शुक्रबार, १४ बैशाख २०८१

एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

२६ श्रावण २०७६, आईतवार ०९:४२ मा प्रकाशित

दमौली, २६ साउन एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो । केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा दानवीरहरुको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर आलेले जानकारी दिनुभयो । “गाउँमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु जिपको चर्को भाडा तिरेर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सहज मूल्यमा सर्वसाधारणलाई सेवा दिने उद्देश्य राखेर एम्बुलेन्स खरीद गर्ने सोच छ ।” उहाँका अनुसार यहाँका सर्वसाधारणले एम्बुलेन्स सेवा प्रयोग गर्न नपाउँदा दुःख भोग्नुपरेपछि विद्यालयको सक्रियतामा महायज्ञ आयोजना गरिएको हो । नगरपालिका भएर पनि विकासमा पछाडि परेको वडाका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन एम्बुलेन्स सेवा सञ्चालनका लागि महायज्ञ गरिनु सकारात्मक रहेको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथावाचन गरिरहनुभएको छ । एम्बुलेन्स खरीदका लागि महायज्ञ आयोजना गरिएको हुँदा केशवटारवासी खुशी भएका छन् । “एम्बुलेन्स सेवा नहुँदा बिरामीलाई सदरमुकाम दमौली या अन्यत्रको अस्पतालमा लैजान कठिनाइ हुँदै आएको छ”, स्थानीयवासी बसुन्धरा भट्टराईले भन्नुभयो । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter