शनिबार, १५ बैशाख २०८१

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री‘प्रचण्ड’

२१ फाल्गुन २०८०, सोमबार १६:५१ मा प्रकाशित

काठमाडौँ, २१ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताकाे हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ ।
सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उहाँले सहिदहरुको सपना पूरा गर्नका लागि पनि एक ठाँउमा आउनैपर्नेमा जोड दिनुभयो ।

सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाँउमा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो । सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उहाँको भनाइ थियो ।

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ ।”

प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गर्नुभयो । “नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गर्नुभयो । उहाँले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रसंशा गर्न कन्जुस्याई गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुस्टि जनाउनुभयो । “ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरु एक ठाँउमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताउनुभयो । देशलाई समृद्ध बनाउने लक्ष्यका साथ आफूहरु नयाँ जिम्मेवारी लिन तयार रहेको उहाँको भनाइ छ ।

सहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मशिला चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालगायतले सहिदको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।

फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आइएको छ । झापा विद्रोहदेखि जनयुद्धसम्मलाई जोडेर माओवादीले सहिद सप्ताह मनाउने गरेको हो ।    राष्ट्रिय समाचार समिति (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter