यवसाय गर्दै आउनुभएका भोजपुर केउरेनीपानी–१ का टेकबहादुर बिसुंखेले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निराशा आएको बताउनुभयो । केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्नेहरुको थुप्रै समूह पाइन्थ्यो । आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो । डिजिटल गीत सङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेपछि यो व्यवसायमा लागेकाहरुलाई भने झनै समस्या पर्दै गएको दिङ्लाका मादल व्यवसायी रमेश धुलोकोटीले बताउनुभयो । पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप भएको धुलोकोटीको भनाइ छ । विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्री वितरण कम हुँदै गएको छ । विद्युतीय बाजाको प्रयोगका कारण मादल बनाउने पेशा अङ्गालेका व्यक्तिहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter