शुक्रबार, १४ बैशाख २०८१

बाढीपीडितलाई राहत वितरण

१६ आश्विन २०७६, बिहीबार ११:४५ मा प्रकाशित

गलेश्वर, १६ असोज  असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् । समाज कल्याण परिषद्को तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढीपीडित पार्वती परियारलाई रु ६० हजार, अनिता परियारलाई रु ४० हजार, दिलप्रसाद जुग्जाली र राममाया परियारलाई रु ३०÷३० हजार, रमेश परियार, रेशम परियार, विष्णु परियार र सेते किसानलाई रु १०÷१० हजारका दरले राहत रकम प्रदान गर्नुभएको हो । त्यसैगरी बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापा, कार्यपालिका सदस्य गौमती नेपाली, डम्मर पोखरेल र चन्द्र कुँवरले आफूले पाएको पारिश्रमिकबाट रु ५१ हजार बाढीपीडित राहत सहयोग व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजाललाई हस्तान्तरण गर्नुभयो । त्यस्तै अष्टे«लियामा रहनुभएका बगरफाँटका दीपक कार्कीको नेतृत्वमा सङ्कलन भएको रु ६१ हजार ८०० बैंक खातामा जम्मा भएको भौचर पनि स्थानीयवासी पदमपाणि शर्माले समितिका अध्यक्ष रिजाललाई हस्तान्तरण गर्नुभएको थियो । विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले सात परिवारलाई एक÷एक बोरा चामल र एक÷एक थान ब्ल्याङ्केट सहयोग गरेको छ । सो अवसरमा हलकरा चन्द्रबहादुर क्षेत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हुलाक अधिकृत साधना श्रेष्ठले जानकारी दिनुभयो । बाढीपीडितको घर पुनःनिर्माणका लागि सञ्चालित अभियानमा हालसम्म रु दुई लाख ७१ हजार सङ्कलन भएको राहत सहयोग सङ्कलन तथा व्यवस्थापन समितिका सचिव उषा घर्ती घिमिरेले जानकारी दिनुभयो । बाढीले क्षति गरेको बुद्ध एकेडेमीको तीव्ररुपमा पुनःनिर्माण कार्य भइरहेको छ । सो अवसरमा मन्त्री थापाले बाढीपीडितलाई पुर्नवासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुका साथै सरकारले पनि सहयोग गर्ने बताउनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter