शनिबार, १५ बैशाख २०८१

‘श्रमिकलाई वैदेशिक रोजगारीका लागि फ्री भिसा फ्री टिकटमा पठाउन सकिँदैन’

१ पुष २०८०, आईतवार २१:४४ मा प्रकाशित

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्री भिसा फ्री टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्।

आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडीलगायत मुलुकहरूमा फ्री भिसा फ्री टिकटमा पठाउन नसकिने स्पष्ट पारे।

उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै त्यो देशको एजेन्सीहरुले केही कमिसन लिने गरेको बताए। उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नसकिने देखिएको उल्लेख गरे।

उनले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको बताए। उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको बताए।

उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।

उनले अभिमुखीकरण तालिमका दिन्छु भनेर खोदिएका संस्थाहरुले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने चेतावनी दिए। उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरुले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरु खारेज गर्न लागेको बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter