शुक्रबार, १४ बैशाख २०८१

नमूना विद्यालयको प्राथमिकताः शैक्षिक गुणस्तरीयता

१८ भाद्र २०७६, बुधबार १६:४३ मा प्रकाशित

बेझाड, १८ भदौ  नमूना विद्यालयका रुपमा छनोट भएसँगै पाल्पाका चार सामुदायिक विद्यालय यतिखेर शैक्षिक गुणस्तरीयता र पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी मावि, गङ्गा मावि, तानसेन नगरपालिकास्थित दमकडा मावि र माथागढी गाउँपालिकाको कसेनीस्थित दिव्यज्योति माविलाई नमूना विद्यालयको छनोटमा परेका हुन् । तीमध्ये रामतुलसी, गङ्गा र दमकडा मावि विसं २०७३ मा र दिव्यज्योति मावि यो वर्ष छनोटमा परेका छन् । ती विद्यालयले पञ्चवर्षीय गुरुयोजना बमोजिम भौतिक तथा शैक्षिक क्षेत्रमा आफ्ना काम अघि बढाएका छन् । पूर्वी पाल्पाकै जेठो विद्यालय रामपुर नगरपालिका– ५ स्थित रामतुलसी माविले नमूना विद्यालय छनोट प्रक्रिया अनुसार विभिन्न कार्य अगाडि बढाएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट आएको रु एक करोड ५० लाख बजेट रामपुर नगरपालिकामार्फत विद्यालयलाई उपलब्ध गराइएको छ । उक्त बजेटबाट भौतिक, शैक्षिक, व्यवस्थापन क्षेत्रमा खर्च गरिएको विद्यालयले जनाएको छ । आठकोठे पक्की भवन, अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण, शिक्षक तालीम, विद्यालयलाई प्रविधिमैत्री बनाउन सामग्री, पुस्तक खरीद, सफ्टवेयर जडान गर्ने काम सम्पन्न भएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । “गुरुयोजना बमोजिम काम भइरहेको छ, नमूना विद्यालयको रुपमा छनोटमा परेपछि पछिल्लो समय विभिन्न क्षेत्रबाट विद्यालय अवलोकन गर्न आउनेको चहलपहलसमेत बढ्न थालेको छ”, उहाँले भन्नुभयो । विद्यालयमा हाल दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन् । कक्षा नर्सरीदेखि अङ्ग्रेजी, नेपाली माध्यममा मावि तह, उच्च शिक्षातर्फ शिक्षा, व्यवस्थापन, विज्ञान, प्राविधिक धारतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषय पढाइ भइरहेको छ । विसं २०२५ मा चौरबाट शुरु भएको यस विद्यालय पाटीपौवा हँुदै अहिले भने पन्ध्र वटा ब्लकमा सुविधा सम्पन्न ७० कोठा रहेका छन् । यसले विद्यालयको मुहार नै फेरिएको छ । बिहानी सेवामा २० र दिउँसो सेवामा ६५ शिक्षक कर्मचारीमध्ये २५ सरकारी दरबन्दीका छन् भने बाँकी सबै निजी स्रोतमा कार्यरत छन् । रामपुर नगरपालिका– ८ स्थित एक्लेटारमा सञ्चालित गङ्गा माविले पनि गुरुयोजना बमोजिम विभिन्न भौतिक तथा शैक्षिक कार्य गर्दै आएका छन् । दुई सय मानिस अट्ने क्षमताको सभाहल निर्माण, दुई सय जनालेसँगै बसेर खाजा खान मिल्ने चमेना गृह, आठ कोठे पक्की भवन निर्माण गरिएको प्रधानाध्यापक देवराज देवकोटाले बताउनुभयो । “बालमैत्री वातावरणमा कक्षा सञ्चालन, भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यमा विद्यालयले जोड दिएको छ”, उहाँले भन्नुभयो । विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्ममा ६५० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र प्राविधिक धारअन्र्तगत पशुविज्ञान पढाइ हुदैँ आएको छ । विसं २०३५ मा स्थापना भएको यस विद्यालयमा हाल ४५ वटा कोठा रहेका छन् । नमूना विद्यालयकै रुपमा छनोटमा परेको जिल्लाको तानसेन नगरपालिका–९ स्थित दमकडा मावि जिल्लामै सामुदायिक विद्यालयतर्फ भौतिक, शैक्षिक, व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट हुन सफल भएको हो । नमूना विद्यालय शीर्षकमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट आएको रु एक करोड ५० लाखको बजेटबाट विद्यालयमा पक्की कम्पाउण्ड निर्माण सम्पन्न भइसकेको छ भने नौ कोठे एक तलाको भवन, तीन कोठासहितको तीन तले भवन निर्माणाधीन अवस्थामा रहेको प्रधानाध्यापक मोहन सापकोटाले बताउनुभयो । विद्यालयमा आठ सय विद्यार्थी अध्ययनरत छन् । आव २०७४÷७५ को माध्यमिक शिक्षा परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल यो विद्यालय कक्षा ८ को पालिकास्तरीय परीक्षामा पनि उत्कृष्ट हुन सफल भएको थियो । विस २०१३ मा स्थापना भएको यस विद्यालयमा न्यून दृष्टियुक्त कक्षा पनि सञ्चालन भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter