मङ्गलबार, ०६ चैत २०८०

एमसिसीले नेपाली ब्याटर आसिफ शेखलाई ‘एमसिसी स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गर्ने

६ चैत्र २०७९, सोमबार १९:०६ मा प्रकाशित

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याटर आसिफ शेखलाई इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले २०२२ को क्रिस्टोफर मार्टिन्स(जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्ने भएको छ। आसिफले फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो।

सोमबार एमसिसीले अवार्डको घोषणा गरेको हो। यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स(जेन्किन्सको सम्झनामा दिन थालेको हो। यसवर्ष आसिफसँगै इंग्ल्यान्डका जोस बटलर र बेन स्टोक्स यो अवार्डको मनोनयनमा रहेका थिए।

आसिफलाई केहि समय अघि आइसिसीले ‘आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड’ समेत प्रदान गरेको थियो। खेल भावनालाई समर्थन गर्ने खेलाडी वा टोलीलाई मान्यता दिन आइसिसीले हरेक वर्ष आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्ने गरेको छ।

आसिफले १४ फेब्रुअरी २०२२ मा ओमानमा भएको टी–२० सिरिजको छैटौं खेलमा नेपाल र आयरल्यान्ड भिड्दा उच्च खेल भावना देखाएका थिए। ओमानको अल अमेरतमा पहिलो इनिङ्ग्समा नेपालले आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेपछि आसिफको त्यतिबेला विश्वभर प्रशंसा भएको थियो।

१९ औं ओभरको दोस्रो बलमा नेपालका कमलसिंह ऐरीले बलिङ गरिरहेका थिए। सो बलमा रन लिने क्रममा ननस्ट्राइकमा रहेका ब्याट्सम्यान एन्डी म्याकब्राइन ऐरीसँग ठोक्किन पुगे। त्यतिबेलासम्म नेपालका विकेट किपर‍ आसिफ शेखको हातमा बल पुगिसकेको थियो। उनले चाहेको भए म्याकब्राइनलाई आउट गर्न सक्थे। तर आउट गरेनन्। हातमा आएको बललाई भुइँमा झारिदिएका थिए। सोही खेल भावनाको चर्चा अहिले पनि हुने गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter