दिनेश थापा / सिन्धुपाल्चोक
बहुचर्चित मेलम्चीको पानी अब छिट्टै नै राजधानीवासीले पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्षपछि अब राजधानीवासीले मेलम्चीको पानी खान पाउने भएका हुन् । आयोजनाको मुख्य सुरुङमार्गको काम सकिए लगतै अबको केही महिनाभित्र मेलम्चीको पानी राजधानीवासीको घरघरमा पुग्नेछ ।
खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग सिन्धुपाल्चोकको अम्बाथानेदेखि काठमाडांैको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । मंगलबार नै सुरुङमार्गको ‘ब्रेक थ्रु’ भए पनि आज बिहीबार औपचारिक समारोहमार्फत सुरुङमार्गको काम सकिएको घोषणा गरिनेछ ।
मेलम्ची खानेपानी विकास समितिले सुरुङ ‘ब्रेक थ्रु’ भएको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेर यसलाई पर्वकै रूपमा मनाउने योजना बनाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशन रामचन्द्र देवकोटाले जानकारी दिए ।
सन् २०१० को जुन महिनामा पहिलो ब्लास्टिङ गरी सुरु गरिएको मेलम्ची मुहानदेखि सुन्दरीजल पानी प्रशोधन केन्द्रसम्मको मुख्य टनेलको सिन्धु खण्ड २०१६ मा छिचोलिएको थियो । मुहान स्थल अम्बाथान ग्याल्थुम खण्ड २०१७ डिसेम्बरमा छिचोलिएको थियो भने अन्तिम तथा ग्याल्थुम सिन्धु खण्ड बिहीबार औपचारिक रूपमा नै छिचोलिने कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए । सुरुङ ‘ब्रेक थ्रु’ भएको विशेष अवसरलाई ऐतिहासिक सफलताका रूपमा लिएका छौं, अब राजधानीवासीले छिट्टै पानी पिउने सपना पूरा हुँदै छ ।’ कार्यकारी निर्देशक देवकोटाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरुङ ‘ब्रेक थ्रु’को विशेष समारोहमा आमन्त्रण गरिए पनि प्रधानमन्त्री अन्य कार्यक्रममा सहभागी हुने भएपछि खानेपानी मन्त्री बिना मगर र कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा ‘ब्रेक थ्रु’ भएको घोषणा गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।
सुरुङमार्गको काम सकिए लगतै अब आयोजनाले सुरुङ ‘फिनिसिङ’को काम सुरुवात गर्ने योजना रहेको कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए । छिटोमा साउनको पहिलो सातासम्म मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजलमा पानी खसाउने योजना छ देवकोटाले भने त्यसको केही समयपछि नै मेलम्चीको पानी घर–घरमा पुग्नेछ ।
सन् २००८ मा एसियाली विकास बैंक एडीबीसँगै ऋण सम्झौता भएपछि आयोजनाको काम औपचारिक रूपमा नै सुरु गरिएको थियो । आयोजनाले सुरुङमार्ग निर्माणको कार्यका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि चिनियाँ कम्पनीले साढे ६ किलोमिटर मात्रै सुरुङ खनेपछि आयोजनाले ठेक्का रद्द गरेको थियो । त्यसपछि इटालीको सीएमसी डी– रभेनासँग २०१४ मा काम गर्ने गरी सम्झौता भएपछि त्यही कम्पनीले अहिले सुरुङमार्गको काम सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ ।
आयोजना निर्माण सम्पन्न हुँदासमेत आयोजनाको लागत २७ अर्ब ७६ करोड हुने आयोजनाले जानकारी दिएको छ । सुरुङको काम सकिएपछि अब फिनिसिङका लागि अब आरसीसी ढलानको काम तीव्र गतिमा अघि बढ्ने कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानमा स्थायी प्रकृतिको ड्याम निर्माणमा समय लाग्ने भएपछि आयोजनाले अस्थायी ड्याम (कफर्ड ड्याम) बनाएर सुरुङभित्र पानी हाल्ने योजना बनाएको छ । सुरुङमार्ग छिचोलिए पनि तत्कालै मेलम्चीको पानी काठमाडौंमा खसाल्न भने नसकिने आयोजनाले जानकारी दिएको छ । सुरुङ मार्गको ढलान र मुहानस्थलमा डाइभर्सन निर्माण नगरी मेलम्ची काठामाडौंमा खस्ने छैन । तीन महिनामै सुरुङ ढलान सम्पन्न हुने भए पनि डाइभर्सन निर्माणका लागि कम्तीमा ६ महिनाको समयावधि लाग्नेछ । सुरुङ ढलान सम्पन्न भएपछि ड्राइभर्सन निर्माण नहुन्जेसम्म हाललाई अस्थायी संरचना निर्माण गरी मेलम्चीको पानी सुन्दरीजलमा खसालिने आयोजनाले बताएको छ । ‘ड्राइभर्सन च्यानल बन्दै गर्छ, कफर्ड ड्याम (अस्थायी संरचना) बनाएर सुरुङमा पानी हाल्छौं’, देवकोटनले भने, ‘यता ड्राइभर्सनको काम भइरहँदा उता काठमाडौंमा पानी आपूर्ति गर्न सकिन्छ ।’ स्थायी संरचनाको ड्रईभर्सन निर्माण नभएसम्म अस्थायी किसिमको कफर्ड ड्यामबाटै काठमाडौंमा खानेपानी आपूर्ति गर्न सकिने उनी बताउँछन् । ‘डाइभर्सन बनाउन अर्को ६ महिना जति लाग्न सक्छ, कफर्ड ड्याम बनाएर साउनभित्रै काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउँछौं’, उनले भने ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक साढे १७ करोड लिटर पानी काठमाडौंमा खसाल्ने आयोजनाको अनुमान छ । मेलम्चीबाट आएको पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट वितरण गरिनेछ । सुन्दरीजलमा साढे ८ करोड लिटरको प्रशोधन केन्द्र निर्माण गरिएको छ भने अर्काे प्रशोधन केन्द्र पनि निर्माणको चरणमा रहेको आयोजनाले जानकारी दिएको छ ।
आयोजना सुरु भएको ७ वर्षभित्रै सम्पन्न गर्ने योजनाको साथ आयोजनाको काम सुरु गरिए पनि सुरु गरिएको १९ वर्षपछि मात्रै आयोजनाको काम लगभग अन्तिममा पुगेको छ ।
saabhar: rajdhanidaily





तपाईंको प्रतिकृयाहरू