आइतबार, १६ बैशाख २०८१

प्रचण्डले पोखे कांग्रेससँग असन्तुष्टि, जनयुद्ध मनाएरै छाड्ने घोषणा

ईश्वरी बराल

१ फाल्गुन २०८०, मंगलवार ११:०२ मा प्रकाशित

काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसप्रति असन्तुष्टि देखाएका छन्।  पार्टीको सोमबारको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले कांग्रेससँगको सहकार्य लाभदायक नभएको भन्दैे असन्तुटि व्यक्त गरेका हुन्।

गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै उनले कांग्रेससँगको सहकार्य माओवादीका लागि लाभदायक नभएको बताए।

प्रचण्डले भने, ‘राष्ट्रिय सभा चुनावमा कोशीमा माओवादी उम्मेदवारले हारेर एमालेका उम्मेदवारले जित्ने दुर्भाग्यपूर्ण अवस्था आयो, कोशीमा पहिले हामीले सभामुख छाडियो, पछि मुख्यमन्त्री पनि छाड्नुपर्‍यो। राष्ट्रिय सभामा पनि हराइयो। यसले कांग्रेससँग हाम्रो सहकार्य लाभदायक छैन भन्नेतिर हामी पुग्नुपर्ने देखियो।’

राष्ट्रिय सभा चुनावमा १९ सिटमा सत्ता गठबन्धनले भागबन्डा गरी साझा उम्मेदवार उठाएका थिए। सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी हुँदा कोशीमा माओवादीकी कार्की पराजित भएकी थिइन्। कोशीमा कांग्रेसले धोका दिएको माओवादीको दाबी छ।

प्रचण्डले अहिले आफूलाई प्रधानमन्त्री कांग्रेसले नबनाएको भन्दै कांग्रेससँगको सहकार्यबारे गम्भीरतापूर्वक विचार गर्नपर्ने बेला आएको बताएका माओवादी केन्द्रीय कमिटी बैठकमा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार कांग्रेससँग असन्तुष्टि भएपनि अहिले नै गठबन्धन तोड्ने भन्नेबारे नसोचेको प्रचण्डको भनाई थियो।

प्रचण्ड गत बर्ष पुसमा एमालेसहित दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए। उनलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो।

यसैबीच प्रचण्डले सोमबारको केन्द्रीय कमिटी बैठकमा नै मंगलबार देशभरि जनयुद्ध दिवस मनाउने पनि बताएका छन्। उनले मंगलबार फागुन १ गते काठमाडौंमा पार्टीको विधान सम्मेलनको उद्घाटनमा जनयुद्ध दिवसलाई सम्मान गर्ने र देशभर आ–आफ्नो तरिकाले मनाउने बताएका छन्।

प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदाहरुको सूचीमा फागुन १ गते जनयुद्ध दिवस पनि राखेको थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएको सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएको थियो।

माओवादीले प्रमुख पद जितेको धेरै स्थानीय तहले फागुन १ गते जनयुद्ध दिवसको बिदा घोषणा गरेका छन्। प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन्।

प्रचण्डको सम्बोधनलाई उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो। अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्‍यो, हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं। तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन। देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter