बुधबार, २६ बैशाख २०८१

बाबुराम पछि हटेपछि गोरखा-२मा प्रचण्डको चर्चा

१६ आश्विन २०७९, आईतवार १२:२६ मा प्रकाशित

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गर्दा विकल्पको रूपमा गोरखा २ मा पनि चर्चा भएको छ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यो क्षेत्रबाट नउठी समानुपातिक सांसद बन्ने बाटो रोजेपछि उनको स्थानमा प्रचण्डलाई उठ्न स्थानीय नेता कार्यकर्ताले माग गरेका हुन्।

माओवादी केन्द्रकै चुनाव चिन्हमा भट्टराईको पार्टीका नेताहरू चुनाव लड्दैछन्। माओवादीले प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवार सूची बुझाउँदा भट्टराईको पार्टीका ५ जनालाई पनि समावेश गरेको छ।

२०७४ को चुनावमा गोरखा २ मा वामगठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट भट्टराई चुनाव लडेका थिए। नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष भट्टराईले त्यसबेला चुनाव जिते।

पछिल्लो समय भट्टराई चुनाव लड्ने मनस्थितिमा नभएपछि समानुपातिकतर्फ बसेका हुन्।भट्टराई र प्रचण्डबीच पछिल्ला भेटवार्तामा मिलेर जाने कुराकानी भएका थिए।

चुनावमा सहकार्य र चुनावपछि पार्टी एकता गर्ने उनीहरूबीच सहमति भएको बताइएको छ।
गोरखा २ मा माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपानेलगायत उम्मेदवारका लागि सिफारिस भएका थिए।

सत्ता गठबन्धनका बैठकमा गोरखा २ मा आफूले उम्मेदवारी दिन पाउनुपर्ने नारायणकाजीले पनि दाबी गर्दै आएका छन्। यता, कांग्रेसबाट सुरेन्द्र पाण्डेको पनि चर्चा छ।

बालुवाटारमा हुने गठबन्धनका छलफलमा नेपाली कांग्रेसले पनि गोरखा २ यसपालि आफूहरूले पाउनुपर्ने दाबी माओवादीसँग गरिरहेको छ। गत वैशाखको चुनावको मत हेर्दा गोरखा २ मा झिनो मतान्तरले कांग्रेसभन्दा माओवादी अघि छ।

प्रचण्डले राजनीतिमा आउनुभन्दा पहिले गोरखाको आरूघाटस्थित भीमोदय माविमा पढाएका थिए। आरूघाट गोरखा क्षेत्र नम्बर १ मा पर्छ। गोरखामा गत वैशाखमा भएको स्थानीय चुनावमा ११ मध्ये ९ पालिका प्रमुख माओवादीले जितेको थियो। यहाँ कांग्रेस-माओवादीबीच चुनावी तालमेल नभई प्रतिस्पर्धा भएको थियो।

प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने यसअघि पटक-पटक बताइरहेका थिए। तर चितवनमा चुनाव लड्न गाह्रो हुने देखियो भने प्रचण्डले नयाँ क्षेत्रबाट चुनाव लड्न सक्छन्, त्यसो हुँदा विकल्पका रूपमा गोरखालाई पनि लिइएको छ।

प्रचण्डपुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाटै लड्ने बताउँदै आएकी छन्।

प्रचण्डको सचिवालयले पनि गोरखा २ मा लड्ने तयारी गरेका डा.भट्टराई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिमा परेपछि यो क्षेत्रमा प्रचण्डको चर्चा भएको भएको तर प्रचण्ड चितवनबाटै चुनाव लड्ने जनाएको छ।

माओवादी नेता दिनानाथ शर्माले अध्यक्ष प्रचण्डलाई गोरखा २ मा पनि चुनाव लड्न विकल्प भएको बताएका छन्।

उनले भने,‘अध्यक्ष ज्यूले चितवन ३ बाट चुनाव लड्ने तयारी गरेपनि गोरखा २ पनि विकल्पको रुपमा हेरिएको छ, भट्टराई चुनाव नलड्ने भएपछि नेता कार्यकर्ताले प्रचण्डलाई त्यहाँबाट पनि चुनाव लड्न सक्ने भनेका छन्।’

प्रचण्डको वैकल्पिक चुनाव क्षेत्रबारे चर्चा भएपछि सत्ता गठबन्धनभित्र पनि यस बिषयमा छलफल सुरु भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter