जाजरकोट, १५ वैशाख ,, जाजरकोट नलगाड नगरपालिका– ४ का बद्री पन्त दुई महीनाअघि डोल्पा आउँदा यातायात व्यवसायीबाट हैरानी व्यहोर्नुपरेको थियो ।
उहाँ अहिले जाजरकोट–डोल्पा सडकखण्ड यात्रा गर्दै दुनै पुग्दा आनन्दले यात्रा गरेको बताउनुहुन्छ । उहाँ जस्तै अर्का यात्रु राजबहादुर शाहीले पनि यो पटक यात्रा सोचेको भन्दा पृथक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डोल्पा प्रशासनको कार्य निकै राम्रो लाग्यो, सिटभन्दा बढी यात्रु नराख्दा राम्रो भयो । ठाउँठाउँमा प्रहरीले जिप जाँच गर्दा यात्रुहरु सुरक्षित भएको महसुस भयो ।” दुई हप्तादेखि यस सडकखण्डमा चल्ने यात्रुलाई सुरक्षाको अनुभूति हुनुका साथै यातायात व्यवसायीको व्यवहारमा सुधार हुँदा यात्रु खुशी भएका छन् । ठाउँठाउँमा पुल नहुँदा सास्ती भए पनि यातायात व्यवसायीको सुध्रिएको व्यवहारले यात्रु उत्साहित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय जाजरकोटका साथै प्रशासन डोल्पाको सक्रियतामा यातायातमा हुने समस्या धेरैजसो समाधान भएको छ ।
ठाउँठाउँमा दुर्घटना हुँदा दर्जन यात्रुको मृत्यु र घाइते भएपछि दुई जिल्लाका प्रशासनले सक्रियता बढाएपछि यस्तो परिवर्तन आएको हो । हामी जति सक्दो नागरिकको अधिकार सुरक्षित गर्नमा लागेका छौँ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भन्नुभयो । तोकिएको भाडा तिरेर पनि सेवा राम्रो नपाएको गुनासो आइरहेको समयमा प्रशासनको सक्रियताले यातायातमा आएको सुधारले सबै खुशी भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
जाजरकोट सदरमुकामदेखि नलगाड नगरपालिकाको तल्लुसम्म बस सञ्चालनमा छन् भने रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको अनाहबाट डोल्पाको खदाङसम्म जिप, खदाङबाट त्रिपुराकोट, सुपानीबाट दुनैसम्म जिपमै यात्रा गर्न सकिन्छ । पुल निर्माणको ढिलाइले यात्रा गर्दा झर्नु पर्दा हैरान भएको छ । कच्चीबाटोमा दुर्घटना हुनसक्ने भन्दै प्रशासनको सक्रियतामा भएको सुधारलाई सबैले स्वागत गरेका छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू