काठमाडौँ, १ चैत ,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
मन्त्री यादवले भन्नुभयो, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।”
रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उहाँले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता छ भन्नुभयो ।
मन्त्री यादवले सरकारले विगतको एक वर्ष काम गर्ने खाका तयार गरेको भन्दै आगामी चार वर्ष जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले गत कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनका आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू