शनिबार, १५ बैशाख २०८१

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

१७ आश्विन २०८०, बुधबार १४:२६ मा प्रकाशित

नेपालगञ्ज १७ असोजः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न÷नगराउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिनुभयो । उहाँले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिनुभयो ।

प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्याइएको जानकारी दिनुभयो । उहाँले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दसँै मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्याइएको र त्यहाँबाट नागरिकहरु गन्तव्यमा पुगिरहेका पनि बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter