शुक्रबार, १४ बैशाख २०८१

द्वन्द्वपीडित बाख्रापालनमा रमाउँदै

११ भाद्र २०७६, बुधबार १३:५२ मा प्रकाशित

चितवन, ११ भदौ  दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन शुरु गरेका हुन् । माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन शुरु गर्नुभएको हो । सशस्त्र द्वन्द्वमा लागेका गोलीका छर्रा काफ्लेको खुट्टामा अझै छ भने तिवारीले बाँदरमुढे घटनामा श्रीमती, छोरा र भाउजू गुमाउनुभएको थियो । द्वन्द्वमा राज्य पक्ष र विद्रोहीबाट पीडा खेप्नुभएका उहाँहरुले समाजलाई नयाँ सन्देश दिनका लागि पनि यो व्यवसाय शुरु गर्नुभएको हो । करीब चार बिघा जग्गा भाडामा लिएर उहाँहरुले बाख्रापालन शुरु गर्नुभएको हो । खोरमा यतिबेला विभिन्न जातका ११५ वटा बाख्रा रहेका छन् भने बारीमा घाँस लगाइएको छ । काफ्लेका अनुसार उन्नत जातको बयर र स्थानीय जात जमुनापारिसँगै खरी जातका बाख्रापालन गरिएको छ । बारीमा अहिले थाइल्याण्डबाट ल्याइएको सुपर नेपियर नामक घाँस लगाइएको छ । जसमा बाख्रालाई आवश्यक पर्ने पौष्टिक तत्व बढी हुने काफ्लेले जानकारी दिनुभयो । तिवारीका अनुसार करीब रु ४५ लाखको लागतमा बाख्रापालन व्यवसाय शुरु गरिएको हो । उन्नतजातका पाठापाठी उत्पादन गरी किसानको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ यो व्यवसाय शुरु गरिएको तिवारीले बताउनुभयो । शुभारम्भ एग्रोफर्मको नामबाट अहिले व्यावसायिक बाख्रा फार्म सञ्चालनमा रहेको छ । फार्ममा बोयरबाट शुद्ध बोयर र स्थानीय जातसँग क्रस गराएर पाठापाठी उत्पादनको काम पनि भइरहेको छ । फार्मले सञ्चालनको पहिलो वर्षमानै नगरपालिकाबाट उत्कृष्ट बाख्रा फार्मको रुपमा सम्मानसमेत पाइसकेको छ । जहाँ अहिले दैनिक चार जनाले रोजगार पाइरहेका छन् भने अब बिक्री वितरणका लागि बाख्रा तयार भएका छन् । दुवै जना द्वन्द्वबाट पीडित भएका कारण अब व्यवसाय गरेर जीवनस्तर उकास्नु पर्छ भनेर व्यवसाय शुरु गरेको काफ्लेले बताउनुभयो । द्वन्द्वकालमा लागेको गोलीका छर्रा बोकी रहनुभएका काफ्लेले अहिले दलहरुबीचको असमझदारी देखेर दिक्क लागेपछि जीविकोपार्जनका लागि व्यवसाय शुरु गरेको गुनासो गर्नुभयो । परिवार गुमाउनुभएका तिवारीले पनि मन भुलाउनका लागि काम थालेको बताउनुभयो । आफूहरु दुवै यसमा रमाएको काफ्लेको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter