शनिबार, १५ बैशाख २०८१

लिबियामा ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित

२८ भाद्र २०८०, बिहीबार २३:५० मा प्रकाशित

काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली जनता र सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिने छ ।

बाढीबाट सडक सम्पर्कसमेत विच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो । डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ ।     (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter