शनिबार, ०२ असार २०८१

कर्णालीमा बाढी-पहिराे : ३३ काे मृत्यु, २२ बेपत्ता र ४८० परिवार विस्थापित

२५ आश्विन २०७९, मंगलवार २२:५० मा प्रकाशित

सुर्खेत- कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो।

सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४-४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ।

डोल्पा र सल्यानमा २-२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

२२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन् भने जुम्लाका दुई जना र दैलेखका एक जना छन्।

यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ। जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५-५ जना घाइते भएका छन्। यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सयौँ घरपरिवार विस्थापित

लतारको बर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्थापित भएका छन्। प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्थापित भएका छन्।

यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्तापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नाै, सुर्खेतका आठ परिवार विस्थापित भएका हुन्। यसैगरी, डोल्पाका चार घरपरिवार विस्तावित हुँदा जाजरकोट र रुकुम पश्चिमका २-२ घरपरिवार विस्थापित भएका छन्।

प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत वितरण भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

घाइतेहरूको उद्दारको लागि हेलिकाेप्टर परिचालन भइरहेको जनाइएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter