मङ्गलबार, ०६ चैत २०८०

देश बनाउने दृष्टिकोण बोकेको पार्टीको बहुमत नआए मुलुकमा विकास सम्भव छैनः ओली

१६ चैत्र २०७९, बिहीबार १०:२८ मा प्रकाशित

‍लुम्बिनी – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्ने बताएका छन्।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए।

उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने उल्लेख गरे। उनले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प बोकेको पार्टीले बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क गरे।

‘देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन,’ अध्यक्ष ओलीले भने, ‘त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन।’

देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रताका लागि लड्नुपर्छ भन्ने चेत नभएको तथा देश कसरी बनाउने भन्ने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले बहुमत ल्याएमा देशमा सुशासन नहुने अध्यक्ष ओलीको भनाइ थियो।

उनले ‘मिसन ग्रासरुट’को मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पुर्‍याइ एकल बहुमत ल्याउने रहेको बताए। ‘अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्छ,’ उनले भने, ‘अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैन।’

एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपङ्क्ति जनतासमक्ष जान नसकेको र जनतालाई राम्रोसँग बुझाउन नसकेको बताउँदै अध्यक्ष ओलीले ती भ्रम चिर्न अहिलेको ‘मिसन ग्रासरुट’ अभियान ल्याइएको बताए।

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पुर्‍याउन नसकिएको भन्दै नयाँ युवा पिँढीमा एमालेको अभियान पुर्‍याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter