शनिबार, १५ बैशाख २०८१

मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

२४ भाद्र २०८०, आईतवार १३:४५ मा प्रकाशित

मलङ्गवा (सर्लाही), २४ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । सर्वसाधारणहरु आ-आफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् ।

मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आईतवार बिहान ८ बजेसम्मका लागि कफ्र्य आदेश जारी गरेको थियो । अस्ती शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिवार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।(RSS)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter