शुक्रबार, १४ बैशाख २०८१

५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

९ भाद्र २०७६, सोमबार २१:२० मा प्रकाशित

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।  उनले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’

लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।

धरौटीमा छुटेपछि पनि बाँकी कानूनी प्रक्रियाको सामना गर्नेछन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

saabhar: onlinekhabar

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter